आर्थिक संकटको पूर्वानुमान : कति विश्वसनीय ? «

आर्थिक संकटको पूर्वानुमान : कति विश्वसनीय ?

नेपाल श्रीलंका बन्दै छ भन्ने चर्चा व्यापक छ । जोडतोडले भन्नेमा पूर्व सत्तारूढ दल नेकपा (एमाले) रहेको छ । दलभित्रका अर्थशास्त्रीले अहिले नेपालका आर्थिक सूचक दुई वर्षअघि श्रीलंकाको सूचकसँग ठ्याक्कै मिल्ने भन्दै तुलना गरिरहेका छन् । यसको वास्तविकता र अतिरञ्जनाबारे खोतल्ने र प्रस्ट्याउने प्रयत्न यस लेखमा गरिएको छ ।

श्रीलंकामा के भएको हो ?
श्रीलंका सरकारले २०२२ जुलाई ५ मा अर्थतन्त्र टाट उल्टेको घोषणा गर्‍यो । ऋण चुक्ता गर्न नसक्ने अवस्थालाई टाट उल्टेको भनिन्छ । श्रीलंकासँग विदेशी मुद्राको सञ्चिति सकिएको कारण विदेशी ऋण तिर्न नसक्ने अवस्थामा पुगेको हो । विदेशी मुद्राको अभावका कारण श्रीलंकामा चाहिनेजति पेट्रोलियम पदार्थ आयात हुन सकेको छैन । खाद्यान्न पनि आपूर्ति हुन सकेको छैन । समग्र मूल्यवृद्धि ५० प्रतिशत पुगेको छ भने खाद्यान्न मात्र ५० प्रतिशत छ । सामान किन्न मानिसहरू लामो लाइन बस्नुपर्छ ।

संकटका चरण र प्रकार
आर्थिक वृद्धि कम हुने, बेरोजगारी बढ्ने, बजारमा माग घट्ने अवस्थालाई आर्थिक मन्दी भनिन्छ । सुरुवाती चरणलाई कन्ट्र्याक्सन, त्यसपछि रिसेसन, त्यसपछि डिप्रेसन र बढी भएपछि ग्रेट डिप्रेसन भनिन्छ । कमाइले ऋण तिर्न नसकी नयाँ ऋण लिएर पुरानो ऋण तिर्नुपर्ने अवस्थालाई डेप्थ ट्र्याप (ऋणको पासो) भनिन्छ । केही गरे पनि ऋण तिर्न नसक्ने अवस्थालाई टाट उल्टेको भनिन्छ । अर्थतन्त्रलाई पुनर्जीवन दिन नसकिने अवस्थालाई कोल्याप्स (मृत) भनिन्छ । अन्तिम अवस्था भनेको मानवीय संकट हो । भोकमरी, रोगव्याधि, चोरी–डकैती, अपराध वृद्धि हुन्छ । सरकारले आवश्यक चिजको आपूर्ति र ल एन्ड अर्डर मेन्टेन गर्न सक्दैन ।

के कारणले हुन्छ संकट
अर्थतन्त्र बुम (माथि जाने) र स्लो (तल झर्ने) अर्थशास्त्रको नियम भित्रकै पाटो हो । मानिसको जीवन एकनाश नभई कहिले सुख, कहिले दु:ख भएजस्तै कुनै पनि मुलुकको अर्थतन्त्र एकनासले चल्दैन । यो चक्रलाई बिजनेस साइकल (व्यापार चक्र) भनिन्छ । अर्थतन्त्रमा तीव्र ह्रास त नराम्रो भइहाल्यो । तीव्र वृद्धि पनि राम्रो मानिँदैन । छिटो फुलेको अर्थतन्त्र ब्रस्ट (फुट्ने) भएर एकैपटक क्र्यास हुन सक्छ । त्यसैले सम्हाल्न सकिनेसम्मको आर्थिक वृद्धिलाई मात्र उचित मानिन्छ । युद्ध, प्राकृतिक प्रकोप आदिका कारण अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्छ । यस्तो संकट विकसित र अविकसित दुवै खाले मुलुकलाई पर्न सक्छ । यो एक्कासि हुन सक्छ ।
बजार आफैं राम्रै अवस्थामा चलिरहेको छ भन्दाभन्दै थाहा नपाईकन वा थाहा पाएर पनि रोक्न नसकिने गरी समेत आर्थिक संकटहरू आइपर्छन् । यतिसम्म तल झर्नु अर्थतन्त्रको स्वाभाविक चरित्रभित्र पर्छ भन्दाभन्दै कहिलेकाहीं त्योभन्दा तल जान सक्छ । सरकारले उपयुक्त नीति लिन नसकेको कारण पनि आर्थिक संकटहरू आउँछन् । अर्थतन्त्रलाई वाञ्छित अवस्थामा राख्न उपयुक्त वित्तीय नीति र मौद्रिक नीति तर्जुमा नहुन सक्छ । भएर पनि सही ढंगले लागू नहुन सक्छ । लागू भएर पनि गैरवित्तीय तथा गैरमौद्रिक फ्याक्टरले असर गर्न सक्छ । अनौपचारिक अर्थतन्त्र वा छाया अर्थतन्त्रको आकार ठूलो छ । तस्करी, चोरी, डकैती, अपराधको मात्रा उच्च छ । यस्तो अवस्थामा वित्तीय र मौद्रिक नीतिको कार्यान्वयन सही रूपमा भए पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव नपर्न सक्छ ।

नेपालमा सम्भावना
नेपाल निर्वाहमुखी अर्थतन्त्र हो । बिग्रिन, भत्किन पहिले संरचना हुनुपर्छ । अग्ला भवन छन् भने भुइँचालो आउँदा कति बलिया छन्, ढल्लान् कि भन्ने चिन्ता हुन्छ । हावाहुरी लाग्दा उडाउने र पुन: जोडजाड बनाएर बस्ने टहरा, बुकुरालाई ठूलै भुइँचालो आए पनि खासै असर गर्दैन । धेरै छिटो विकास भएको अर्थतन्त्र फुट्ने सम्भावना हुन्छ । ऋण लिएको अर्थतन्त्र ऋण तिर्न नसकेर टाट उल्टिन सक्छ । हाम्रो उच्च वृद्धि छैन । नेपालको कुल सरकारी ऋण जीडीपीको ४२ प्रतिशत पुगेको छ । वैदेशिक ऋण मात्र जीडीपीको २४ प्रतिशत पुगेको छ । वैदेशिक ऋण तिर्न र पेट्रोलियमलगायत आवश्यक चिजवस्तु आयात गर्न विदेशी मुद्रा चाहिन्छ । विदेशी मुद्राको मुख्य स्रोत वैदेशिक रोजगार हो । पर्यटन र निर्यातबाट थोरै मात्र विदेशी मुद्रा आर्जन हुन्छ । एकातिर आयात उच्च वृद्धि हुने र वैदेशिक ऋण पनि बढ्दै जाने, अर्कातिर त्यो अनुपातमा विदेशी मुद्राको आर्जन भएन भने नेपाल पनि संकटमा पर्न सक्छ । तसर्थ सरकारको नीति निर्यात बढाउने हुनुपर्छ । निर्यात बढाउन सस्तो र गुणस्तरीय समान वा सेवा उत्पादन गरेर विश्व बजारमा मार्केटिङ गर्नुपर्छ ।

संकटको पूर्वानुमान कति वास्तविक ?
आर्थिक वृद्धिदर घट्नु वा ऋणात्मक हुनु, मुद्रास्फीति बढ्नु, शोधनान्तर बचत ऋणात्मक हुनु, वैदेशिक मुद्राको सञ्चिति घट्नु, व्यापारघाटा बढ्नु आदि अर्थतन्त्रका नकारात्मक सूचक मानिन्छन् । नेपालमा गत आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा शोधनान्तर घाटा २ खर्ब ७० अर्ब रुपैयाँ बराबर पुग्यो, जुन अघिल्लो वर्ष १५ अर्ब रुपैयाँ थियो । उपभोक्ता मूल्य वृद्धि ८.५ प्रतिशत र थोक मूल्यवृद्धि १५ प्रतिशत भयो । जुन अघिल्लो वर्ष क्रमश: ४ र ९ प्रतिशत मात्र थियो । २०७९ जेठसम्म वैदेशिक मुद्राको सञ्चिति साढे ११ खर्ब ७७ अर्ब रुपैयाँ छ । जुन गत वर्षको तुलनामा १६ प्रतिशतले कम हो । तथापि यो सञ्चितिले साढे सात महिनाको वस्तु आयात गर्न पुग्छ । दैनिक कमाइ हुन्छ भने एक पैसा सञ्चित नभई पनि खर्च चल्न सक्छ ।
अर्थशास्त्र शुद्ध भौतिक विज्ञान होइन । अर्थशास्त्रलाई चिकित्सा विज्ञानसँग तुलना गरेर बुझ्न सहज हुन्छ । विशेषज्ञ चिकित्सकको परामर्शले रोग निको पार्न केही सहयोग पुग्न सक्छ । मूलत: रोगीको शरीर र मनले काम गर्ने हो । त्यस्तै, अर्थशास्त्रमा पनि बजार र आम मनोविज्ञानले मुख्य भूमिका खेल्ने हो । सरकारले बनाउने नीति, नियमले केही हदसम्म सहयोग गर्ने मात्र हो । जान्ने अर्थशास्त्रीले इतिहासका आधारमा भविष्यको अनुमान गर्ने हो । विगतमा टाट उल्टेका मुलुकको टाट उल्टिनु दुई–चार वर्षअघिको अवस्था कस्तो थियो ? त्यो अवस्था र अहिले नेपालको अवस्था मिल्छ ? यसका आधारमा नेपालको भविष्य अनुमान गर्ने हो । यसरी इतिहास हेर्दा कुनै मुलुक कुन सालमा टाट उल्टेको थियो भन्ने त यकिन थाहा हुन्छ । तर, त्यो मुलुक के कारणले टाट उल्टेको थियो भन्ने यकिन कारण थाहा नै हुँदैन । अध्ययन गर्ने मानिसको व्यक्तिगत क्षमता र उपलब्ध तथ्यका आधारमा कारण नै फरक–फरक पहिचान भएका हुन्छन् ।
श्रीलंका टाट पल्टिनुको प्रमुख कारण कोभिड–१९ को प्रभाव हो भन्छन् एकथरी । अर्कोथरी चीनसँग मिलेर अर्थतन्त्र विकास गर्न खोज्दा यस्तो भएको हो भन्छन् । कोही पहिले अमेरिकासँग सहकार्य गरेको कारण यस्तो भएको हो भन्छन् । कोही शासकहरूले साधनस्रोतको दुरुपयोग गरेका कारण भएको हो भन्छन् । पहिलो कुरा त अर्थशास्त्रमा इतिहासको पूर्ण तथ्य प्राप्त गर्न र तुलना गर्न सकिंदैन । शुद्ध विज्ञान सानो प्रयोगशालामा परीक्षण गर्न सकिन्छ । अर्थशास्त्रको प्रयोगशाला भनेको करोडौं, अर्बौं मानिस हुन् । ती पनि निर्जीव होइनन्, शरीर र मनको आवश्यकता परिवर्तन भइरहन्छ । अहिले नेपालको अवस्था जस्तो छ, त्यस्तो अवस्थाबाट गुज्रेर केही नबिग्रेका घटना विश्वमा कतिवटा मुलुकमा कति पटक भए होलान् ? यसरी तुलना गर्ने हो भने नेपाल श्रीलंका बन्ने सम्भावना छैन भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
देश टाट उल्टिन श्रीलंकाकै जस्तै कारण हुनुपर्छ भन्ने पनि छैन । अनेक कारण हुन सक्छन् । कुनै एक, दुई वा अनेक कारणको सम्मिश्रणले टाट उल्टिन सक्छ । वास्तवमा के कारणले भयो भन्ने थाहै नहुन सक्छ । यो त जहिले पनि रिसर्चको विषय हुन्छ । ऋण लिएर उपभोगमा खर्चिने, प्रतिफल नआउने ठाउँमा खर्चिने र दुरुपयोग गर्ने हो भने ऋणले डुबाउन सक्छ । कर्मचारीको तलबभत्ता र सरकार सञ्चालनको खर्च आन्तरिक राजस्वबाट पुर्‍याउनुपर्छ । वित्तीय प्रतिफल नआउने परियोजनाहरूमा विदेशी अनुदान लिनुपर्छ । वित्तीय प्रतिफल आउने परियोजनामा मात्र विदेशी ऋण लिनु राम्रो हो । विकास गर्छु भनेर जथाभावी लगानी बढाउँदैमा विकास हुँदैन । तथापि विकसित मुलुक सही नीतिकै कारण विकास भएका हुन् भनेर ठोकुवा गर्न पनि सकिन्न । देश, परिस्थिति, आममानिसको मनोविज्ञान, बाह्य वातावरण अनुकूल र संयोगवश विकास सम्भव भएको हुन सक्छ । नतिजा जेजस्तो आए पनि सरकार सक्षम र इमानदार भने हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्