Logo

पर्यटन पुनरुत्थानमा सहयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवद्र्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका छन् ।
मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन् । पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजनासहित अघि बढ्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।
उनले पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजना सुनाउँदै उपत्यकाका महानगर र नगरपालिकाको पनि सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताए । उनले कार्ययोजनामा रहेको स्थानीय तहसँग समन्वयमा गरिने विषयबारे जानकारी दिँदै सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना छ । साथै विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजनारहेको बताउँदै मन्त्री श्रेष्ठले स्थानीय तहबाट सहयोगको अपेक्षा रहेको बताए । महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान सञ्चालन गर्न लागिएको पनि उनले बताए ।
पर्यटन आगमन विन्दुहरुमा शौचालय तथा विश्राम कक्ष निर्माण गर्ने, विमानस्थलदेखि उपात्यकामा मुख्य स्थानमा विद्युतीय बस सञ्चालन गर्ने, उपत्यकाभित्रका मुख्य ऐतिहासिक सम्पदाहरु घुम्ने पर्यटकको सुविधाका लागि एकद्वार प्रणालीबाट प्रवेश अनुमति दिने, पर्यटक बसपार्क निर्माण गर्नेलगायत व्षियमा छलफल भएको थियो । सो अवसरमा रात्रीकालिन पर्यटन प्रारम्भ र प्रवद्र्धनमा हुने चुनौतिबारे पनि छलफल भएको थियो ।
महानगर र नगरपालिकाका प्रमुखहरुले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, पूर्वाधारका रूपमा पुरातात्विक तथा सांस्कृतिक पदमार्ग निर्माण, साइकलिङ र अन्य पर्यटन पूर्वाधार निर्माणमा हुनसक्ने सहकार्यबारे पनि छलफल गरेका छन् । उनीहरुले सम्पदा र पर्यटकीय दृष्टिकोणले आफ्नो नगरपालिका क्षेत्रमा भएका सम्भावनाबारे पनि जानकारी गराए । पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनमा साझा योजनासहित अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्