कांग्रेसकोतर्फबाट टान निर्वाचनमा निलहरि बाँस्तोला आधिकारिक उम्मेद्वार «

कांग्रेसकोतर्फबाट टान निर्वाचनमा निलहरि बाँस्तोला आधिकारिक उम्मेद्वार

नेपाली कांग्रेसप्रति आस्था राख्ने पर्यटन व्यवसायीहरुको दुई भिन्दाभिन्दै संगठनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलालाई आधिकारिक उम्मेदवार उठाउने भएको छ ।
टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि नेपाल पर्यटन व्यवसायी संघ (निटनेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा व्यवसायी बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो । दुुवै संगठनका अध्यक्ष क्रमश: दीपक महत र आरबी अधिकारीको रोहबरमा बाँस्तोलालाई आधिकार उम्मेदवारको रूपमा निर्वाचन अभियानमा होमिने निर्णय भएको निटनेपालका अध्यक्ष दिपक महतले जानकारी दिनुभयो । उनले दुवै सुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहको रूपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताए ।
अध्यक्षका प्रत्यासी बाँस्तोलाले सुभेच्छुक संस्थाबाट आफूू टान अध्यक्षको आधिकारिक उम्मेद्वार भएकाले व्यवसायीक छलफल र प्रचार–प्रसारलाई तीब्रता दिएको बताए । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन टानको अध्यक्ष प्रत्यासीका उम्मेदवार बाँस्तोला अब्बल प्रतिस्पर्धीको रूपमा चुनावी अभियानमा होमिएका छन् । पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बाँस्तोला टानको नेतृत्वमा पुुगेको खण्डमा पर्वतीय पर्यटनको शाखलाई खदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताए । टानको संस्थागत सुधार र पर्यटन व्यावसाय प्रवद्र्धनका भाबी योजनासहितको एजेण्डा लिएर बाँस्तोला चुनावी माहोल आफ््नो पक्षमा पार्न लागेका छन् ।
टानलाई बिशुद्ध व्यावसायिक संस्थाको रूपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई ब्यापक बनाएर अघि बढ्ने बाँस्तोलाको चाहना छ । चुनावी दौरानमा पर्यटनव्यवसायीबीच योजना सुनाइ रहेका प्रत्यासी बाँस्तोलाले टानको भूमिकालाई समयसापेक्ष प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औंल्याउँदै आफू नेतृत्वमा पुगेको खण्डमा टानलाई व्यवसायीले हैन टानले व्यवसायीलाई खोज्ने वातावरण बनाउने प्रतिबद्धतासमेत जनाए ।
व्यवसायी बाँस्तोलाले भने, ‘विस २०३५ मा टान स्थापना भएको हो । टानको इतिहासमा आजसम्म टानले व्यवसायीलाई एक कल फोन गरेर ‘तपाँइहरुको व्यवसाय कस्तो छ, के गरिरहनुभएको छ’, भनेर सोध्नुभएको देख्नुभएको छैन होला । अहिलेको आवश्यकता के हो भने तपाईं हामीले टान खोज्ने हैन टानले व्यवसायीलाई खोजिदियोस् भन्ने भावनाका साथ एजेण्डा लिएर जानुपर्छ ।’
टानको संस्थागत सुदृढीकरण र सेवा प्रभावकारिता एवं सरकार र निजी क्षेत्रबीचको व्यावसायिक साझेदारितालाई समन्वयकासाथ अघि बढाउने योजना बनाउनुभएका बाँस्तोलाले टानमा स्वार्थरहितका पूर्ण व्यवसायीलाई नेतृत्वमा लैजानुपर्ने आवश्यकता औंल्याए ।
बाँस्तोलाले आफू नेतृत्वमा पुगे दुई वर्षे क्यालेन्डर बनाएर पर्यटन व्यवसायलाई अहिलेको डिजिटल युग सुहाउँदो समयसापेक्ष बजारीकरण गर्नुुका साथै कोभिड महामारीपछिको पर्यटन पुनरुत्थानका लागि राष्ट्रिय र अन्तराष्ट्रिय प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गरे ।
सन् २००२ देखि टानमा आवद्ध बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुनुहुन्छ । बाँस्तोलाको एशियन हेरिटेज गुप्र अफ कम्पनी अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, भेहिकल, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । यस्तै उहाँले एसियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।
नजिकिएको निर्वाचतका लागि नेतृत्व लिन व्यवसायी प्रतिस्पर्धी उम्मेदवारी घोषणा गरेर चुनावी दौडमा रहेका छन् । आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औं साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ ।
टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित, एक जना पूर्वाध्यक्ष तथा एक जना टान गण्डकीका अध्यक्ष रहनेछन् भने र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्