राडीपाखीलाई बजार अभाव «

राडीपाखीलाई बजार अभाव

गाउँमा उत्पादित सामग्रीले उचित बजारमूल्य नपाएपछि भोजपुुरका राडीपाखी तथा अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा छन् । भेडाको ऊन झिकी बनाइने राडीपाखी तथा अल्लोबाट तयारी गरिएका सामग्रीको भाउ खस्केपछि व्यवसायीलाई उद्योग चलाउन समस्या भएको हो ।
बजार अभावमा उत्तरी साल्पासिलिछो गाउँपालिका र पूर्वी अरुण गाउँपालिकाका विभिन्न भेगमा वर्षौंदेखि चलाइरहेका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । कच्चा पदार्थ प्रशस्त मात्रामा पाइए पनि तयार गरिएका सामानले बजारभाउ नपाउँदा बन्दै गर्नुपर्ने अवस्थामा पुगेको अरुण गाउँपालिका–४ चरम्बीका रानीमाया राईले सुनाइन् ।
“मरिमरि राडी बनाएर बजार लग्यो, नबिकेपछि घरै फर्काउनुपर्छ । महिनौ लगाएर बनाएको राडीलाई सस्तोमा खोज्छन्, सस्तोमा दिँदा गरेको निमेक नै उठ्दैन,” उनले भनिन्, “अब राडीपाखी बुन्ने भेटिँदैन । भाउ नै नपाएपछि गाउँमा राडीपाखी बनाउनै छाडिसके ।” जिल्लाको उत्तरी भेगको भेडापालन हुने स्थानमा भेडाको ऊन र उत्तरी कुलुङ, दोभाने, खाटाम्मा, पूर्वीको जरायोटार, चरम्बी, याकुलगायतका स्थानमा अल्लोको रेसाबाट विभिन्न राडी, लुकुनी र घुमराडी बनाइन्थ्यो । तर पछिल्लो समय त्यसको उत्पादन क्रमशः घट्न थालेको छ । उचित मूल्य नपाएपछि व्यवसायीमा निराशा छाएको छ ।
अल्लोको रेसा निकाल्ने, सुकाउने, पकाउने, कुट्ने, धुने लामो प्रक्रियाबाट सामान तयार गरिन्छ । धेरै श्रम लगाएर तयारी गरिएका ती सामान बजार नजिक नहुँदा पनि थप समस्या हुने गरेको साल्पासिलिछो गाउँपालिका–४ खाटम्माकी अल्लो व्यवसायी मालती कुलुङले बताइन् । उनी भन्छिन्, “एकातिर भाउ छैन, अर्कोतिर नजिक बजार छैन । तयारी सामान भोजपुर सदरमुकामसम्म पु¥याउनै ३ दिन पैदल हिँड्नुपर्छ । गाडीमा महंगो ज्याला लाग्छ । यो व्यवसाय गर्नै चर्को भइसक्यो ।”
भौगोलिक रूपमा विकट ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडालगायत विभिन्न सामग्री निमार्ण गर्छन् । तर गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको व्यवसायी मिना कटुवाल सुनाउँछिन् । बलियो र वर्षांैसम्म टिकाउ हुने राडीपाखी र अल्लोका कपडाभन्दा आधुनिक नयाँ फेन्सी सामानमा सर्वसाधारणको रोजाइ पर्ने भएकाले पनि उद्योगहरू ओझेलमा परेको व्यवसायी सुनाउँछन् ।
घरेलु उद्योगहरु बन्द हुने क्रमले भेडापालक कृषक तथा अल्लो काढ्ने किसानको समेत पेसा धराशयीमा परेको छ । पेसा संकटमा परेको सुनाउँदै षडानन्द नगरपालिका–९ किमालुङका भेडापालक लाक्पानेरु शेर्पा भन्छन्, “पहिले राडीपाखी बनाउन एकजनाले सय किलोसम्म भेडाको ऊन लैजान्थे । आजभोलि कहिलेकाँही मात्र फाट्टफुट्ट एक दुईजना मात्र आउँछन् । त्यो पनि १०÷१२ केजी लैजान्छन् । किन्ने कोही नभएपछि भेडाको ऊन नै झिक्न छोडिसक्यौँ ।”
घरेलु तथा साना उद्योग विकास समिति भोजपुरले अल्लो तथा राडीपाखी उद्योगलाई सामूहिक उद्योगको रूपमा विकास गर्ने योजना रहेको बताएको छ । राडीपाखी बुन्ने र अल्लोका कपडा तयार पार्ने आधुनिक औजार वितरण गर्ने, तालिम दिने योजना बनाइएको समितिका प्रमुख चेतननाथ गौत्तमले बताए । उनका अनुसार षडानन्द नगरपालिका र अरुण गाउँपालिकाको अल्लो तथा राडीपाखी व्यवसायीलाई तालिम र आवश्यक औजार वितरण गरिने तयारी भइरहेको छ । यसका साथै सदरमुकाम र विभिन्न जिल्लाका बजारमा कोशेली घरको स्थापना गरी यसको बजारीकरणसमेत गरेर लैजाने उनले बताए ।

अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्