एसटीसी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमईद्वारा सहकारी कोप कार्डको सेवा शुभारम्भ «

एसटीसी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमईद्वारा सहकारी कोप कार्डको सेवा शुभारम्भ

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले सहकारी पहिचान सहितको कोप कार्डको सेवा शुभारम्भ गरेको छ । ग्लोबल आईएमई बैंक र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा सो कार्डको शुभारम्भ गरिएको हो ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेको एससीटीले सहकारीहरुका लागि सहकारी पहिचानसहितको कोप कार्ड सेवा उपलब्ध गराउने जनाएको छ ।
कोप कार्डको राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उद्घाटन गरी शुभारम्भ गरिएको छ ।
नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनअनुरूप एसटीसीले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्युआर र मोबाइल बैंकिङमार्फत आफ्नो सेवा दिँदै आएकोे छ ।
एससीटीले १ सयभन्दा बढी सहकारीलाई कार्ड सेवा दिइसके तापनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्‍याउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्रान्डको कोप कार्ड जारी गरी संचालनमा ल्याउन लागेको हो ।
यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम/पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरुले जारी गर्नेछन् ।
यस सहकार्यपश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन् ।
सहकारीहरुले आफ्नो सदस्यहरुलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन भने, पोस को माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन् ।
यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रतिविश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रूपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।
यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारका लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्ति दिनेछ र सहकारीहरुको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।
कार्ड शुभारम्भ गर्दै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवं विकासमार्फत उपलब्ध साधन स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्घि हाँसिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताए ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले सहकारीमा प्रबिधिको महत्व र उपयोगिताका बारे प्रतिवेदन प्रस्तुत गर्दै यस सेवाद्वारा सहकारीहरुलाई विद्युतीय कारोवारका लागि थप प्रविधियुक्त सुविधाहरू दिँदै जाने र सहकारीहरुलाई अझ सवल बनाउँदै जाने विश्वास ब्यक्त गरे ।
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफ्नो ग्लोबल बैंकले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केही टेवा पुर्याउन पाएकोमा खुसी ब्यक्त गरे ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्त गर्दै एससीटी ले बैंक तथा वित्तीय संस्थासँग सधैं सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।
कोप कार्ड सार्वजनिक कार्यक्रममा तारापुन्ज मल्टिप्रपोज कोअपरेटिभ लिमिटेड, मुनाल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र फ्रेन्डस सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड गरी तीन सहकारी पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्