द भ्वाइस अफ नेपाल सिजन ४ मा दुई निर्णायक परिवर्तन

द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाउनुभएको छ । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ । सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
डिजिटल अडिशनमा सहभागी भएका करिब ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा छन् । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाहरूले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ ।
भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बासोवास गरिरहेका नेपालभूमिका प्रतिभाहरूले पनि अडिसनमा सहभागिता जनाएको आयोजकको भनाइ छ । कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजिमा जोड दिने बताए । उनले आफ्नो खोजि पनि प्रतिभाकै खोजिमा रहने र राम्रोलाई प्रोत्साहन गर्नेमा हुने बताए । त्यस्तै गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताए । उनले वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैंमा कठिन रहेको बताए ।
तीन सिजनसम्म निर्णायक रहेका वरिष्ठ गायक दीप श्रेष्ठले भने यस सिजनमा विश्राम लिएका छन् । आगामी एक महिनाभित्र नै सिजन ४ को प्रशारण सुरु हुने आयोजकले जनाएको छ । शो हरेक शुक्रबार राति शनिबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।