हिमाल थपिने कुरो कहाँ पुग्यो ? «

हिमाल थपिने कुरो कहाँ पुग्यो ?

अहिले विश्वमा मान्यताप्राप्त ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेका छन् । त्यसमध्ये आठवटा (६० प्रतिशत) नेपाल सरहदमा रहेका छन् । ती हुन्— विश्वकै सबैभन्दा अग्लो हिमशिखर चोमोलुङ्मा अर्थात् सगरमाथा, जसको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । विश्वकै तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा पनि नेपालमै रहेको छ, जसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । त्यस्तै ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से/चे हिमशिखर पनि नेपालमै रहेको छ, जुन विश्वको चौथो अग्लो हिमशिखर हो । विश्वको पाँचौं अग्लो हिमाल मकालु पनि नेपालमै छ, जुन हिमालको उचाइ ८ हजार ४ सय ८६ मिटर छ । ८ हजार २ सय १ मिटर अग्लो चोओ यू पनि नेपालमै रहेको छ, जुन विश्वको छैटौं अग्लो हिमाल हो । त्यस्तै विश्वको सातौं र आठौं अग्लो हिमाल पनि नेपालमै रहेका छन् । ती हिमालहरू क्रमश: ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि र ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हुन् । १० औं अग्लो हिमाल अन्नपूर्ण प्रथम पनि नेपालमै रहेको छ । विश्वका बाँकी ६ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये ५ वटा पकिस्तानमा र एउटा चीनमा रहेको छ ।
पर्वतारोहण पर्यटनलाई नेपाली पर्यटन उद्योगको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । त्यस्तै नेपाल सरकारले ३३ वटा ससाना हिमाललाई नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, परमिटबापत शुल्क उठाउनेलगायतको जिम्मेवारी दिएर सुम्पेको छ । ती ३३ वटा ट्रेकिङ पिक आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूले मात्रै सन् २०११ को स्प्रिङ सिजनमा ७२ लाख ९ हजार ३ सय ५६ अमेरिकी डलर खर्च गरेका थिए । उक्त सिजनमा ४ सय ४७ वटा पर्वतारोही टोलीले सलामी दस्तुरबापत मात्रै नेपाल पर्वतारोहण संघलाई १ लाख ८४ हजार ९ सय ७५ अमेरिकी डलर तिरेका थिए । तत्कालीन बजारभाउअनुसार सटही गर्दा नेपाल पर्वतारोहण संघलाई १ करोड ३३ लाख १८ हजार २ सय नेपाली रुपैयाँ प्राप्त भएको थियो । नेपाल भूगोल र जनसंख्याका आधारमा विश्वका अन्य देशको तुलनामा मध्यमस्तरको भए पनि नेपालमा हिमरेखा (५ हजार ५ सय मिटर) भन्दा माथिका १ हजार ७ सय १३ भन्दा बढी हिमाल रहेका छन् भने नेपाल सरकारले पटक–पटक गरेर लगभग ४ सय १४ वटा ५ हजार ५० मिटरभन्दा अग्ला हिमालहरू (छुकुङ–रीदेखि लिएर ८ हनार ८ सय ४८ मिटर अग्लो सगरमाथासम्म पर्वतारोहणका लागि खुला गरेको छ ।
नेपालको पर्वतारोहण पर्यटनमा अर्को महŒवपूर्ण घटना भनेको हालसम्म नेपालमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमा थिए भने अब विश्वमा ६ वटा नयाँ ८ हजार मिटरभन्दा माथिका हिमालहरू थप हँुदै छन् । हुन त यसरी थपिने नयाँ हिमालको नापजाँच र आधिकारिकता एवम् प्रामाणिकताका लागि सन् २०१८ मै स्वीजरल्यान्डबाट अन्तर्राष्ट्रिय पर्वतारोहण संघबाट प्राविधिकहरू खटिएर आउने भनिएको भए पनि हालसम्म विविध कारणले गर्दा उनीहरू आउन सकेका छैनन् । आशा गरौं, कोरोना महामारीले विश्राम लिएपछि वा कोरोनाको असर कम हुन थालेपछि उनीहरू आउने नै छन् ।
यसरी हेर्दा नयाँ थप भएर विश्वमा आठ हजार मिटरमाथिका हिमाल २० वटा हुँदै छ भने थपिने नयाँ ६ वटै हिमाल नेपालमा पर्नु हामी नेपालीहरूका लागि गर्वकै कुरो हो । यसरी थपिने ती नयाँ ६ हिमालमध्ये कञ्चनजंघा हिमालको हाँगाबिँगा र ल्होत्चे हिमालको हाँगाबिँगाका रूपमा रहेका छन् । यी नयाँ हिमालको नाम र स्थान घोषण गर्न सम्भवत: आगामी वर्षसम्ममा स्वीजरल्यान्डबाट प्राविधिक टोली आउनेछन् । सो प्रविधिक टोली नेपाल भ्रमण वर्षअघि नै नेपाल आएर, नापजाँच गरेर नाम र उचाइ घोषणा गरेर गएको भए राम्रो हुने थियो । तर, अनेक कारणले त्यसो हुन सकेन । अभैm पनि यो काम छिटो गर्नका लागि नेपाल सरकार, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टान, हान, नाट्टा, नारा, पाटालगायत नेपाली पर्यटन व्यवसायसँग सम्बन्धित अन्य सबै निकायले घचघच्याउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्