निर्यात व्यापारमा ‘ब्रेक थ्रु’ को संकेत

नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरू कुन–कुन हुन् भनेर सोध्यौं भने सबैको मुखमा जुट, पस्मिना, गलैंचा, तयारी पोसाक, जडीबुटी आदि पर्छन् । यी वस्तुहरूको सूची आजको दिनमा मात्र होइन, नेपालले अन्तर्राष्ट्रिय व्यापार सुरु गरेदेखि नै निर्यात व्यापारमा पर्ने प्रमुख वस्तुहरू यिनै हुन् । नेपालको वैदेशिक व्यापारको इतिहास हेर्ने हो भने सन् १९५० को दशकमा दुई छिमेकी मुलुक भारत र चीनको तिब्बत क्षेत्रमा सीमित थियो । त्यतिबेला पनि नेपालले निर्यात गर्ने वस्तुहरूमा कृषिजन्य कच्चा पदार्थहरू जस्तै— जुट, जडीबुटी, सुर्ती, काठको फर्निचर, बेतबाँसका उत्पादनहरू, जनावरका छाला, पस्मिना आदि परेको देखिन्छ । यसको निरन्तरता सन् २००४ मा नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएपछि पनि रहिरह्यो । यसपछि पनि विश्वका विभिन्न देशमा नेपालले निर्यात गर्ने वस्तुहरूको संरचनामा खासै परिवर्तन आएको देखिँदैन । आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार आर्थिक वर्ष २०२०/०२१ मा एसआईटीसी समूहअन्तर्गत वस्तु व्यापारमा छुट्ट्याइएका १० प्रमुख निर्यात भएका वस्तुहरूमा समेत खाद्य तथा जीवजन्तु, सुर्ती तथा पेय पदार्थ, विविध तयारी वस्तुहरू, जीवजन्तु तथा वनस्पतिको तेल तथा बोसोजन्य वस्तु आदिको बाहुल्यता देखिन्छ । यसरी हेर्दा नेपालको निर्यात व्यापारमा दशकौंदेखि एकै प्रकारका वस्तुहरूले अड्डा जमाएको पाइन्छ । निर्यात व्यापारमा विविधीकरण भएको देखिँदैन । तर, अहिले केही समयदेखि निर्यात व्यापारको संरचनामा परिवर्तन आएको देखिएको छ । परम्परागत कृषिजन्य वस्तुहरूबाहेक विद्युत्, सिमेन्ट, फलामे छड, सिसा र सिसाका उत्पादनजस्ता वस्तुहरूको समेत नेपालबाट निर्यात हुन थालेको छ । यसबाट नेपालको निर्यात व्यापारमा ‘ब्रेक थ्रु’ को संकेत देखिन थालेको अनुमान लगाउन सकिन्छ ।
नेपालले गत वर्ष कात्तिक १७ मा पहिलो पटक भारतको इन्डियन इनर्जी एक्स्चेन्ज (आईईएक्स) लाई विद्युत् बेच्ने अनुमति पाएको थियो । आईईएक्समा विद्युत् बेच्न अनुमति पाएसँगै २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट विद्युत् गत वर्ष नै भारत जान थालिसकेको थियो । विगतमा दुईवटा विद्युत्गृहको मात्र बिक्री गरिँदै आएकोमा गत फागुन दोस्रो साता काठमाडौंमा बसेको नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘ज्वाइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बैठकपछि भारत नेपालबाट थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो । सहमतिमा जसअनुसार नेपालले १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी, ६९ मेगावाटको मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५२ मेगावाटको लिखु–४ सहित कुल ६ वटा आयोजनाबाट ३ सय ६४ मेगावाट विद्युत् भारतले किन्न सक्ने उल्लेख गरिएको छ । यसैको निरन्तरतास्वरूप यो वर्षको सुरुवातदेखि नै विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारतीय बजारमा बिक्री सुरु गरेको छ । यसैअनुरूप आव २०७८/०७९ को डेढ महिनामै करिब पाँच अर्ब रुपैयाँबराबरको निर्यात गरिसकेको विद्युत् प्राधिकरणले जनाएको छ । अहिले दैनिक ३ देखि ४ सय मेगावाट विद्युत् भारतीय बजारमा निर्यात हुने गरेको र यसबाट दैनिक ७ देखि १० करोडसम्म आम्दानी भइरहेको प्राधिकरणको भनाइ छ । चालू आर्थिक वर्षमा २२ अर्बको निर्यात गर्ने लक्ष्य रहेको र आगामी दुई–तीन वर्षभित्र वार्षिक ७० अर्बबराबरको विद्युत् निर्यात गर्न सकिने अनुमान गरिएको छ । यसैगरी करिब पाँच वर्षभित्र दुई खर्ब रुपैयाँ हाराहारीको निर्यात गर्न सकिने सम्भावना रहेको प्राधिकरणको दाबी छ । बिजुलीको भारतीय थोक बजारमा प्रवेश गर्ने दक्षिण एसियाली देशमध्ये नेपाल पहिलो पनि हो ।
चालू आर्थिक वर्षको बजेटमा सरकारले स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने नीति लिएको छ । बजेटमार्फत निकासीलाई प्रोत्साहन गर्ने वातावारण बनाएपछि पाल्पा सिमेन्ट इन्डस्ट्रिजबाट उत्पादन भएको तानसेन ब्रान्डको तयारी सिमेन्ट गत असार २४ गतेदेखि भारत निर्यात हुन थालेको छ । सुरुमा ३ हजार बोरा तयारी सिमेन्ट भारत पठाएको कम्पनीले सुनौलीदेखि गोरखपुरसम्म १३ वटा डिलरबाट १५–२० दिनमै करिब २ करोड रुपैयाँबराबरको ५० हजारभन्दा बढी बोरा सिमेन्ट निर्यात गरिसकेको जनाएको छ । हाल नेपालमा करिब ६० सिमेन्ट उद्योगहरू छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन रहेको अनुमान छ । यदि सरकारले सहयोग गरेमा वार्षिक डेढ खर्बको सिमेन्ट निर्यात गर्न सकिने सम्भावना रहेको सिमेन्ट निर्यात संघले दाबी गरेको छ ।
केही समयअघिदेखि स्वदेशी उत्पादनको सिमेन्टपछि छड पनि भारत निर्यात हुन थालेको छ । गत साउन महिनाको पहिलो हप्तादेखि नै परासी–भैरहवा करिडोरअन्तर्गत रूपन्देहीको रोहिणीस्थित श्री स्टिल्स प्रालिले भारतमा टीएमटी छड निर्यात गर्न थालेको छ । जिल्लाको रोहिणी–३, सेमरहवा रहेको उद्योगले बेलहिया नाका हुँदै निर्यात सुरुवात गरेको छ । उद्योगले भारतको उत्तर प्रदेशस्थित एक सप्लायर्सलाई पहिलो पटक एउटा ट्रकमा ३५ टन फलामे छड पठाएर मुलुकबाट भारतमा टीएमटी फलामे छड निर्यात गर्ने पहिलो उद्योग बनेको हो । देशभर अहिले साना–ठूला गरी करिब ३० वटा स्टिल उद्योगहरू रहेका र सरकारले मद्दत गरेमा तत्कालै वार्षिक ६०–७० अर्बबराबरको छड निर्यात गर्न सकिने उद्योगीहरूले दाबी गरेका छन् ।
आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार नेपालले गत वर्ष २ खर्ब ३ करोड ९ लाखबराबरका वस्तुहरू निर्यात गरेको देखिन्छ । यो नेपालको वैदेशिक व्यापारको इतिहासमा हालसम्मकै उच्च मूल्य बराबरको निर्यात हो । अघिल्लो आवको तुलनामा यस आर्थिक वर्षमा निर्यात व्यापार ४१.७४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो वर्ष १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँबराबरको निर्यात भएको थियो । नेपालले गत वर्ष १ सय ३१ देशमा कुल ९ सय ४३ वस्तुहरूको निर्यात गरेको थियो । यसमा सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतले र सबैभन्दा कम हिस्सा ग्वाटेमालाले ओगटेको देखिन्छ । यसरी वैदेशिक व्यापारको क्षेत्र फराकिलो बन्दै जाँदा नयाँ एवम् मूल्य अभिवृद्धि अधिक हुन सक्ने वस्तुहरू निर्यातको सूचीमा समेटिँदा भोलिका दिनमा मुलुकको आर्थिक क्षेत्रमा आशाका किरणहरू उदाउने अपेक्षा गर्न सकिन्छ ।
अहिले मुलुकमा सबैभन्दा चिन्ताको विषय भनेको दिनप्रतिदिन बढ्दै गएको उच्च व्यापारघाटा र यसले देशको समग्र अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई लिने गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा व्यापारघाटा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ । मुलुकको वार्षिक बजेटकै हाराहारीमा व्यापारघाटा पुग्नुलाई सुखद मान्न सकिँदैन । यसले गर्दा विदेशी मुद्राको सञ्चिति र भुक्तानी सन्तुलनमा समेत गहिरो असर परिरहेको छ । यसको न्यूनीकरणका लागि एउटा मात्र उपाय भनेको निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन नै हो । यसका लागि निर्यातजन्य वस्तुहरूमा विविधीकरण गरी परम्परागत रूपमा निर्यात हुँदै आएका वस्तुहरूसँगसँगै नयाँ स्वदेशी कच्चा पदार्थ प्रयोग भएका वस्तुहरूको पनि प्रवेश गराउँदै लैजानुपर्ने देखिन्छ । अहिले पनि नेपालको निर्यात हुने पहिलो नम्बरको वस्तुमा भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल पर्छ । तर, यो वस्तु उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ भने बाहिरबाट आयात गरिन्छ । यस्ता वस्तुहरूबाट मुलुकले अपेक्षित लाभ लिन सकेको अवस्था छैन । तसर्थ, हामीले ती वस्तुहरूलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ, जुन वस्तुहरू उत्पादन र प्रशोधनमा स्वदेशभित्रकै साधनस्रोतहरू प्रयोग गर्न सकिन्छ । यस्ता वस्तुहरूको उत्पादनले देशभित्रै रोजगारी, लगानी र उद्यमशीलताका पर्याप्त अवसरहरू सिर्जना गर्छ । यसबाट व्यापारघाटा न्यूनीकरण मात्र होइन, समग्र आर्थिक परिसूचकहरूमा नै सकारात्मक प्रभाव पार्न सक्छ । अहिले विद्युत्, सिमेन्टजस्ता वस्तुहरूले निर्यातले यसको सुरुवात गरेको छ । यसले निर्यात व्यापारमा ‘ब्रेक थ्रु’ को संकेत गरेको भन्दा फरक पर्दैन ।