विषयभन्दा बजारमुखी शिक्षा आवश्यक «

विषयभन्दा बजारमुखी शिक्षा आवश्यक

सरकारले भर्खरै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । यसमा ४ लाख ९५ हजार ७ सय ५१ जना सहभागी भएका थिए । यो नतिजाबाट विद्यार्थीले प्राप्त ग्रेटका आधारमा ११ कक्षा वा सोसरहको प्राविधिक शिक्षा अध्ययन गर्नका लागि योग्य भएका छन् ।
एसईईको नतिजापछि धेरैका अभिभावक तथा विद्यार्थी समयमा उपयुक्त विषय छनोट गर्ने विषयमा अलमल्लमा पर्ने गरेको पाइन्छ । हालसम्मको अध्ययनले धेरैजसो विद्यार्थीले कक्षा १२ पछि आफूले पढेको विषय बदल्ने गरेका कारण उच्च शिक्षामा पुगेर समस्या पर्ने गरेको छ । विगत वर्षहरूमा प्लस २ मा साइन्स पढेका विद्यार्थीले माथिल्लो तहमा अन्य विषय अध्ययन गरेका उदाहरण धेरै छन् । विद्यार्थीको क्षमता र इच्छाअनुसार विषय छनोट गर्न नसक्दा उच्च तहमा गएर विषयमात्र होइन, संकाय नै बदलेका प्रशस्त घटनाहरू छन् । एसईई दिएका विद्यार्थीले कस्ता विषय रोज्ने ? त्यो विषय अध्ययन गरेका जनशक्तिको बजारमा कस्तो माग छ ? रोजेको विषय पढेर पूरा गरेपछि त्यसको समाजमा कस्तो हैसियत हुन्छ जस्ता कुराहरूले विद्यार्थीलाई अलमलमा परेको पाइन्छ ।

विषयभन्दा बजारमुखी शिक्षा आवश्यक
कामप्रति सम्मान र आम्दानीका हिसाबले राम्रो गे्रड आउँदै काम लाग्ने र कम ग्रेड आउँदा काम नै नलाग्ने भन्ने सोच विस्तारै बदलिँदै गएको छ । साधारण लेखपढ गर्न जान्ने तर प्राविधिक र व्यावसायिक शिक्षामा राम्रो गर्ने मानिसले सम्मान, पैसा र जीवनयापन राम्ररी गरेका धेरै उदाहरण छन् । आम्दानी पढाइले मात्र हैन, सीपले पनि दिने कुरा अहिले आएर प्रमाणित भएको छ । सीप भएका मानिसले स्वदेश तथा वैदेशिक रोजगारीमा समेत राम्रो काम र दाम पाएका छन् । शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थीले जस्तो विषय छनोट गरे पनि त्यो विषय माटो सुहाउँदो र व्यावहारिक हुनुपर्ने बताउँछन् ।
कुनै पनि विद्यार्थीले आफ्नो विषय छान्दा त्यो विषयमा स्वदेश तथा विदेशमा माग कस्तो छ, हेर्नुपर्ने समय आइसकेको छ । त्यति मात्र होइन, विषय छान्दा विद्यार्थीले लगानीको प्रतिफल दिने तथा समाजमा राम्रो स्टाटस दिन सक्ने विषय छान्नुपर्ने विज्ञको सुझाव रहेको छ । विश्व बजारलाई हेर्दा सीए, बीबीए, बीबीएस, एमबीएस, एमबीए, आईटी, इन्जिनियरलगायत प्राविधिक विषयको माग राम्रो देखिन्छ । यसैले कक्षा ११ मा भर्ना गर्नुपूर्व यस्ता विषयलाई ध्यान दिएर उपयुक्त विषय छनोट गर्नुपर्छ । समाजमा पनि यस्ता विषय पढ्ने व्यक्तिलाई फरक दृष्टिकोणले हेर्ने गरेको पाइन्छ । यसकारण आफ्नो क्षमता भए उच्च तहमा यस्ता विषय अध्ययन गर्न सहज हुने गरी कक्षा ११ बाट नै अध्ययन नियमित गराउनु उपयुक्त हुन्छ । अब कक्षा ११ र १२ को अध्ययनपछि अन्तर्राष्ट्रिय गुणस्तरका कोर्स अध्ययनका लागि विदेश जानुपर्ने अवस्था छैन ।
नेपालमा नै विभिन्न किसिमका प्राविधिक तथा साधारण कोर्सका लागि नेपाली विश्वविद्यायलदेखि विदेशी विश्वद्यालयका कार्यक्रमहरू रहेका छन् । त्यस्ता विषयहरू निजीस्तरका विभिन्न कलेजले समेत पढाउँदै आइरहेका छन् । प्राविधिक शिक्षा अध्ययन गर्नुअघि विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ । प्राविधिक शिक्षा पढनुअघि कुनै पनि विद्यार्थीले पढ्न लागेको विषयको नेपाल र विश्वमा माग छ कि छैन ? आफूले पढ्न सक्छु/सक्दिनँ भनेर विषयका बारेमा बुझ्ने तथा उक्त विषय पढ्न आफ्नो आर्थिक अवस्थाले भ्याउँछ कि भ्याउँदैन भनेर पहिले नै विचार गर्नुपर्छ ।
विद्यार्थीले अध्ययन गर्न खोजेको विषयको कार्यक्रम कुन विश्वविद्यालयमा छ, त्यसबारे पहिले ध्यान दिनुपर्छ । नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडांै विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायतका निजी विश्वविद्ययालयबाट समेत विभिन्न संकायका कार्यक्रमहरूको अध्यापन हुने गरेको छ । यसैगरी केही निजी कलेजले विदेशी विश्वविद्यालयका कोर्सहरू पनि अध्यापन गराएका छन् । तपाईं कुन विश्वविद्यालयको कोर्स पढ्न चाहनुहुन्छ, सोबारे निश्चित हुनपर्छ । यस्ता विद्यालयहरूका विषय छान्नुभन्दा पहिले उनीहरूको पाठ्यक्रम, सिलेबस पनि हेर्न जरुरी हुन्छ । यसरी तपाईंलाई बढी रुचि भएको तथा आफ्नो आर्थिक अवस्थाले भ्याउने खालका विषय छान्दा अझ राम्रो हुन्छ ।
यसैगरी विश्वविद्ययालयको सफलता तथा नेपाल तथा विदेशमा दिइने मान्यता हेर्नु अर्को महŒवपूर्ण कुरा हो । यसको अर्थ तपाईंले अध्ययन गरेको युनिभर्सिटी कोर्सलाई अर्को विश्वविद्यालयले कत्तिको मान्यता दिन्छ भन्ने हो । अध्ययनका क्रममा अर्को विश्वविद्यालयमा अध्ययन गर्ने चाहना राख्दा ट्रान्सफर गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा बुझ्नु पनि उत्तिकै महŒवपूर्ण हुन्छ । कलेजमा अध्ययन गरेको ज्ञानलाई व्यावहारिक रूपमा उतार्न इन्टर्नसिप तथा प्रोफेसनल ट्रेनिङहरूको आवश्यकता पर्छ । यसका लागि सम्बन्धित कलेजले इन्टर्नसिपका लागि विद्यार्थीलाई आईटी इन्डस्ट्रीमा पठाउने गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्छ ।

प्राविधिक शिक्षामा जोड दिआंै
हाल निजी स्तरबाट सञ्चालित उच्च शिक्षामा विद्यार्थीको आकर्षण बढाउन प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिन थालिएको छ । नेपालमा रहेका विश्वविद्यालयबाट नभई विदेशी विश्वविद्यालयको समेत सम्बन्धन लिएर निजी क्षेत्रका कलेजहरूले कोर्स सञ्चालन गरिरहेका छन् । निजी कलेजहरूको बाक्लो उपस्थितिले अध्ययन–अध्यापनको परम्परागत शैली नै बदलिएको छ । सैद्धान्तिक पक्षलाई समेत प्रयोगात्मक ढंगबाट पढाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउन सबै कलेज अहिले प्रतिस्पर्धाकै रूपमा लागेका छन् । राजनीति, अन्य दबाबमा नभएका कारण र नियमित पठनपाठन गरिने हुँदा हाल निजी कलेज विद्यार्थीमा विद्यार्थीको आकर्षण बढेको छ । निजी कलेज सरकारी कलेजको तुलनामा महँगा हुने भए पनि विद्यार्थीले निजी कलेज नै रोज्न थालेका छन् । अभिभावक पनि जसरी भए पनि छोराछोरीलाई निजी कलेजमा नै पढाउन चाहन्छन् ।
हुन त निजी मात्र नभएर इन्जिनियरिङ, मेडिसिन, वन, कृषिजस्ता विषय महँगा विषय अध्ययनका लािग विद्यार्थीले सरकारी क्याम्पस पनि रोज्ने गर्छन् । निजी कलेज महँगो हुने भए पनि सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन त्यसमा विविधता ल्याउन सकिएको छैन । सरकारले १२ कक्षासम्म माध्यमिक तह भने पनि यो वर्षसम्म कोर्स भने विभिन्न विश्वविद्यालयले तय गरेका पुरानो कोर्स नै अध्ययन–अध्यापन गराइँदै आएको छ ।

अबको शिक्षाको बाटो
आधारभूत शिक्षामा सबै नागरिकको हक सुनिश्चत गर्दै कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई क्रमश: अनिवार्य र नि:शुल्क गरिँदै लैजाने सरकारी योजनालाई सरकारले प्रभावकारी रूपमा अघि बढाउनुपर्ने देखिएको छ । अन्य छिमेकी राष्ट्रमा विद्यालय शिक्षालाई रोजगारमैत्री बनाइसकेको अवस्थामा नेपालमा पनि सोही मोडलमा विद्यालय शिक्षालाई लैजानुपर्ने देखिन्छ । एसईईपछि यस्तो विषय शिक्षा तथा अन्य अवसरबाट वञ्चित भएका दलित तथा सीमान्तकृत समुदायका बालबालिकाका लागि सबै तहमा नि:शुल्क गर्नुपर्ने देखिएको छ । अहिलेको मुख्य समस्या भनेको सामुदायिक तथा निजी विद्यालयबीच शैक्षिक गुणस्तरको अन्तर घटाई सस्तो र सर्वसुलभ मानिएको सार्वजनिक शिक्षामा सबैलाई आकर्षण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
छात्रवृत्ति, नि:शुल्क पाठ्यपुस्तक, आवासीय सुविधा तथा दिवा खाजालगायतका कार्यक्रमको पुनर्मूल्यांकन गरी विपन्न समूहका विद्यार्थीहरूमा लक्षित गर्नुपर्छ । त्यसैगरी उच्च शिक्षामा विज्ञान, प्रविधि र व्यावसायिक विषय अध्ययन गर्ने जेहेनदार विद्यार्थीलाई सहुलियत ऋणको व्यवस्था गरिनुपर्छ । उद्यमशिलता र रोजगारी विकास गर्न प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरी सीपमूलक शिक्षामा जोड दिन सबैले सुझाव दिएअनुसार कार्यक्रम अघि बढाउनुपर्छ ।
उच्च शिक्षाको पहुँच पुग्न नसक्ने दुर्गम स्थान र वैकल्पिक पहुँचको आवश्यकता पर्नेहरूका लागि खुला विश्वविद्यालयलगायत दूर शिक्षा प्रणालीको संस्थागत विकासमा प्रभाकारी कदम चाल्नुपर्छ । वैज्ञानिक, प्राविधिक तथा रोजगारउन्मुख व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी ऋण उपलब्ध गराउने सरकारी योजना अघि बढ्न सकेको छैन ।

विषय छनोटमा ध्यान दिनुपर्ने कुरा
आफूले पढ्न लागेको विषयका लागि नेपाल तथा विश्वको श्रम बजार हेर्न जरुरी हुन्छ । यसैगरी विषय छान्दा ध्यान दिनुपर्ने अन्य कुराहरूमा आफूले छानेको विषयले लगानीको प्रतिफल कत्तिको छिटो दिन सक्छ, साथै आफूले छानेको विषयप्रति समाजको कस्तो दृष्टिकोण छ ? उदाहरणका लागि मानविकी तथा शिक्षा संकाय पढेका व्यक्तिलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण र प्राविधिक शिक्षा जस्तै— मेडिकल, इन्जिनियरिङ, आईटी, कम्प्युटर पढ्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण नै फरक छ । अझै पनि हाम्रो समाजमा प्राविधिक शिक्षा पढ्नेलाई माथिल्लो तहबाट हेर्ने गरिन्छ भने मानविकी तथा शिक्षा संकाय पढ्नेलाई तल्लो तहमा राख्ने गरेको पाइन्छ ।
अध्ययन खर्च पनि अर्को महŒवपूर्ण पक्ष हो । अध्ययन खर्च कति लाग्ने भन्ने कुरा विशेषत: कोर्सको प्रकृति र अध्ययन गर्ने क्याम्पस तथा कलेजहरूमा भर पर्छ । आफ्नो आर्थिक अवस्था राम्रोसँग नबुझी पढ्दा बीचैमा अध्ययनका लागि भनेर छुट्ट्याएको बजेट नपुगेर अध्ययनमा समेत असर गर्ने भएकाले यसको मूल्याङ्कन पहिले नै गर्नुपर्छ ।
विद्यार्थीले कस्तो खालको शिक्षा लिएको छ भन्ने कुराले सामाजिक हौसियत पनि राख्छ । उदाहरणका लागि डाक्टर, पाइलट, इन्जिनियरलगायतका प्राविधिक शिक्षा लिने विद्यार्थीलाई समाज तथा सरकारले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । यस्ता विषय लिई अध्ययन गरेका विद्यार्थीलाई हाम्रो समाजमा सबै किसिमले राम्रो मानिन्छ । यी विषय पढ्दा लाग्ने खर्च तथा पढाइ सकिएपछि दिने प्रतिफलले विद्यार्थीहरू यस्ता विषय पढ्न लालायित हुन्छन् । सरकारी तथा निजी कलेजले विद्यार्थी तान्नका लागि विभिन्न किसिमका सुविधाहरू दिएको पाइन्छ । यस्ता खालका सेवा तथा सुविधाका बारेमा बुझ्न सकियो भने पढ्न लाग्ने खर्च कम गर्न सकिन्छ । त्यति मात्र होइन, यस्ता सुविधामा पढ्न सकियो भने आर्थिक बोझ पनि कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्