जिल्ला प्रशासन लमजुङमा करिब तीन करोड राजस्व संकलन «

जिल्ला प्रशासन लमजुङमा करिब तीन करोड राजस्व संकलन

जिल्ला प्रशासन कार्यालय लमजुङले एक आर्थिक वर्षको अवधीमा करिव तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न शिर्षकमा दुई करोड ८७ लाख २७ हजार दुई सय ५३ रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै राहदानी सेवा प्रवाहबाट राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्म मात्रै राहदानी सेवा प्रवाहबाट दुई करोड ६७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयका अनुसार एक वर्षको अवधीमा कार्यालयबाट ६ हजार आठ सय ५१ राहदानी सिफारिस सेवा भएको छ । सो अवधीमा राहदानीका लागि पाँच हजार तीन सय ५० साधारण सिफारिस भएको छ भने एक हजार पाँचस एक द्रुत सिफारिस भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदिश मिश्रले बताए ।
राहदानी सेवाबाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक र एजेन्सी दर्ता शुल्कबाट पाँच लाख, ९५ हजार चार सय दुई रुपैयाँ राजस्व संकलन गरेको छ । प्रशासनिक दण्ड जरिवाना जफतबाट आठ लाख २० हजार ६ सय १० रुपैया संकलन भएको कार्यालयले जनाएको छ । यस्तै हातहतियार इजाजतपत्र दस्तुरबाट पाँच लाख ११ हजार ३५ रुपैयाँ संकलन भएको छ भने परीक्षा दस्तुरबाट एकहजार एक सय रुपैयाँ राजस्व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा मात्रै जिल्ला प्रशासन कार्यालयमा ८२ वटा संस्था दर्ता भएका छन् । त्यसैगरी कार्यालयले दुई सय १६ नाबालक परिचयपत्र, ७१ ठाडो उजुरी, दुई सय ८५ हातहतियार नविकरण, २२ हातहतियार नामसारी गरेको जनाएको छ । त्यस्तै एक हजार ६ सय ६५ भुपु सैनिक पेन्सन सिफारिस, एक हजार २८ विविध सिफारिस गरेको कार्यालयको वार्षिक प्रगतिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले एक आर्थिक वर्षको अवधीमा सात हजार पाँच सय ५८ जनालाई वंशजको आधारमा नागरिकता वितरण गरेको जनाएको छ । सोबाहेक चार हजार पाँच सय ५४ जनाको नागरिकता प्रतिलिपी र चार जनालाई वैवाहिक अंगिकृत नागरिकता वितरण गरेको कार्यालयको वार्षिक प्रगतिमा उल्लेख छ । सोबाहेक कार्यालयले १० हजार एक सय २४ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरेको पनि प्रगतिमा उल्लेख छ ।
गत आर्थिक वर्षमा पुँजीगततर्फ ११ लाख ३० हजार रुपैयाँ खर्च गरेको प्रशासन कार्यालयले चालुतर्फ एक करोड ४६ लाख ६८ हजार पाँच सय ७७ रुपैयाँ ९० पैसा खर्च भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्