म्याग्दीमा ७१ प्रतिशत बजेट खर्च «

म्याग्दीमा ७१ प्रतिशत बजेट खर्च

म्याग्दीमा धेरै बजेट भुक्तानी हुने समस्या रोकिएको छैन । संघ, प्रदेश र स्थानीय तहका कार्यालयबाट विकास तथा विभिन्न कार्यक्रमको भुक्तानी असारमा बढी गरेको छ ।
म्याग्दीमा गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुई वटै सरकारका निकायको एक अर्ब २१ करोड ५९ लाख १६ हजार विनियोजन भएकामा ८६ करोड ६१ लख ५२ हजार ७८० खर्च भएको उक्त कार्यालयका लेखापाल सुमन सुवेदीले जानकारी दिए ।
पुँजीगत शीर्षकमा खर्च भएकोमध्ये ४४.४५ प्रतिशत अथवा ३८ करोड ५० लाख २४ हजार रुपैयाँ असार महिनामा खर्च भएको छ । संघीयतर्फ पुँजीगत शीर्षकमा ४० करोड ४१ लाख २८ हजार रुपैयाँ विनियोजन भएकोमा असार महिनामा १३ करोड ४० लाख ११ हजार ७७४ सहित कुल २४ करोड ५५ लाख २६ हजार ८९ खर्च भएको छ ।
प्रदेशका कार्यालयमा ८१ करोड १७ लाख ८८ हजार विनियोजन भएकामा ६२ करोड छ लाख २६ हजार ६९१ रुपैयाँ खर्च भएको छ । खर्च भएकामध्ये २५ करोड १० लाख १२ हजार २३० असार महिनाको हो । संघीय सरकारको चालुतर्फ तीन अर्ब ४८ करोड ५६ लाख ६६ हजार ३६२ बजेट विनियोजन भएकोमा ३ अर्ब ३० करोड १८ लाख चार हजार १०३ अथवा ९४.७२ प्रतिश तखर्च भएको छ । असार महिनामा ५१ करोड १३ लाख ६७ हजार ७२९ रुपैयाँ संघीय बजेट खर्च भएको कार्यालयले जनाएको छ ।
प्रदेशको चालु शीर्षकमा ४८ करोड ५३ लाख विनियोजन भएकोमा ३६ करोड ७८ लाख ४९ हजार ४८० खर्च भएको छ । प्रदेशको चालु शीर्षकमा असार महिनामा १३ करोड ३५ लाख ८३ हजार १४५ खर्च भएको छ ।
संघीय र प्रदेशको चालु शीर्षकमा स्थानीय तहलाई दिएको अनुदानको निकासा रकमसमेत जोडिएको छ । संघीय र प्रदेशको चालु तथा पुँजीगत गरेर गत आर्थिक वर्षमा कुल ५ अर्ब १८ करोड ६८ लाख ८२ हजार ३६२ रुपैयाँ विनियोजन भएकोमा ८७.४४ प्रतिशत अथवा चार अर्ब ५२ करोड ५८ लाख छ हजार ३६३ खर्च भएको छ । यसैगरी गत आर्थिक वर्षमा जिल्लाका संघीय कार्यालयबाट १५ करोड २१ लाख ५१ हजार १८४ र प्रदेशका कार्यालयबाट दुई करोड ९६ लाख ८ हजार ७८१ राजस्व संकलन भएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्