काँचो स्याउ बेच्दा जुम्ली पहिचान गुम्ने चिन्ता «

काँचो स्याउ बेच्दा जुम्ली पहिचान गुम्ने चिन्ता

जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमत्तोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेका छ ।
१५ भदौ अघि स्याउ नटिप्न कृषि विज्ञदेखि यहाँका स्थानीय तहलेसमेत सूचित गराइसकेका छन् । तर पछि मूल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् ।
सुर्खेतका गल्ली गल्ली र चोक चोक तथा फलफूल मण्डीहरुमा काँचो स्याउ बिक्रीका लागि राखिएका छन् । त्यस्तै काठमाडौं, नेपालगन्ज, धनगढी र विराटनगरलगायतका जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको छ ।
आर्थिक समृद्धिसँगै जुम्लाको पहिचानसँग जोडिएको जुम्ली अर्गानिक स्याउको पहिचार गुम्नेसमेत खतरा बढेको कृषि विज्ञ बताउँछन् । जुम्लामा १५ भदौ भन्दा अघि स्याउ टिप्न कसैलाई पनि छुट छैन ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले भने, “साउन पहिलो साता जिल्लामा गोष्ठी गरेर काँचो स्याउ नटिप्न किसान व्यापारीलाई सुचित गराइएको हो । पछि उपयुक्त मूल्य र बजार नपाउने डरले किसानले काँचो स्याउ टिप्नु, बाहिर बजारमा पठाउनु जुम्ली स्याउको पहिचान गुम्ने संकेत हो ।”
तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले समय अगावै स्याउ नटिप्न किसानलाई आग्रह गरेका छ । दुवै स्थानीय तहले सूचना जारी गर्दै जुम्ली स्याउको पहिचान कायम राख्न, बजारको माग अनुसार पूर्ति गर्न, राम्रो मूल्य पाउनका लागि १५ भदौ अघि स्याउ नटिप्नसूचना गरिएको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले जानकारी दिए ।
तातोपानीका कृषि शाखाका प्रमुख पदम नेपालीले पालिकामा व्यापारी, किसान र जनप्रतिनिधिको उपस्थितिमा अन्तरक्रिया गरी भदौ पहिलो साताबाट मात्रै स्याउ टिप्ने निर्णय गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले काँचो स्याउ निर्यातलाई रोक्न सबै संयन्त्र मजबुद बनाउनु पर्ने बताइन् । उनले भनिन्, “सम्बन्धीत पालिकाका नाकामा रोक्न पालिका नै सक्रिय हुनुपर्छ । चाँडै जिल्लामा बैठक राखेर ठोस निर्णय गरी काँचो स्याउ टिप्न रोक्न पर्छ । अहिले निर्यात रोक्ने मात्र नभई पछि बजारीकरण हुने, किसानले उपयुक्त दाम पाउने विकल्प पनि दिनुपर्नेतर्फ सरोकारवाला गम्भीर हुनुपर्छ ।”
स्याउ नटिप्ने निर्णय भएपनि किसान र व्यापारीको मिलोमत्तोमा बर्षेनि काँचो स्याउ निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्