वर्षायाममा नदी उत्खनन् गर्ने उपकरण नियन्त्रणमा
वर्षायामको समयमा पनि कालिगण्डकी नदी किनारबाट नदीजन्य वस्तु उत्खनन गर्न प्रयोग गरिएका स्काभेटर, डोजर र ट्याक्टर नियन्त्रणमा लिई सिल गरिएको छ ।
जिल्ला अनुगमन समितिको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उत्खनन्का लागि नदी किनारमा राखिएका तीनवटा स्काभेटर, एक थान डोजर र एउटा ट्याक्टर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार कुश्मा नगरपालिका–१ स्थित राजाको बगरबाट एक/एक वटा स्काभेटर र डोजर, जलजला गाउँपालिका–८ खनियाघाटवाट एकवटा स्काभेटर, वडा नं. ८ लस्ती भन्ने स्थानबाट एउटा ट्याक्टर तथा पर्वत जलजला गाउँपालिका–४ लामाखेतबाट एउटा स्काभेटर नियन्त्रणमा लिई सिल गरिएको प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
वर्षायामको १५ असारदेखि १५ भदौसम्म नदी किनारवाट नदीजन्य वस्तु उत्खनन् गर्न नपाईने नियम भए पनि लुकिछिपी अवैध रूपमा उत्खनन् गरेको गुनासो आएपछि अनुगमन टोली पुगेको थियो । सिल गरिएका उपकरण आवश्यक कानुनी कारबाहीपछि छाडिने प्रहरीले जनाएको छ ।
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, सहसंयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, सदस्य सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीलगायत समितिको टोलीले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाअन्तर्गत कालिगण्डकी नदी किनारमा अनुगमन तथा निरीक्षण गरेको थियो ।
कालिगण्डकी नदीमा अवैध उत्खनन्का कारण पर्यावरणीय असर परेको भन्दै सर्वोच्च अदालतले समेत उत्खनन्मा रोक लगाएको छ । सर्वोच्चको आदेशपछि कुश्मा नगरपालिका र जलजला गाउँपालिको लगाउँदै आएको ठेक्का प्रकृयासमेत रोकिएको छ । ठेक्का प्रकृया रोकिँदा दुई पालिकाको झण्डै पाँच करोड आम्दानी गुमेको छ ।
स्थानीय जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले समेत नदी किनारमा रहेका उपकरण तत्काल हटाउन पटक पटक सूचना जारी गर्दा पनि मध्यरात र दिउँसोको समयमा समेत लुकिछिपी बालुवा, ढुंगा उत्खनन् गर्ने क्रम रोकिएको छैन ।