आन्तरीक पर्यटकको रोजाइमा कुलपानी «

आन्तरीक पर्यटकको रोजाइमा कुलपानी

जिल्लाको देउखुरी क्षेत्रमा रहेको कुलपानी हरित पार्कमा पछिल्लो समय आन्तरीक पर्यटकको रोजाइ बन्दै गएको छ ।
गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला देउखुरीको कुलपानी हरित पार्कमा भने घुम्न जाने तथा पिक्निकका लागि जानेको भीड लाग्ने गरेको छ । पछिल्लो समय कुलपानी सामुदायिक वन क्षेत्र पर्यटकीय स्थानको रुपमा स्थापित हुन थालेको हो । पार्कमा बनेका घोडामा चढ्ने, गैडा, र बाघ, जरायो, मयुरसँगै फोटो खिच्ने काठको भ्युटावरमा चढेर वरिपरिको वातावरण नियाल्ने र गर्मीको समयमा डुंगामा चढेर पोखरी घुम्ने पर्यटकको भीड लाग्ने गरेको छ ।
जंगल क्षेत्रमा पर्ने धार्मिक एवं सिमसार क्षेत्र भएकाले घुमफिरसँगै केही समय गर्मी छल्ने र पर्यटकीय क्षेत्रमा रमाउनका लागि दिनहुँ सयौंको संख्यामा आन्तरिक पर्यटकका रुपमा मानिसहरु कुलपानी पुग्ने गरेका छन् । कुलपानीमा पर्यटकलाई तान्नका लागि काठको भ्युटार, देउखुरी क्षेत्रमा पहिले प्रयोग गरिने काठको लडिया, राप्ती नदीमा पुल नहुँदा चलाएको डुंगा, काठको कोल, ढिकीलगायतका परम्परागत रुपमा मानिसले प्रयोग गरेका तर अहिले लोप हुने अवस्थामा रहेका सामग्रीलाई समेत हेर्नका लागि राखिएको छ । तर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकेको व्यवस्थापन समितिले जनाएको छ ।
पर्यटन प्रवद्र्धनका लागि स्थानीयसँगै डिभिजन वन कार्यालयलगायतका निकायबाट केही पूर्वाधार विकास भएपछि कुनै समय सुनसान रहने देउखुरीको गढवा गाउँपालिका–१ बडहरामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रमा भीड लाग्ने गरेको हो । धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न हरित पार्क निर्माणसँगै जलविहार गर्नका लागि पोखरी निर्माण गरेर डुंगाको व्यवस्था गरेपछि कुलपानी देउखुरी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माले बताए । अहिले १२ हेक्टर क्षेत्रमा फैलिएको धार्मिक एवं सिमसार क्षेत्रको विकासका लागि प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले डीपीआर निर्माणको काम गरिरहेको छ । बाल उद्यान, पिक्निक स्पट, पोखरी व्यवस्थितसँगै तारबार गर्ने गरी डीपीआर निर्माणको काम भइरहेको उनले बताए ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले स्थानीयलाई सहयोग गर्दै कुलपानीको विकासमा सहयोग गर्ने बताए । त्यसका लागि स्थानीय समुदायले सहयोग गर्नु पर्न भन्दै उनले प्राकृतिक स्रोत र साधनको संरक्षणसँगै विकास गर्नु पर्ने बताए । पर्यटनको विकास गर्नसके आर्थिक रुपमा समृद्ध बनाउन सकिने उनको भनाइ छ ।
कुलपानीसँगै गाउँपालिका अन्य धेरै ठाउँहरु रहेको भन्दै ती क्षेत्रको विकास गर्न आवश्यक रहेको बताए । प्राकृतिक स्रोत र साधनको संरक्षण र पर्यटनका रुपले विकास गर्न सकिने अध्यक्ष शर्माको भनाइ रहेको छ । संविधान सभा सदस्य तथा स्थानियवासी रश्मीराज नेपालीले सिमसार क्षेत्रको संरक्षण गर्दै कुलपानीलाई पर्यटन प्रबद्र्धनका रुपमा अघि बढाउन सकिने बताए । उनले अहिले भइरहेको कामले कुलपानीमा पर्यटन विकासका लागि परिवर्तनको सुत्रधारका काम भएको भन्दै यसले राम्रो सन्देश दिएको बताए ।
अहिले क्षेत्रलाई बढाएर करिब २० हेक्टर क्षेत्रमा पर्यापर्यटनको विकासका लागि गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । उक्त क्षेत्रको विकास हुन सकेमा आन्तरीक मात्र बाह्य पर्यटकको पनि रोजाइ हुने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्