सीटीसी चियाले पनि ट्रेडमार्क पाउने

नेपाली अर्थोडक्स चियाले आफ्नै ट्रेडमार्क पाए पनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सीटीसी चियाको ट्रेडमार्क निर्माण गरिरहेको छ । स्वदेश र विदेशका उपभोक्तालाई नेपाली चिया चिनाउन, चियाप्रति आकर्षण बढाउन, नेपाली सीटीसी चियाको अन्तर्राष्ट्रिय बजार विस्तार एवं विकास गर्न र चिया उत्पादक, प्रशोधक, निर्यातकर्ता तथा चिया व्यवसायीको सामूहिक प्रतिस्पर्धात्मक क्षमता विकासमा सहयोग पुग्ने उद्देश्यले ट्रेडमार्क बनाइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका निमित्त प्रमुख सुमन त्रिखत्रीले जानकारी दिए ।
बोर्डले ‘नेपाल प्रिमियम सीटीसी टी’ लेखिएको ट्रेडमार्क निर्माण अन्तिम चरणमा पुर्याएको र ट्रेडमार्क कार्यान्वयन गर्न निर्देशिका समेत बनाएको उनले बताए । नेपाली किसान तथा व्यवसायीले चिया उत्पादनमा हासिल गरेको विज्ञता र क्षमताबारे विश्व बजारका चिया व्यवसायी र पारखीलाई जानकारी गराउन तथा नेपाली सीटीसी चियाप्रति विश्वास दिलाउन ट्रेडमार्कको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।
सीटीसी चियाको ट्रेडमार्क निर्माण हुने कुराले चिया उत्पादक, प्रशोधक, निर्यातकर्ता तथा चिया व्यवसायीले खुशी व्यक्त गरेका छन् । नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले ट्रेडमार्क बन्नु चिया उद्योगी–व्यवसायीका लागि खुशीको कुरा भएको बताए । आफूहरुले धेरै पहिलेदेखि ट्रेडमार्क बनाउन प्रयास गरिरहेको र त्यसले बल्ल सार्थकता पाउन लागेको उनले बताए ।
ट्रेडमार्क बनिसकेपछि यसको प्रवद्र्धन, प्रचारप्रसार र विश्वसनीयतामा कुनै कमीकमजोरी आउन नदिने गरी जिम्मेवारी निर्वाह गर्न सरकारसँग उनले आग्रह गरे । नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार चण्डी पराजुलीले नेपालको पहिचानलाई विदेशमा पुुर्याउन ट्रेडमार्कले मद्दत गर्ने बताए । झापासहित देशका २८ जिल्लामा गरिने चिया खेतीबाट वार्षिक २ करोड ८० लाख किलोभन्दा बढी तयारी चिया उत्पादन हुने गरेकोमा २ करोड २० लाख किलो सीटीसी चिया उत्पादन हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका निमित्त प्रमुख सुमन त्रिखत्रीले जानकारी दिए ।
झापामा मात्र वार्षिक १ करोड ५६ लाख किलोभन्दा बढी तयारी सीटीसी चिया उत्पादन हुने गरेको र उत्पादित सीटीसी चियामध्ये ६० प्रतिशत भारत निकासी हुने गरेको तथा ४० प्रतिशत मात्र आन्तरिक बजारमा खपत हुने गरेको उनले जानकारी दिए ।