थाइल्याण्डबाट बौद्धमार्गी पर्यटक बढाउन पहल «

थाइल्याण्डबाट बौद्धमार्गी पर्यटक बढाउन पहल

सामान्य अवस्थामा वार्षिक करिब ५० हजार पर्यटकले नेपाल भ्रमण गर्ने गरेकोमा कोभिड महामारीपछि यो संख्या ह्वात्तै घटेपछि थाई पर्यटक आकर्षित गर्न पर्यटन व्यवसायीहरु लागिपरेका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको पहलमा आयोजित ‘बैंकक नेपाल सेल्स मिसन २०२२’ मा नेपालका ११ वटा कम्पनीले सहभागिता जनाएका छन् । थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरलगायत करिब ८० जना सरोकारवालाको मिसनमा सहभागिता थियो ।
बौद्ध धर्मावलम्बी बढी भएकाले थाइल्याण्डका पर्यटकलाई नेपालको लुम्बिनीमा आकर्षित गर्नको लागि थाइल्याडमा नेपालको प्रचारप्रसार गरिएको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख दीपकराज जोशीले बताए । नेपाल सेल्स मिसनले मूलत: पछिल्लो समय कोभिड–१९ कारण पर्यटक आगमनदरमा भएको गिरावटलाई पूर्ति गरेर दुई मित्र राष्ट्र नेपाल र थाइल्याण्डबीचको पर्यटन आदानप्रदानलाई प्रवद्र्धन गर्न नेपाली पक्षको जोड थियो ।
सार्वजनिक तथा निजी क्षेत्रका सबै सरोकारवालाहरुलाई पर्यटन क्षेत्रको पुनरुत्थान तथा दिगो विकासका लागि हातेमालो गरेर अगाडि बढ्न नेपाली पक्षले थाइल्याण्डका पर्यटन व्यवसायीहरुसँग आग्रह गरेको छ । थाइल्याण्डका टुर अपरेटरहरु पर्यटन व्यवसायीहरुलाई नेपाल सेल्स मिसनले नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र यसले थाइल्याण्डबाट सिधा गौतम बुद्ध विमानस्थलमा उडान भर्ने बाटो खुलेकाले हवाई विस्तारमा जोड दिनसमेत अनुरोध गरेको छ । पूर्वप्रमुख जोशीले थाई ट्राभल एजेन्टहरूले नेपालसँगको सहकार्यमा पर्यटकीय गतिविधि वृद्धि गर्न सकिने प्रस्तुति राखेका थिए । उनले नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी दिँदै जीवन्त अनुभव प्रदान गर्ने गन्तव्यको रूपमा नेपाल रहेको र भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनी बौद्ध धर्मावलम्बीहरुको लागि पवित्र स्थान भएकाले भ्रमण गर्न आग्रह गरेका थिए । सो अवसरमा थाई ट्राभल एजेन्ट्स एसोसिएसनका उपाध्यक्ष शिवेक सचदेवले नेपालको दिगो र वातावरण मैत्री पहलको प्रशंसा गर्दै आफ्नो थाई पर्यटन समुदायलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेका थिए । सन् २०१७ मा ४० हजार, २०१६ मा २६ हजार र सन् २०२१ मा करिब ६ सय थाई पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ ।
लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेले थाइल्याण्ड र नेपाललाई बौद्ध पर्यटनको माध्यमबाट जोड्नका लागि लुम्बिनी, कपिलवस्तु र रामग्रामसँगै देवदह घुम्नका लागि बौद्ध यात्रुहरूलाई नेपालतर्फ आकर्षित गर्न माता मायादेवीको जन्मस्थल थप एउटा रोचक गन्तव्यको रूपमा विकास गर्न सकिने बताए । लुम्बिनी, कपिलवस्तु र नेपालका अन्य बौद्ध स्थलहरूमा पर्यटकलाई आकर्षित गर्न भारतको बुद्धको जीवनका अन्य बौद्ध उच्च गन्तव्यहरू जस्तै बोधगया, सारनाथ र कुशीनगरको स्तरमा आकर्षित गर्न सकिने उनले बताए ।
नेपालको बौद्ध स्थलहरूमा थप पर्यटकहरू आकर्षित गर्न बुद्धको जीवनसँग जोडिएका ४ महत्वपूर्ण जन्मस्थलहरूको भ्रमण गरेर जीवनभरको परम बौद्ध आध्यात्मिक अनुभव दिन धेरै नयाँ र आकर्षक कार्यक्रमहरू सिर्जना गर्न सकिने जनाइएको छ । पहिलो लुम्बिनी– सिद्धार्थ गौतम बुद्धको जन्मस्थल, दोश्रो गोटिहवा– क्रकुचन्द बुद्धको जन्मस्थल, तेश्रो निग्लीहवा– कनकमुनि बुद्धको जन्मस्थल र देवदह– माता मायादेवीको जन्मस्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने पाँडेको भनाइ थियो । नेपाललाई सिद्धार्थ गौतम, शाक्यमुनि बुद्ध, क्रकुचन्द बुद्ध र कनकमुनि बुद्धको भूमि पनि मानिन्छ ।
यसबाहेक लुम्बिनीदेखि कपिलवस्तु जाने माता मायादेवी प्रसूति मार्गमा पवित्र पदयात्रा र शान्ति पदयात्रामा सहभागी भएर जीवनभरको अनुभव लिन विश्व पर्यटकलाई लुम्बिनी कपिलवस्तु घुम्न आकर्षित गर्न सकिने बताइन्छ । कपिलवस्तुदेखि लुम्बिनीसम्मको लुम्बिनी शान्ति म्याराथन बुद्धको जीवनीमा चल्ने विश्वको पहिलो र एकमात्र आध्यात्मिक खेलकुद म्याराथन हो । स्वयम्भू स्तुपदेखि प्राचिन कपिलवस्तुको तिलौराकोटको शाक्यमुनि दरबारसम्म काठमाडौंको नेवा सभ्यतालाई जोड्ने माउन्टेन बाइक टुर आध्यात्मिक साहसिक कार्य पनि विकास गरेका छन् । महात्याग अर्को महत्वपूर्ण कार्यक्रम हो जुन हरेक वर्ष जुलाई महिनाको पूर्णिमाको दिन तिरौलाकोट दरबारमा हुन्छ । बुद्धको रूपमा प्रबुद्ध भइसकेपछि बुद्धको पहिलो स्वदेश फर्किनुभएको दिनमा कुदानमा एउटा कार्यक्रम मनाइँदै आएको छ, जहाँ बुद्धले महल विलासी जीवन त्यागेर आफ्नो बुबालाई पहिलो पटक भेटेका थिए ।
पाटा नेपाल च्याप्टरले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एसोसिएसनको सहयोगमा विदेशी स्रोतबजारमा गएर पहिलो पर्यटन प्रवद्र्धधन कार्यक्रम आयोजना गरेको हो । पाटा नेपाल च्याप्टरका पदाधिकारी र सदस्यहरुसहित २० जना पर्यटन व्यवसायीको प्रतिनिधिमण्डलले अगस्ट २ देखि ४ सम्म थाइल्याण्डको सोङखलामा आयोजना हुने छैठौं पाटा डेस्टिनेसन मार्केटिङ फोरममा समेत सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्