Logo

डोजर प्रयोग गरेर रातारात काठ तस्करी

गुल्मीमा डोजरको प्रयोगबाट रातारात जंगल फडानी गरेर काठ तस्करी गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाबाट रातारात डोजरकै प्रयोगबाट जंगल फडानी गरेर काठ तस्करी गरिएको हो ।
छत्रकोट गाउँपालिकाको वडा नम्बर ३ छत्रदेवी हरियाली सामुदायिक वनबाट केही दिनअघि रातको समयमा डोजरले सल्लाका रुख ढलाएर तस्करी गरेको फेला परेको स्थानीय कृष्ण टण्डनले जानकारी दिए । “रुख ढलाएर गोलिया बनाएर तस्कर गरेको भेटियो,” स्थानीय टण्डनले भने, “२२ भन्दा बढी सल्लाका रूख डोजरको प्रयोगबाट फडानी गरेर लगिएको छ ।” उनका अनुसार स्थानीय भेडुवा बजारबाट राममन्दिर जाने बाटोमा पर्ने सामुदायिक बनका सल्ला ढालेर काठ तस्कर गरिएको हो ।
केही दिनअघि काठ तस्कर भएको जानकारी समितिलाई भए पनि समितिका पदाधिकारीले स्थानीयको दबाबपछि मात्रै ढिलो गरेर काठ तस्करबारे चासो लिएका छन् । छत्रदेवी हरियाली सामुदायिक वनका सचिव विष्णुप्रसाद पन्त आफूलाई रूख काटेको अर्को दिन जानकारी भए पनि कार्यव्यस्तताले चार दिनपछि मात्र जंगलमा पुगेको बताए । उनले वनका रूख कसले र किन काटेको भन्नेबारे केही जानकारी नभएको प्रतिक्रिया दिएका छन् । छत्रदेवी हरियाली सामुदायिक वनले डिभिजन वन कार्यालयलाई काठ तस्करीको जानकारी गराएको सचिव पन्तले बताए ।
स्थानीयले रातमा डोजर लगाएको देखेर खबर गरेपछि पनि समितिले वास्था नगर्दा कतिपयले मिलेमतोको आशंका गरेका छन् । डिभिजन वन कार्यालय तम्घास गुल्मीका प्रमुख प्रभात सापकोटाले आफूहरूको तर्फबाट छानबिन सुरु भएको बताएका छन् । यसअघि गाउँपालिकाले उक्त जग्गा माग गर्दा कार्यालयले मिल्दैन भनेर जवाफ दिएको थियो । तर, गाउँपालिकाले आफूहरूले स्वीकृत नपाएकाले प्रक्रिया अगाडि नबढाएको जनाएको छ । छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले वन फँडानी गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्