१२ मेगावाट दोर्दी–१ जलविद्युत आयोजना सम्पन्न «

१२ मेगावाट दोर्दी–१ जलविद्युत आयोजना सम्पन्न

लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित १२ मेगावाट सो आयोजनाको निर्माण कार्य सम्पन्न भई परीक्षणसमेत सकिएको हो ।
आयोजनाको निर्माण कार्य सम्पन्न भए पनि विद्युत प्रसारणलाइन नहुँदा विद्युत उत्पादन हुन नपाएको प्रवद्र्धक कम्पनीले जनाएको छ । हाल व्यावसायिक विद्युत उत्पादनका निम्ति प्रसारण लाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए ।
यसअघि २०७६ चैत महिनामा सक्ने भनिएको सो आयोजना दोर्दी खोलामा आएको बाढी र कोभिड–१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्बिएको हो । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रसारणलाइन पनि आयोजना आफैले निर्माण गरिसकेको छ ।
विद्युत उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसारणलाइन मार्फत कीर्तिपुर सबस्टेशनमा जोडिएको छ । तर गत वर्षको बाढीका कारण प्रसारणलाइन पुन: निर्माण नहुँदा आयोजनाले विद्युत उत्पादन गर्न नपाएको हो । तत्कालका लागि मस्र्याङ्दी करिडोरअन्तर्गतको २२० केभी प्रसारणलाइन अन्तर्गत उदिपुर सबस्टेसनमा जोड्ने तयारी गरे पनि सो प्रसारणलाइन पनि निर्माण सम्पन्न नभएकाले आयोजनाले विद्युत उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले बताए ।
दोर्डी–१ जलविद्युत आयोजना १२ मेगावाट उत्पादन क्षमताको रन अफ रिभर जलविद्युत आयोजना हो । प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १०.३ मेगावाट विद्युत खरिद सम्झौता गरेको छ । पीपीएमा सहमतिअनुसार सुख्खा याम पुस देखि ८ चैतसम्म ८ रुपैयाँ ४० पैसा र बाँकी समय हिउँदमा चार रुपैया ८० पैसा खरिद मूल्य कायम भएको छ । पीपीए दर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।
२०७४ सालबाट सुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्चको अनुमान गरिएको छ । आयोजनामा सानिमा बैकको अगुवाइमा पाँचवटा बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्