पर्वतमा गत आवमा १४ वटा झोलुंगे पुल निर्माण «

पर्वतमा गत आवमा १४ वटा झोलुंगे पुल निर्माण

नेपालकै अग्ला र लामा पुल तथा शाहसिक पर्यटकीय पूर्वाधारले ख्याती कमाउँदै गएको पर्वतमा गत आर्थिक वर्ष २०७८/०७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन् ।
जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण भएका हुन् । झोलुंगे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिकी सहज बनेको छ । खासगरी वर्षायाममा बढेका खोला वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य भएको पाइएको छ । पर्वतका चार पालिकामा गरी १४ वटा पुल निर्माण भएका हुन् । कुश्मा नगरपालिकाभित्र तीन, मोदीमा दुई, महाशिलामा दुई, विहादीमा एक र पैंयु गाउँपालिकामा ६ वटा पुल निर्माण भएका हुन् ।
गत आर्थिक वर्षमा निर्माण भएका पुलहरूमा कुश्मा नगरपालिका–२ खुर्कोटस्थित खहरे खोला झोलुंगे पुल, कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चिन्नेखोला झोलुंगे पुल, कुश्मा नगरपालिका–३ दुर्लुङ्गमा बडहरेघाट झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेमा भुरुङ्दीखोला लांघाली झोलुंगे पुल र वडा नं. ७ मा जहरेखोला झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । यसैगरी महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा थापाथर झोलुंगे पुल निर्माण भएको छ भने वडा नं. ३ वालाकोटमा गंगाधर गुफा झोलुंगे पुल निर्माण सम्पन्न भएको पुल निर्माणकर्ता संस्था खुर्कोट युवा क्लबले जनाएको छ ।
यसैगरी विहादी गाउँपालिका–६ शालिग्राममा सेतीवेनी स्टिल ट्रस निर्माण गरिएको छ । यता पैंयु गाउँपालिका–५ मा डुडेघाट झोलुंगे पुल, वडा नं. ५ मै काभ्राभञ्ज्याङ स्टिल ट्रस, पैंयु वडा नं. ४ हुवासमा चिसापनी स्टिल ट्रस, वडा नं. ७ मा अर्थुन–बेउलीवास झोलुंगे पुल, वडा नं. ६ मा कटुवाघाट झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । त्यसैगरी घाङ्गरे झोलुंगे पुल निर्माणाधीन अवस्थामा रहेको क्लबले जनाएको छ ।
निर्माण भएका झोलुंगे पुलहरू आठवटा इन्प्रेड नेपालको सहजीकरण र बाँकी खुर्कोट युवा क्लबको सहजीकरणमा निर्माण भएका हुन् । निर्माण सम्पन्न भएका १४ वटा झोलुंगे पुल श्रमदानसहित चार करोड ८१ लाख आठ हजार ३ सय ५५ रुपैयाँको लगानीमा सम्पन्न भएको खुर्कोट युवा क्लबका कार्यक्रम अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार उपभोक्ता समितिले नौ लाख ६२ हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।
खुर्कोट युवा क्लब र इन्प्रेड नेपालले सामाजिक तथा प्राविधिक सहयोग गरेका हुन् । झोलुंगे पुल क्षेत्रगत कार्यक्रम (एसडब्लूएपी) को ८५ प्रतिशत, सम्बन्धित स्थानीय तहको १३ प्रतिशत र २ प्रतिशत श्रमदानमा पुल निर्माण भएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्