Logo

बेनी–जोमसोम–कोरला सडक आयोजनामा ६ अर्ब खर्च

उत्तर/दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामा पाँच अर्ब ८४ करोड बजेट खर्च भएको छ । उत्तरी चीनकोे कोरला नाकासम्मको सडक पहुँचमार्ग विस्तार गर्न आयोजनाले सडक तथा पुलमा उक्त बजेट खर्चिएको जनाएको छ । आयोजनाको हालसम्म कुललागत स्टमेट १० अर्ब ३५ करोड रहेकोमा सात अर्ब ५५ करोड लागतमा विभिन्न निर्माण कम्पनीसँंग ठेक्का सम्झौता भएको थियो । आयोजनाको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ ।
आयोजनाले सडकतर्फ ६ अर्ब ३१ करोड बजेटको ठेक्का सम्झौता गरेकोमा पाँच अर्ब दुई करोड र पुलतर्फ एक अर्ब २४ करोड बजेटको ठेक्का सम्झौता गरेकोमा ८२ करोड वित्तीय खर्च भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए । उनकाअनुसार सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले हालसम्म ठेक्का सम्झौता गरेको कुल बजेटमध्ये अझै एक अर्ब ७१ करोड बजेट बराबरको काम हुन बाँकी रहेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनालाई एक अर्ब ३८ करोड ७६ लाख बजेट विनियोजन गरेको छ ।
उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । पछिल्लो समय गौरवको सडकअन्तर्गत मालढुंगा–बेनी १३ किमि र जोमसोम–कागबेनी १३ किमि सडक कालोपत्रे योजना थपिएको हो । यस्तै, यसअघि बेनी–गलेश्वर ४ किमि सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालय म्याग्दीले लिएकोमा सो सडक पनि अहिले कालिगण्डकी करिडोरलाई जिम्मेवारी हस्तान्तरण भइसकेको छ ।
राष्ट्रिय गौरवको सुरुवाति बेनी–जोमसोम ७४ किमि सडकको कुल लागत तीन अर्ब ४३ करोड रहेकोमा दुई अर्ब ८० करोड बजेटमा ठेक्का सम्झौता भएको थियो । बेनी–जोमसोम ४ खण्डमा काम भइरहेकोमा ठेक्का सम्झौता रकमको दुई अर्ब २० करोड बजेट खर्च भईसकेको आयोजनाले जनाएको छ । बेनी–जोमसोम ७४ किमि कालोपत्रे सडकको भौतिक प्रगति ७५ प्रतिशत छ भने वित्तीय प्रगति ७० प्रतिशत छ । जसअन्तर्गत बेनी–जोमसोम ७४ किमि सडकमध्ये हालसम्म २६ किमि सडकमा कालोपत्रे विस्तार भइसकेको छ ।
राष्ट्रिय गौरवको जोमसोम–कोरला सडक अहिले निर्माणको अन्तिम चरणमा छ । जोमसोम–कोरला ११० किमि सडकको सात खण्डमध्ये ६ वटा खण्डको काम निर्माण सम्पन्न भई कालिगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ भने चराङ–छोसेर २५ किमि सडकको भौतिक प्रगति ९० प्रतिशत रहेको छ । चराङ–छोसेर २५ किमि सडक चालू आर्थिक वर्षभित्र सकिने उनले बताए । योसँंगै जोमसोम–कोरला सातवटै खण्डको ग्राभेल सडकको काम सकिने आयोजना प्रमुख प्रजापतिले उल्लेख गरे । जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगति ९८ प्रतिशत रहेको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्