भाषा र सीप उत्तीर्ण युवा जापान जाँदै «

भाषा र सीप उत्तीर्ण युवा जापान जाँदै

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली युवा छिटै जापान जान पाउने भएका छन् । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लु) प्रणाली मार्फत जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
यसअघि सन् २०१९ मार्चमा एसएसईएफ प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।
नेपालीलाई रोजगारीका लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्न एक कार्यसमिति बनेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य रहेका छन् । त्यस्तै, जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा समिति बनेको छ ।
उनीहरुबीच बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत् छलफल गरी मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्