चीनसँगका दुवै नाकाबाट एकतर्फी व्यापार «

चीनसँगका दुवै नाकाबाट एकतर्फी व्यापार

नेपालले गत आर्थिक वर्षमा उत्तरी छिमेकी देश चीनसँगको व्यापारमा मात्र २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँँभन्दा बढीको व्यापारघाटा बेहोरेको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ९० करोड रुपैयाँको व्यापारघाटा बेहोरेकोमा गत आर्थिक वर्षमा ३१ अर्ब मात्रले व्यापारघाटा बढे पनि निकासी व्यापारको अवस्था भने दयनीय देखिन्छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले आव २०७७/०७८ मा चीनतर्फ १ अर्ब १ करोड ६० लाख रुपैयाँको वस्तु निकासी गरेकोमा गत आवमा भने ८० करोड ८७ लाख ५४ हजार रुपैयाँ मात्रैको निकासी भएको छ । यसरी एक वर्षमा आयात ३१ अर्बले बढे पनि निर्यात भने २१ करोडले कमी आएको छ ।
चीनतर्फका दुवै नाका रसुवागढी र तातोपानीबाट गत आर्थिक वर्षमा निर्यात शून्य रहेको छ । विभागका अनुसार दुवै नाकाबाट आयात उच्च रहे पनि निर्यात भने शून्य रहेको तथ्यांक छ । अघिल्लो आवमा पनि दुवै नाकाबाट एकतर्फी व्यापार भएको तर निकासी भने नभएको विभागको तथ्यांकमा उल्लेख छ । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट गत आवमा १४ अर्ब २ करोड ३७ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको छ भने रसुवाको रसुवागढी नाकाबाट २६ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
चीनबाट गत आवमा २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपैयाँ बराबरको सामग्री आयात भएकोमा २ खर्ब २४ अर्ब रुपैयाँ बराबरको सामग्री कोलकाता बन्दरगाह तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै भित्रिएको छ ।
कमजोर भन्सार पूर्वाधारका कारण चीनसँगको व्यापारमा नेपालले अपेक्षित लाभ पाउन नसकेको व्यवसायीहरुको भनाइ छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ चीनसँगको व्यापारमा कमी आउनुमा प्राकृतिक कारण देखाइए पनि यसमा कूटनीतिक कमजोरी पनि रहेको बताउँछन् । “हाम्रा समस्या के हुन् भन्ने सरकारमा बस्ने सबैलाई थाहा छ, तर समाधान किन भइरहेको छैन भने यो प्राकृतिकभन्दा कूटनीतिक विषय बनिसकेको छ,” उनी भन्छन् । चीनमा निर्यात व्यापारको असीमित सम्भावना रहे पनि नेपालले लाभ पाउन नसक्नुको कारण कूटनीतिक कमजोरी नै भएको उनको भनाइ छ ।

कोलकता हुँदै चीन पुग्छ सामान
नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका तातोपानी भूकम्पयता सुनसान छ । सो नाकाबाट हाल दैनिक ५ ट्रक सामानसमेत भित्रिन सकेको छैन भने निकासी शून्य छ । वैकल्पिक नाकाको रुपमा उपयोग हुँदै आएको केरुङको अवस्था पनि लगभग उस्तै छ । वर्षमा करिब ६ महिना यो नाका बन्द हुँदै आएको छ र नेपाली व्यापारीले चिनियाँ सामान कोलकाता नाका हुँदै भित्र्याउनुपर्ने अवस्था रहेको छ । चीनसँग व्यापार गर्ने व्यवसायीहरु यसलाई चीनको अघोषित नाकाबन्दीकै रुपमा लिन्छन् । कोभिडअघि चीनको व्यापारिक सहर सांघाई लगायतका क्षेत्रमा बसेर व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु अझै कार्यस्थल फर्कन नसकेको नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष सुरेन्द्रभाइ शाक्य बताउँछन् । उनका अनुसार नेपाली हस्तकलाको ठूलो बजार चीन रहे पनि कोभिडयता निकासी ठप्प अवस्थामा छ ।

हाइलाइट्स
– दुई नाकाबाट निर्यात शून्य, आयात ४० अर्बभन्दा बढी
– चीनसँगको कुल व्यापारघाटा २ खर्ब ६३ अर्ब रुपैयाँ
– निर्यात व्यापार १ अर्ब पनि पुगेन, ८० करोडमै सीमित

प्रतिक्रिया दिनुहोस्