Logo

फोहोर व्यवस्थापन निकाय कमजोर

पछिल्लो समय काठमाडौं उपत्यकामा फोहोरको डङ्गुर थुप्रिएर कुरूप नै बनेको छ । तर, यसको समाधानको उपाय भने निकै फितलो देखिन्छ । गत वैशाख ३० गते भएको दोस्रो चरणको स्थानीय चुनावमा स्वतन्त्रबाट मेयर बालेन्द्र शाह निर्वाचित भए । उनले पहिले आफ्नो चुनावी घोषणामा भनेका थिए, चुनाव जिते आफ्नो पहिलो काम भनेको काठमाडौंलाई फोहोर मुक्त बनाउने । चुनाव आउनुभन्दा अगाडिदेखि थुप्रिएको फोहोरलाई व्यवस्थापन गर्नु उनको प्रमुख चुनौती थियो । नभन्दै नयाँ मेयरमा बालेन्द्र शाह र उपमेयरमा सुनिता डङ्गोल निर्वाचित भए । उहाँहरू निर्वाचित भएपछि सुरुमा काठमाडौं उपत्यकाको फोहोर विसर्जनको केन्द्र मानिने नुवाकोटको सिसडोल ल्यान्डफिल साइट गए । त्यहाँ गएपछि मेयरसा’ब र उपमेयरका आँखाअगाडि त वर्षौंदेखिको सिसडोलबासीको आन्दोलनका माग पो तेर्सिए । यहाँ त वर्षौंदेखि फोहोरमा राजनीति भएको रहेछ । सरकारले स्वास्थ्यजस्तो संवेदनशील विषयलाई लात हानेर सिसडोलवासीको स्वास्थ्यमा पो राजनीति गरिरहेको रहेछ । दैनिक हजारौं टन फोहोर काठमाडौंं उपत्यकाबाट त्यहाँ जम्मा हुँदा त्यस ठाउँका नागरिकको स्वास्थ्यमा खेलबाड भएको पाइन्छ । जताततै फोहोरका जीवाणुले गर्दा पानी दूषित भएर मानिसहरूमा विभिन्न पानीजन्य रोग लागेको छ । वरपरको वातावरण पनि निकै दूषित बनेको छ ।
वर्षौंदेखिको सिसडोलवासीको फोहोर व्यवस्थापनको विषयमा, मुआब्जाको विषयमा सरकारका तर्फबाट तिथिमिति सारी कुनै माग सम्बोधन हुन नसकेको स्थानीयहरूको गुनासो छ । माग सम्बोधन हुन सकेको छैन । असार मसान्तभित्र स्थानीयवासीको माग सम्बोधन नभए साउन १ गतेबाट काठमाडौंबाट आएका फोहोर विसर्जन गर्न नदिने चेतावनी पनि स्थानीयले दिएका थिए । यता काठमाडौंमा भने गएको महिना फोहोर ठाउँ–ठाउँबाट केही उठे पनि अहिले फेरि काठमाडौंका चोक–चोकमा उस्तै हालत देखिन थालेको छ । केही दिनअघि मात्रै काठमाडौंमा अमेरिकी विदेशमन्त्री आएर बत्तीसपुतलीस्थित द्वारिका होटलमा जाँदा होटलकै अगाडि फोहोरका डङ्गुर थियो । यसले काठमाडौंको सन्देश कस्तो जाला ? त्यस्तैगरी गत महिना मात्रै काठमाडौंको नक्सालस्थित सन्तोषी माता अर्थात् नागपोखरीअगाडि फोहोरको डङ्गुर थियो, यसले बाहिरी रूपमा सन्देश कस्तो जाला ? सरकारले फोहोर विसर्जनमा काठमाडौंं, भक्तपुर अनि ललितपुरका प्रमुखहरूसँग बसेर समस्याको समाधानका लागि वैकल्पिक मार्गको रूपमा छलफल अगाडि बढाएको होला, तर कति दिनसम्म आममानिसले फोहोरको सास्ती भोगिरहने ? तत्कालका लागि फोहोर व्यवस्थापनका वैकल्पिक उपायहरू अपनाउनु पर्दैन ?
राज्यको ठूलाठूला अंगमा बसेका राज्य सञ्चालक मान्यज्यूहरू नै दैनिक यहाँको बाटो ओहोरदोहोर गर्छन् । सडकमा फोहोरको डङ्गुर देख्दा अलिकति पनि आत्मग्लानि महसुुस हँुदैन ? विकास निर्माणका, मुलुक परिवर्तनका ठूलाठूला कुरा गर्ने राजनीतिकर्मीहरू नै यति सानो फोहोरको समस्या समाधान गर्न किन सक्दैनन् ? अनि जनताले कसरी नेताहरूलाई पत्याउँछन् ? जुन जोगी आए पनि कानै चिरेको जस्तो । अब यही अवस्था लामो समयसम्म आउने हो भने श्रीलंकामा राष्ट्रपति भवनभित्र जनता जसरी पसे, त्यसैगरी हाम्रो नेपालमा पनि भ्रष्टाचारी नेताहरूलाई जनताले नै ठेगान लगाउन बेर लाग्दैन । यथाशीघ्र चाँडो वर्षौंदेखिको सिसडोलवासीको माग सम्बोधन गरी फोहोर विसर्जन गर्नका लागि सहज वातावरणमा जानुपर्ने आजको आवश्यकता देखिन्छ भने तत्कालका लागि फोहोर उठाउने विभिन्न कम्पनीहरूले पनि फोहोरको उचित व्यवस्थापन नहुन्जेलसम्म जमिन भाडामा लिएर भए पनि फोहोरको विसर्जन गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्