Logo

लुम्बिनी प्रदेशको गौरव आयोजना अलपत्र

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ ।
पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो । दुई वर्षमा सक्नेगरीे सिद्धबाबा सडकको विकल्पको रूपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयको गुनासो छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना सडक खन्दा, चुरेमा सडक बनाउने तरिका नमिल्दा र टुक्रे बजेट विनियोजन हुँदा लुम्बिनी प्रदेश सरकारले सडक निर्माणको कामलाई गति दिन नसकेको स्थानीको भनाइ छ । लुम्ेिबेनी प्रदेश सरकारको गौरव आयोजनाअन्तर्गत रहेको यो सडकका लागि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश स्थापनाको पहिलो वर्षबाट नै बजेट विनियोजन गरेको भए पनि अहिले सो सडक अलपत्र बनेको छ । काम मन्द गतिमा चल्दा मृत्यु मार्गको रूपमा रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रले नागरिकलाई पिरोल्ने गरेको स्थानीय राजकुमारी विकले बताइन् । उनले वर्षेनी ढुंगासहितको पहिरोले जनधनको क्षति बेहोर्न बाध्य यात्रुलाई वैकल्पिक सडक सञ्चालन हुने भन्दा खुशी लागेको भए पनि पाँच वर्षको अवधिसम्म पनि सडक निर्माण पूरा नहुँदा दु:ख लागेको बताइन् । उनले सडक निर्माण पूरा गर्न नसक्दा कतिपय सवारी चालक र स्थानीयको ज्यान गएको बताइन् ।
अर्का स्थानीय गोविन्द विकले बाटो बनाउन थालेको पाँच वर्ष पूरा भए पनि काम नसकिएको बताए । उनले विभिन्न खोलामा मोटरेबल पुल बनिसकेको र पहाडको ठाउँ भएकोले माटो बगिरहेको बताए । त्यस्तै अर्का स्थानीय बाटोको सुधार भइरहे पनि लामो समयसम्म निर्माण पूरा नहुँदा स्थानीयले दु:ख पाएको बताए । उनले काममा सुधार देखिए पनि कहिलेसम्म निर्माण पूरा हुन्छ भन्ने कुराको स्पष्टता नरहेको उल्लेख गरे । उनले सडक खनेका कारण पहिरो जाने र जमिन भासिने गरेको बताए ।
सडक पूर्वाधार कार्यलय पाल्पाका अनुसार सडक निर्माणको क्रममा कमजोर भू–भागको आँकलन नगरिँदा वर्षेनी पहिरोको समस्या थपिँदै गएको छ । सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले चुरे क्षेत्र भएका कारण पहिरोको समस्या बढ्दै गइरहेकाले काम समयमै सकिन समस्या भइरहेको बताए । उनले सडक निर्माणमा पहिरो बाधक भएकाले पहिरोको समाधान अहिलेसम्म नपाइएको बताए ।
भूगोलको विषयमा सम्भाव्यता अध्यनबिना चुरे पहाडमा निर्माण थालिनु, मेसिनको प्रयोग हुनुजस्ता कारणले सरकारको लगानीले सार्थकता पाउनसक्ने अवस्था कम रहेको स्थानीयको गुनासो छ । चुरे आफैंमा कमजोर पहाड भएकाले कमजोर पहाडमा ठूला मेसिनको प्रयोग गरी सडक निर्माण भएपछि यस क्षेत्रको वन जंगलमात्र नभई मानवीय बस्तीसम्म पहिरोको उच्च जोखिममा परेको छ । यस खण्डको झन्डै १० किलोमिटर कमजोर भू–भागका कारण पहिरोको उच्च जोखिम छ । जोखिमयुक्त सडकको वैकल्पिक सडक भनिए पनि पर्याप्त अध्ययन बिना नै सडक निर्माण थालिँदा अहिलेको अवस्था सिर्जन भएको स्थानीयहरु बताउँछन् । जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न ३० करोड बढी रकम खर्चिएको छ । वि.सं २०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपैयाँ छुट्टयाएको थियो । त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपैयाँसम्म विनियोजन गरेको थिए । जिल्ला समन्वय समिति पाल्पाले ट्रयाक खोल्ने बेलामा नै एक करोड छुट्टयाएको थियो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा यो सडकका लागि पुन: सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्