औद्योगिक क्षेत्रमा बढाएको भाडा फिर्ता गर्न माग «

औद्योगिक क्षेत्रमा बढाएको भाडा फिर्ता गर्न माग

नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगको बढाइएको जग्गा भाडा तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।
परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र उद्योग सचिव अर्जनप्रसाद पोखरेलसँग भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा फिर्ता गर्न र दीर्घकालिन रुपमा समस्या समाधान गर्न आग्रह गरेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत मंसिर ५ गतेको बैठकले सरोकारवालाको असहमति हुँदा हुँदै १ साउन २०७५ देखि लागु हुने गरी अधिकतम ६८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्तृत अध्ययन मन्त्रालयले निर्देशन दिएको थियो ।
तर २२ असारमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पुन: १ साउन २०७५ देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ । उत्पादनमुलक उद्योगमा हुने लगानी नै प्रभावित हुने तथा निजी क्षेत्रलाई हतोत्साहित गर्ने गरी भएको यस प्रकारको निर्णय फिर्ता लिन परिसंघले आग्रह गरेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगमा रहेका उपकरणका आधारमा (भण्डारण रहेका समेत) विद्युतको डिमाण्ड चार्ज लिने, उद्योगलाई आवश्यक पानी उद्योग आफैंले वोरिङ गरी निकालेको पानीमा समेत मिटर जडान गरी शुल्क लिने तथा अवान्छित तवरले जग्गाको भाडा बढाउने लगायतका कार्य प्रति परिसंघले आपत्ति जनाएको छ । कोभिड–१९ बाट थलिएका उद्योगहरू उठ्न नपाउँदै ९८ देखि ६८७ प्रतिशतसम्मको भाडा वृद्धि उद्योगहरुले थेग्न नसक्ने परिसंघका कार्यवाहक अध्यक्ष अधिकारीले बताए । उनले छिटो समस्या समाधान गरी उद्योगलाई सहज रुपमा काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।
औद्योगिक विकास बिना मुलुकको आर्थिक विकास सम्भव नरहेको स्पष्ट बुझाइबाट सरकारको नीति तथा कार्यक्रम, बजेट तथा मौद्रिक नीतिबाट समेत उद्योग र उत्पादनमैत्री व्यवस्था कायम गर्ने नीति अवलम्बन गरेको हालको सरकारकै पालामा यसरी भाडा बढाइनुले आशंका उब्जिएको व्यवसायीको भनाइ छ । यस्तो निर्णयले सञ्चालनमा रहेका उद्योगहरू धरासायी हुने, उत्पादन र उद्योग क्षेत्रको प्रवद्र्धनबाट आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने मुलुकको सपना अपुरो हुने परिसंघले जनाएको छ ।
भेटमा मन्त्री बडूले भाडा वृद्धि सम्बन्धी विषयलाइ मन्त्रालयले उच्च प्राथमिकता राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्