बंगलादेशसँग नेपालको बराबरी «

बंगलादेशसँग नेपालको बराबरी

भारतमा जारी साफ यु–२० प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले बराबरी खेल्दै अंक बाँड्दा बंगलादेशको फाइनल यात्रा निश्चित भएको हो ।
यता नेपालको सम्भावना कमजोर भएको छ । चार खेलबाट १० अंक जोड्दै बंगलादेशले फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलमा ७ अंक जोड्न सक्यो । माल्दिभ्स र भारतबीचको खेलको नतिजामा नेपालको अघिल्लो चरणको यात्रा निर्भर हुनेछ । उक्त खेलमा भारत पराजित भएमात्रै नेपालले फाइनल यात्रा तय गर्नेछ । भारतले सुखद् नतिजा निकाल्दा नेपालको फाइनल पुग्ने अवसर गुम्नेछ ।
मंगलबार बंगलादेशबिरुद्ध शुरुवातदेखि नै आक्रामक देखिएको नेपालले गोलका केही राम्रा अवसर सिर्जना गरेपनि सदुपयोग गर्न असफल भएको थियो । प्रतिष्पर्धात्मक बनेको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुवातमै बंगलादेशी खेलाडीले नेपाली मिडफिल्डर क्रितिशरत्न छुन्जुमाथि फाउल गरेपछि सिर्जना भएको तनावपूर्ण अवस्थापछि नेपालका दुई तथा बंगलादेशका एक खेलाडीले रातो कार्ड पाएका थिए । नेपालका मैदानमा रहेका दिपेश गुरुङ तथा बेन्चमा रहेका रोहित सुब्बाले रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा दुबै टोलीले बाँकी समय दश खेलाडीमा खुम्चिनु परेको थियो ।
दबाबमा रहेको नेपाली टिमबिरुद्ध ६४ औं मिनेटमा अहमद नोभाले गोल गर्दै बंगलादेशलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको चार मिनेट नबित्दै नेपालका लागि निरञ्जन मल्लले गोल गरेपछि खेल बराबरीको अवस्थामा आएको थियो । बाँकी समयमा दुवै टिमले राम्रा अवसरको सिर्जना गरेपनि बलले गोलको दिशा लिन सकेन र खेल बराबरीमा सकिएको हो ।
च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् । राउण्ड रोबिन लिग प्रणालीमा आयोजना भएको प्रतियोगितामा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेलेको थियो । ४–० को जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–० तथा तेस्रो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो ।

बक्स
महिला फुटबल टोलीमा ३५ खेलाडी
साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा मुख्य प्रशिक्षका कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन् । नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि मंगलबार ५८ खेलाडीबाट ३५ खेलाडीको टोली बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा जारी प्रशिक्षणबाट प्रशिक्षक थापाले २३ खेलाडीलाई हटाएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल खेल्ने तालिका रहेको छ । भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाल समूह बी मा छ । नेपालसँगै समूह बी मा भुटान र श्रीलंका छन् । यस्तै समूह ए मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।
समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको पाँचांै संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो । उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनु परेको थियो । नेपालले पाँचमध्ये चार संस्करणको फाइनलमा स्थान बनाए पनि चारै पटक भारतसँग पराजित हुँदै आएको छ । भारतले पाँचवटै संस्करणको उपाधि जितेको छ । उता बंगलादेश चौथो संस्करणको उपविजेता हो ।

प्रतिक्रिया दिनुहोस्