घरमै बसी हस्तकलाबाट मासिक ३० हजारको आम्दानी «

घरमै बसी हस्तकलाबाट मासिक ३० हजारको आम्दानी

रामेछाप स्थायी घर भएको नखिपोट बस्दै आएकी प्रेमा सुनुवारले सुनुवारको पहिचान झल्काउने विभिन्न किसिमको ऊनबाट बन्ने सामग्रीहरू बुनेर मासिक १० हजारदेखि ३० हजार रुपैयाँसम्मको आम्दानी गर्छिन् ।
सुनुवारको पहिचान झल्काउनेमा महिलाको झुम्का थैली, सियो बोक्ने झुम्का, कम्बरी, चारअनी, आठअनी र पुरुषको कम्बरी र जालीरुमाल बुन्ने कार्य गर्छन् । आवश्यकताअनुसार पञ्जा, टोपी, टेबल, कम्प्युटर, टिभी छोप्ने जाली रुमाल, स्योइटर लगायतका विभिन्न ऊनबाट बन्ने सामग्रीहरू बुन्ने गर्छन् । घरमै बसी गरिने यस कार्यबाट सामान्य घरधन्दा चल्ने गरेको बताए ।
सुनुवारहरूको परम्परागत भेषभूषा बनाउन आवश्यक सामग्रीमा ऊनको धागो, गोल्डेन दाना, मोतीको दाना र ठूलो दाना असनबाट ल्याउने गरेको बताए । सुनुवारहरूको परम्परागत भेषभूषामा महिलाहरू गुन्यु, चोली, पटुकी, धागो, झुम्का थैली, कम्बरी, शिरफूल, ढुग्री बुलाकी, चेप्टे सुन र सियो बोक्ने झुम्का र पुरुषहरूको दौरा, सुरुवाल, ढाका टोपी, कम्बरी, जालिरुमाल छन् ।
महिलाको झुम्का थैली, सियो बोम्ने झुम्का र कम्बरीलाई ३ हजार, अर्डरअनुसार चारअनी आठअनी सेटको ८ हजारदेखि १० हजारसम्म, पुरुषको जालीरुमाल र कम्बरीको ५ हजार रुपैयाँमा बेच्ने गरेका छन् । विशेषगरी नेपालको इलाम, रामेछाप, झापा, पाँचथर, काँकटभित्ता र नेपालभन्दा बाहिर बेलायत, हङकङ, दार्जलिङबाट अर्डर आउने गरेको बताए ।
किरातीहरूको महान चाड साकेला उधौली र उभौली, मंसिर पूर्णिमाको दिनमा र वैशाख पूर्णिमाको दिनमा बनाउने गर्छन् । आफ्नो परम्परागत भेषभूषा लगाएर आफ्नो संस्कृति, रहनसहन, चालचलनअनुसार हातेमालो गरेर गीत गाउँदै नृत्य प्रस्तुत गर्दै सुनुवारहरूले महान चाड साकेला मनाउने गर्छन् । साकेला आउने केही समय अगाडि देखिको समयमा बढी अर्डर आउने गरेको बताए ।
२०५८ देखि घरमै बसेर सुरु गरेको यस हस्तकला कार्यमा मानिसहरूले विवाह, पास्नी, साँस्कृतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रमको समयमा लगाउन, उपहार दिनको लागि अर्डर गर्ने गर्छन् । पहिले महिलाको झुम्का थैली र सियो बोम्ने र चारअनी आठअनी मात्र थियो पछि आफैंले कम्बरी थपेर किरातीहरूको परम्परागत पहिरनलाई आकर्षित रूपले विस्तार गरेको प्रेमाले बताए ।
यशोदा सुनुवार

 

प्रतिक्रिया दिनुहोस्