ब्रोडब्यान्ड परियोजनामा शतप्रतिशत उपलब्धि «

ब्रोडब्यान्ड परियोजनामा शतप्रतिशत उपलब्धि

ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सरकारको कार्यक्रममा शतप्रतिशत उपलब्धि हासिल भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा सञ्चालित यो परियोजनाअन्तर्गत गत आर्थिक वर्षको अन्त्यसम्म शतप्रतिशत लक्ष्य हासिल भएको हो ।
प्राधिकरण प्रवक्ता सन्तोष पौडेलका अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमार्फत ७४ जिल्लाका तोकिएबमोजिमका स्थानहरूमा जडान कार्य सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको छ । “हालसम्म जडान कार्य सम्पन्न भई सञ्चालनमा रहेका साइटहरुको विवरण सार्वजनिक गरेका छौं,” प्रवक्ता पौडेलले भने, “यस आधारमा हामीले शतप्रतिशत लक्ष्य पूरा गरेका छौं ।”
प्राधिकरणका अनुसार सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण कार्य सम्पन्न भइसकेको छ भने ५ वटा परियोजनाको परामर्शदाताहरूबाट फेज टु अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको कार्य सम्पन्न भएको छ । यस्तै, ३ वटा परियोजनाको फेज थ्री अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको कार्य भइरहेको छ ।
प्राधिकरणले सम्झौता गरेका १८ प्याकेजमध्ये ७ सय ८ स्थानीय तहसहित ५ हजार ९ सय ३३ वडा कार्यालय र ५ हजार २ सय ९९ माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । यस्तै, सोही प्याकेजअन्तर्गत ४ हजार २ सय ३७ स्वास्थ्य संस्थामा पनि ब्रोडब्यान्ड सेवा पुगेको छ । “यसरी हामीले यो अवधिमा स्थानीय तह, वडा कार्यालय तथा माध्यमिक विद्यालय र स्वास्थ्य चौकी गरी कुल १६ हजार १ सय ७७ स्थानमा ब्रोडब्यान्ड सेवा जडान गर्न सफल भएका छौं,” प्राधिकरण प्रवक्ता पौडेलले भने, “यसका लागि नेपाल सरकारको नीति निर्देशनअनुसार ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरिएको छ ।”
प्राधिकरणले यो सेवा विस्तारका लागि इन्टरनेट सेवाप्रदायक कम्पनीहरु नेपाल टेलिकमसहित मर्कन्टाइल कम्युनिकेसन, सुबिसु केबलनेट, वल्र्डलिंक कम्युनिकेसन्स, भायनेट कम्युनिकेसन्स र टेकमाइन्ड्स नेटवर्कलाई छनोट गरेको थियो । यी कम्पनीमार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिएको हो ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी भूकम्पबाट अति प्रभावित ८ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी २ वर्षसम्मको लागि महशुलबापतको रकम उपलब्ध गराउने भएको छ । भूकम्प प्रभावित जिल्लाहरु काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालयहरु, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा यो सुविधा विस्तार हुनेछ । ती निकायको क्षमता अभिवृद्धि गर्न र जडान गर्न र सम्पूर्ण आधारभूत विद्यालयहरु गरी करिब ४ हजार २ सय ५१ स्थानहरुमा कम्तिमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
नि:शुल्क ब्रोडब्यान्ड जडान कार्यको लागि सम्बन्धित गाउँपालिका तथा नगरपालिकाहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरी कार्य अगाडि बढाइएको छ । भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरु र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तिमा २० एमबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्