साउन १५ मा खीर खानुको महत्व «

साउन १५ मा खीर खानुको महत्व

प्रत्येक वर्ष साउन १५ गते नेपाली परम्पराअनुसार खीर पकाएर खाने प्रचलन छ । त्यस दिन विशेष रूपमा खीर पकाएर खानुको कुनै धार्मिक महत्व नभए पनि हाम्रो देश कृषिप्रधान भएकाले नेपालमा यसको बेग्लै महत्व छ । खीर सम्झँदा नै सबैको जिब्रो रसाउँछ । घरमा पाहुना आउँदा तथा धार्मिक कार्य आयोजना गर्दा प्राय:ले खीर नै पकाउँछन्, किनकि छिटो पाक्ने र मीठो हुने हुनाले खीर सबैले रुचाउँछन् । झनै तिथि सराद अर्थात् धार्मिक कार्यहरूमा खीरलाई एकदम चोखो अर्थात् शुभ मानिने हुनाले शुभसाइतमा खीरको निकै ठूलो महत्व छ । पौराणिक मान्यताअनुसार त्रेतायुगमा दशरथका तीन महारानीले खीर खाएरै गर्भधारण गरेका थिए । त्यसैले विभिन्न पूजाआजा, हवनमा समेत खीर या पायसलाई अग्निमा चढाउने, पकाउने तथा खाने गरिन्छ । जसरी असार १५ मा रोपाइँ सकेपछि आलीको डिलमा बसी दही–चिउरा खाने गरिन्छ, त्यसरी नै साउन १५ मा कृषकहरूले तातो खीर खाएर उक्त दिनलाई पर्वस्वरूप मनाउँछन् ।
असारभरि पानी, हिलोमा खेल्दा सर्दी लाग्ने हुनाले साउन महिनामा तातो खीर खाँदा सर्दीबाट जोगिन सकिन्छ भन्ने विश्वास छ । यसका साथै बर्सातको समय भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले खीरमा प्रयोग गरिने चामलमा कार्बोहाइड्रेड, दूधमा प्रोटिन र अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्ने हुनाले थोरै मात्रामा खीर खाए पनि धेरै पोषण प्राप्त हुनुका साथै रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । यसका साथै खीरमा प्रयोग गरिने अन्य सामग्रीहरू जस्तै मरिचले कफ हटाउन मद्दत गर्छ भने नरिवललाई आयुर्वेदमा निकृष्ट फल मानिए पनि यसले शीतलता प्रदान गर्छ । दाख अग्निवद्र्धक भएकाले यसले पित्त नाश गर्ने क्षमता राख्छ भने केसरले बल प्रदान गर्छ, वर्ण चहकिलो पार्छ र पित्त नाश गर्छ । अहिलेको परिप्रेक्ष्यमा कृषकले मात्र नभएर सम्पूर्ण नेपालीहरूले नै खीर खाने प्रचलन बनिसकेको छ । नेपालमा मात्र नभई भारत र विदेशमा रहनुभएका नेपालीहरूले पनि उक्त दिन खीर खाएर पर्व मनाई सामाजिक सञ्जालभरि तस्बिर तथा भिडियो राख्ने गर्छन् । त्यसैले एक प्रकारले हेर्दा यो फेसन नै बनिसकेको छ ।
उक्त दिन घरमा मात्र नभई कार्यालयहरूमा समेत खीरका साथै अन्य परिकारहरूसमेत पकाएर खाने चलन बनिसकेको छ । यस्तो प्रचलन हुनु राम्रो पनि हो, किनकि जसले घरमा पकाएर खान समय पाएका हुँदैनन्, उनीहरूले कार्यालयमा गएर खाने अवसर पाएका हुन्छन् । त्यसैले उक्त दिन हामी आफ्ना साथीभाइ, आफन्तजनहरूलाई भेटघाट गरी एकापसमा रमाइलो गर्दै खीर खाने गर्छौं । उक्त दिन पसलका साथसाथै गाईभैंसी पाल्ने घरमा समेत दूध किन्न आउने मानिसहरूको घुइँचो लाग्छ भने पसलेहरूलाई पनि भ्याइनभ्याइ हुन्छ । खीर पकाउँदा हामी आफ्नो स्वादअनुसार सामग्रीहरू मिसाएर पकाउने गर्छांै । कसैलाई खीर सादा मन पर्छ भने कसैलाई मसलाहरू मिसाएर पकाएको मीठो लाग्छ । त्यसैले त्यस दिन पसलमा दूधका साथसाथै ताइचिन चामल, नरिवल, छोकडा, ड्राई फ्रुड्स र अन्य आवश्यक सामग्रीहरू किन्नेको भीड लाग्छ । अझै त्यस दिन भीडको कारण सामानहरू नपाइएला भनेर अगाडि नै बुकिङ गर्नेसमेत गर्छन् ।
यसरी मनाइने परम्पराले देशको आर्थिक पक्षमा राम्रो प्रभाव पार्छ । तर, खीर खाने चलन रामो भए पनि पछिल्लो समय यसमा विकृति पनि बढ्दै गएको छ । जस्तै खीर खाने निहुँमा मदिरा सेवन गर्ने, राति अबेरसम्म बसेर होहल्ला गरी अरूलाई अप्ठ्यारो पार्ने गर्छन् । त्यसैले परम्पराको आडमा यस्ता कुकर्म गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्