कोरोनाको उपचारका लागि तोकिए १७ अस्पताल «

कोरोनाको उपचारका लागि तोकिए १७ अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ संघ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन् ।
यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन् ।
यस्तै लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल रहेका छन् ।

बक्स
संक्रमित थपिने क्रम बढ्दो
देशभर सोमबार ८ सय ९५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने एक जनाको संक्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो ।
तीन हजार छ सय ८५ जनाले पिसिआर र दुई हजार दुई सय २४ सय जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ३३ हजार एक सय ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या चार हजार नौ सय ३४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ६८ पुगेको छ । होम आइसोलेसनमा चार हजार सात सय ९२, संस्थागत आइसोलेसनमा एक सय ४२, आइसियूमा ३६ र भेन्टिलेटरमा पाँच जना संक्रमित रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कास्की रहेको छ । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार आठ सय ७२ र ललितपुरमा पाँच सय ४३ र भक्तपुरमा ३० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्