Logo

माग सम्बोधन नगरेको भन्दै नायब सुब्बा आन्दोलित

सरकारकाले संघीय निजामती ऐनमा नायब सुब्बाका माग सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् ।
सोमबार सिंहदरबार सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित सबै सरकारी निकायका नायब सुब्बाहरूले आन्दोलन सुरु गरेका हुन् । नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामती ऐन राख्नुपर्ने उनीहरूको माग छ । नायब सुब्बाहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
त्यस्तै, नायब सुब्बाको मागलाई समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्नसमेत माग गरेका छन् । नायब सुब्बा बचाउ अभियन्ता नायब सुब्बा उत्तम कटुवालले प्रस्तावित संघीय निजामती ऐनमा नायब सुब्बाहरूको माग सम्बोधन नगर्दा अन्यायमा परेको बताए । उनले नायब सुब्बाका लागि ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको व्यवस्था हुनुपर्ने माग गरे पनि सरकारले माग सुनुवाइ नगरेको गुनासो गरे । नायब सुब्बाले राज्य सञ्चालनमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रश्तावित संघीय निजामती ऐनमा माग सम्बोधन नभए देशभर बृहत् आन्दोलन गर्ने बताए ।
नायब सुब्बाहरूले प्रस्तावित संघीयन ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न समयसीमा किटानका साथै सबै तहमा एउटै मितिबाट लागू हुनेगरी प्रत्येक पाँच वर्षमा एक तह वृद्धि हुनेगरी तहगत व्यवस्था राख्नुपर्ने माग छ । राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्