किसान समूह बनाएर काम गर्छौं

जोकोहीलाई पनि एउटा काममा हात हालेपछि अर्को नयाँ काम सुरु गर्दा अनेकन् समस्या आउँछन् । किनभने हरेक मानिस एउटा क्षेत्रमा मात्रै विज्ञ हुन सक्छ । त्यसैले पनि आफूले जानेको र बुझेको क्षेत्रबाहिर हात हाल्दा असफल भएका रेकर्ड धेरै छन् । तर, नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम वीरेन्द्रबहादुर बस्नेत भने एकपछि अर्को सफलताका साथ अघि बढेका छन् । अहिलेसम्मको कृषिकर्मले उनलाई खुसी र हौसला नै मिलेको छ । देशकै अग्रणी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले वर्षौंदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा एउटा प्रतिष्ठा र पहिचान कमाए । उनै बस्नेत धानमिल अर्थात् धान र खाद्य सुरक्षाको नयाँ क्षेत्रमा मोडिएका छन् । हुन त यो नयाँ क्षेत्र होइन, किनभने नेपालमा ६० प्रतिशत मानिस कृषि क्षेत्रमा नै आबद्ध भएको मानिन्छ । तसर्थ पनि उनका लागि यो बिल्कुलै नयाँ क्षेत्र र काम होइन । उनी आफूलाई कृषिका बारेमा धेरै ज्ञान पहिलादेखि नै रहेको बताए । कृषककै छोरो भएकाले यसमा भिज्न त्यति गाह्रो र नयाँजस्तो आफूलाई नलागेको उनको भनाइ छ । राज्यको समृद्धि विकासका लागि कृषि पेसालाई व्यवस्थित र उकास्नुबाहेक अर्को विकल्प नरहेको बुझाइका साथ उनी कृषि पेसाप्रति आइरहेको विकराल नैराश्यतालाई फालेर कृषि नै देशका लागि अपरिहार्य र महŒवपूर्ण पेसा बनाउने चाहना राख्दछन् । कृषिलाई निर्वाहमुखीबाट औद्योगीकरण वा व्यवसायीकरण गरिनुपर्ने भन्दै उनले बुद्ध एयरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत व्यावसायिक कृषिमा लगानी गरेका हुन् । २०६९ सालमा नेपाल कृषि कम्पनी स्थापना गरी बुद्धले मोरङका विभिन्न स्थानीय तहमा धान खेतीको व्यवसायीकरण र यान्त्रीकरणमा लगानी गरिरहेको बुद्धले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने तयारी गरेको छ । बुद्धले मोरङको बेलबारी नगरपालिकास्थित डाँगीहाटमा ‘आरजु राइस मिल’ स्थापना गरेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग धानमिल अर्थात् धान र खाद्य सुरक्षाको बारेमा गरेको कुराकानीको सार :
वर्षौंदेखि वायुसेवा क्षेत्रमा खटिएको व्यक्ति, धानचामल र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा कसरी मोडिनु भयो ?
यो जिन्दगीको फिलोसोफीसँग जोडिन्छ । किनभने कुन व्यक्तिले कुन काम गर्ने एउटा आफ्नो जीवनको फिलोसोफी के गर्न चाहन्छु, के गर्छु भन्ने विषयसँग जोडिएको हुन्छ । वायुसेवामा चुलो बाल्ने साधन हामीले सिर्जना गर्यौं । सफल नै छ र राष्ट्रिय उद्योगले राष्ट्रिय अर्थतन्त्रमा ठूलो सेवा पुर्याएको छ । योगदान पनि गरेको छ । त्यसमा दुई मत नै छैन । तर राज्यको समृद्धि के हामीले सफलतालाई स्थापित गर्न सक्छौं कि सक्दैनौं । एउटा कुरालाई हामीले सफलताका साथ पूरा गर्न सक्छौं कि सक्दैनौं । त्यसलाई अर्को गन्तव्य (ट्रान्जिट) मा लिएर जान सक्छौं कि सक्दैनौं भन्ने चेष्टा ठूलो कुरा हो जस्तो लाग्छ मलाई । हरेक एक व्यक्ति एउटा स्थानमा पुग्छ । त्यसले एउटा क्षेत्रमा योगदान गर्न सक्छ । उसले योगदान गर्नसक्ने कुरालाई सोच्नुपर्छ जस्तो लाग्छ । आखिरमा गएर हामी सबै माटोमा नै विलय हुने हो । माटोमा विलय हुनुभन्दा अगाडि समाज, देश र भावी सन्ततिका लागि केही योगदान गर्न सकिन्छ कि सकिँदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ जस्तो लाग्छ ।
धान नै किन रोज्नुभयो ?
धेरैवटा कारणले धान रोजेको हो । पहिलो कारण, बुद्ध एयरलाइन्स खोल्नुअगाडि धानमा परिचित, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हो । दोस्रो कुरा, नेपालको सफलता न्यायसंगत व्यवसाय के हुनसक्छ भन्दा त्यो कृषि नै हो । किनभन्दा अहिले पनि हामी कृषिप्रधान देश भनेर चिन्छौं । हाम्रो जमिन जति छ, त्यो कृषिका लागि न्यायसंगत रूपमा रहेको छ । दुई बिघा तीन बिघाको भू–स्वामित्व रहेको छ । त्यो भनेको त्यसको अवसर त्यसको सम्भाव्यता भनेको जति उत्पादन हुन्छ । धेरै मान्छेले त्यसबाट फाइदा लिन सक्छन् । त्यसलाई हामीले निर्वाहमुखीबाट औद्योगीकरण वा व्यवसायीकरण गर्यौं भने अझ राम्रो हुन्छ । त्यस्तै धान अनस्टेबल डाइट हो । हरेक नेपालीले वर्षमा सरदर १ सय ४० केजी खान्छौं । नेपालमा ५० अर्बको धान आयात गर्छौं । त्यो आयात हुने धानलाई रोक्न सक्यौं र आफैं आत्मनिर्भर हुन सक्यौं भने त्यसले सक्सेस स्टोरी क्रिएट गर्छ । त्यस कारण हामीले धानमिल नभएर किसानले धानको बीउ राखेदेखि उत्पादन गरेर उपभोक्ताले भात खाउन्जेलसम्मको जुन भ्यालुचेन हो । भ्यालुचेन हामीले सबैलाई ठीकसँग सञ्चालन गर्न सक्यौं, ठीकसँग डेलिभरी गर्न सक्यौं । न्यायोचित र कम खर्च कम आम्दानीलाई बढाउन सक्यौं भने सफलताको कथा हुनेछ । त्यसले हरेक नेपाली वा युवा पिढीलाई प्रोत्साहित गर्नेछ ।
नयाँ काम कसरी सुरु भयो र कसरी उपभोक्ताको चुलोसम्म आइपुग्छ, त्यसमा जोडिने अवयव, बजार व्यवस्थापन कसरी हुन्छ ?
अहिले नेपालमा धेरै मोटो धान उत्पादन हुन्छ । अधिकांश मोटो धान उत्पादन हुन्छ । किनभने मसिनो धानको बजार व्यवस्थित भएको छैन । मसिनो धानलाई मिलिङ गर्ने इक्युपमेन्टहरू नै हाम्रो देशमा छैन । मिलहरूको त्यो खालको इक्युपमेन्ट छैन । त्यसले गर्दा मोटो धान उत्पादन हुन्छ जसको चामलको मूल्य ४० देखि ५० रुपैयाँ हुन्छ । धानको मूल्य एकदमै थोरै हुन्छ । धानको मूल्य ठीक नहुने भएकाले हामी निर्वाहमुखी खेतीपातीबाट माथि उठ्न नै सकेका छैनौं । नेपालको सबैभन्दा धेरै उत्पादन र खेती हुने पनि धान नै हो । त्यसले गर्दा त्यो भिसेफ साइकललाई कसरी ब्रेक गर्ने भन्ने एउटा हाइफोथेसिस सिर्जना गर्नु अति जरुरी थियो । हामी करिब १५ वर्षदेखि हामी यसमा लागिरहेका छौं । युद्ध एयरको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत यसमा धेरैवटा काम र अनुभव गरिरहेका छौं । हामीले के बुझ्यौं भने एउटा स्टेटअफ आर्ट राइस स्थापनाका लागि लगानी गरेर सञ्चालन नगरी हामीले भिसेफ साइकल ब्रेक नै गर्न नसक्ने भयौं । किनभन्दा हामीले मसिनो धान पनि उत्पादन गरिरहेका छौं । किसानहरूले लङ्ग्रेन ६.५ एमएमको धानबाट चामल उत्पादन गरे खरिद गरिरहेका छौं । त्यो धान हामीले पाँच वर्षअगाडि नै किसानमाझ ल्याएका हौं । तर, त्यसको प्रिमियमको सट्टा रिटार्डेसन भयो । चलनचल्तीको भन्दा कम मूल्यमा किने मिलहरूले । किनकि त्यो धान मिलिङ गर्दा कुँडिन्थ्यो । कनिका बढी निस्किन्थ्यो । त्यस कारण एउटा स्टेटअफ आर्ट राइस स्थापना गर्नुपर्ने हाम्रो दायित्व भयो । त्यस कारण हामीले राइस मिल खोल्यौं । किसानहरूले धानको मूल्य राम्रो पाए मात्रै मोटिभेट हुन्छन् । हामीले चैते धानको न्यूनतम ७ सय ५० रुपैयाँ तोकेका छौं । जहाँ चलनचल्तीमा ६ रुपैयाँमा खरिद हुन्छ । खरिद भएको रकम ३ चार महिना लगाएर स्थानीय गल्लाहरूले स्थानीय किसानहरूलाई दिन्छन् । तर, त्यसमा हामीले धानको न्यूनतम ७ सय ५० रुपैयाँ मनको र २ दिनभित्रमा पेमेन्ट गरौं । जुन विगतको प्रक्रिया थियो त्यसको अन्त्य गर्यौं । तर यसमा किसानलाई यसमा आकर्षण गर्न धेरै गाह्रो पर्यो । त्यस कारण १५ सय टनको प्रोजेक्सन गरेर गएको ५ सय टन मात्रै स्थापित गर्न सक्यौं । किसानले जोखिम कम लिन्छन् । सानो सानो चाक्लामा खेती गरिरहेको हुन्छ । उनीहरूलाई स्थानीय गल्लावालाहरूले भाँडिदिए । हामीले सबैको रोजीरोटीमा ब्रेक लगाउने भयौं । यो वर्ष हामीले स्थापित गरौं । उत्पादकत्व पनि बढ्यो । विगतमा कठ्ठाको चार मन फल्ने अथवा ५०/६० मन कठ्ठाको फल्नेमा यो वर्ष सरदर १ सय ३० मन फल्यो । राम्रो खेती गर्नेले १ सय ६० मन पनि फलाए । हाईब्रिड धानलाई राम्रोसँग खेती गरे १ सय ६० मन यो धान फल्ने भयो । यो चार महिनामा १ लाख रुपैयाँ नेट फाइदा आयो । एक बिघामा चार महिनामा एक लाख रुपैयाँ फाइदा भनेको राम्रै फाइदा हो । त्यो यहाँ स्थापित गरायौं । अब मंसिरको धानमा ३० रुपैयाँ बढाएर १२ सय रुपैयाँ मनको स्थापित गर्यौं । घनश्याम भुसाल कृषिमन्त्री हुँदा धेरै प्रयास गरेर न्यूनतम सपोर्ट मूल्य १९ रुपैयाँ राख्नुभएकोमा हामीले ३० रुपैयाँ दियौं । त्यसमा अहिले हामीलाई धान बिक्री गर्न सिरहादेखिका किसानहरू बढी उत्साहित छन् । अब मुख्य हाम्रो चुनौती के हो भने नेपाली धान खरिद गर्ने हो । भारतीय गल्लाबाट धान नेपाल ल्याएर प्रशोधन गरेर बिक्री गर्ने होइन । नेपाली धान खरिद गरेर उत्पादन नगरे ठूलो लगानी लगाएर मिल स्थापना गरेको अर्थ नै भएन । अगनी र चैते दुईवटै धानमा सोचेजस्तै सफलताका साथ समय अनुकूल (टाइमलाइन) मा काम गर्दै अगाडि बढेका छौं । अर्को हाम्रो जस्तो मिल स्थापना गर्दा यो भण्डारणको पक्षमा वर्षको एकै पटक धान किनेर राख्दा धेरै स्थान ओगट्ने चैते धान ६ महिनामा नभए पनि एकतिहाइ चैते धान र दुईतिहाइ अगने धान भण्डारण गर्ने र खपत गर्ने व्यवस्थित रूपमा जाँदा व्यवस्थापन खर्च कम लाग्छ । भविष्यमा धान मकै र भटमाससँगै व्यवस्थापन गर्नुपर्छ । भण्डारण गर्ने ढ्वाङहरू साढे तीन हजार टनका छन् । त्यसको व्यवस्थापन पनि त्यसरी नै हुन्छ । त्यहाँ सबैभन्दा ठूलो लगानी पिकक्युलयन र डायरमा गरेका छौं, किनभने उत्पादन भएर आउनेबित्तिकै आउने धान वा मकैको नाम एकदमै धेरै हुन्छ । धानलाई १३ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ र मकैलाई ३० प्रतिशतबाट १५ प्रतिशतमा झारेर भण्डारण गर्नुपर्छ । त्यो सबै गर्ने इक्युपमेन्ट राखेका छौं, मिलको सबैभन्दा ठूलो खर्च हो । त्यसको प्रयोग वर्षको तीन पटक हुने भयो । मिल अप्टिमाइल हिसाबले सञ्चालन गर्दा यी सबै कम्पोमेन्टहरू चैते, अगने धान र मकै स्थापित हुनुपर्यो । मकै स्थापित हुनेबित्तिकै दानामा जाने भयो । धानबाट आउने कनिका पनि दानामा प्रयोग हुन्छ । उत्पादनको भ्यालुचेन यो हो । बिक्री–वितरणको क्षेत्रमा चामलका लागि अनलाइनको व्यवस्था गर्नुपर्छ । ग्यास पानीजस्तो महिनामा २० देखि ३० केजी चामल प्रयोग गर्छन् । त्यो खालको बजारीकरण योजनामा जानुपर्छ । यो विशुद्ध नेपाली चामल हो । २० देखि २५ रुपैयाँ रिटेल मूल्य कम गरेर दिन्छौं ।
उत्पादन गर्ने क्षेत्र र किसानहरू दिगोपनामा राइस मिलले निरन्तरता दिनेभयो, तपाईंले भन्नु भएअनुसार बजारीकण गर्ने अनलाइन सेवा दिने कुरा आयो, किसानहरूलाई डिजिटल फर्ममा कसरी जोड्ने ?
राइस मिल किसानहरूको माझमा लगेर स्थापना गरेका छौं । खेती किसानीको बीचमा लगेर मिल स्थापना भएको छ । त्यस किसानलाई दिने दिगोपन र वरपरको धान, मकै खरिद गर्नु प्रमुख लक्ष्य हो भन्ने कुरा स्थापित भइसकेको छ । ३५ सय बिघा, अगनी धान उत्पादन हुने र २४ सय बिघा चैते धान उत्पादन हुने जमिन गरी ५५ सय बिघाको क्यासमेन्ट हो । बेलबारी नगरपालिकामा मिल राखेका छौं । त्यहाँ खेतीयोग्य जमिन १० हजार बिघाभन्दा बढी छ । हामीले बेलबारीकै धान उठाइसक्दैनौं । मकै पनि २० हजार बिघामा होला । त्यहाँ मकै पनि खरिद गरिसक्दैनौं । जुन मिलले ग्यारेन्टी गरेको छ त्यो स्थापित हुन्छ । जुन टेक्नोलोजी ट्रान्सफोरको कुरामा अहम् छ । हामी किसानकै माझमा बसेर धानमिल सञ्चालन गर्ने भएकाले किसान समूह बनाउनुपर्छ भनिरहेका छौं ।
यसमा केही खराब उदाहरण पनि छन्, जुट, उखुको संरचना बने तर मनोपोली रूपमा चल्दा किसानहरू मारमा परेका छन्, अब तपाईंले धानको मिल खोलेपछि सबैले खोल्नेछन् । अनि त्यस्तै मोनोपली भएर किसानले दु:ख पाउने त होइनन् ?
हामी यसलाई विस्तारै स्टेप बाइ स्टेप रूपमा लिएर जाने तयारीमा छौं । पहिला राइस मिललाई स्थापित गरेर २० हजार धान र १० हजार टन मकैलाई प्रशोधन गर्ने हो । त्यसको ब्यालेन्स सिटमा जुन प्रक्षेपणमा नाफा आएको छ । व्यावहारिक रूपबाट स्थापित गर्ने, पैसा देखिनुपर्योे । त्यसलाई किसानको लगानी र स्थानीय समुदायको लगानीको रूपमा विस्तारै यही मोडालिटीमा विस्तार गर्दै जाने तयारी हो । किसानहरूले त्यसमा ओनरसिप खोजेको खण्डमा त्यसलाई डाइलोड गरेर उद्यमीहरूले २५ प्रतिशतभन्दा बढी लगानी राख्ने पक्षमा छैनौं । मिलको स्वामित्वको २५ प्रतिशत । मनोपोली भन्ने कुरा नभएर सबैको सहभागिता लगानी गर्न पाउने अवस्था हुनुपर्यो । हामीले यो मिललाई स्थापित बनाउन सक्यौं भने पाँच वर्षमा हामी चामलमा आत्मनिर्भर हुन्छौं । मैले शाखा खोलेर नभई नयाँ कसैले कुनै अर्को जिल्लामा वा अर्को स्थानमा खोल्छ भने यस्तो तरिकाले गर्ने भनेर सिकाउने योजनामा छु ।
कुनै न कुनै हिसाबले सरकारको नीतिसंग पनि जोडिन्छ । अहिले अन्य व्यवसायीहरूले सरकारले नीति बनाएर पनि व्यवसायीमैत्री वातावरण बनाउन सकेन भन्ने गुनासो छ, व्यवसायीलाई सहयोग गरेन भन्ने पनि गुनासा छन् । तपाईंहरू यो विषयमा कसरी अगाडि बढ्नुभएको छ ?
प्रदेश एकको कृषि मन्त्रालय एकदमै प्रोएक्टिभ छ । त्यहाँको कृषि मन्त्रालयले पूरा सहयोग गरिरहेको छ । केन्द्र सरकारको परिप्रेक्ष्यमा भन्नुपर्दा स्थानीयस्तरबाट नै यो कार्यलाई सफल बनाएर गएपछि केन्द्र सरकारले अनुसरण गर्ने भन्ने अन्य केही रहँदैन जस्तो लाग्छ ।
अहिले भएको प्रविधिभन्दा कस्तो हो, यो प्रविधिले लगानी र उत्पादनको हिसाब कसरी लाभग्राही छ ?
जुन धान प्रशोधन गर्ने प्रविधि रहेको छ । त्यो प्रविधिको उच्चतम प्रविधि प्रयोग गर्दा मात्रै धेरै फाइदा हुन्छ । त्यसले अर्थतन्त्रको स्केल तय गर्छ, उत्पादन गर्दाको खर्च घटाउँछ । नेपालमा अन्य राइस मिलहरूको प्रविधि कस्तो हो थाहा छैन । पहिलो पटक राइस मिल खोल्दै छु । अरूको राइस मिल हेरेको छैन । राइस मिलको दुईवटा टेक्नोलोजी हो एउटा भुलर र अर्को जापनिज टेक्नोलोजी हो । दुवैलाई कम्प्युटर गर्यौं । भुलर तुरुन्तै आयो । भुलर स्वीज मल्टिनेसनल टेक्नोलोजी हो । यो टेक्नोलोजी फुड ग्रेन म्यानेजमेन्टमा संसारको उच्चतम टेक्नोलोजी हो । उनीहरूको धान मिलको राम्रो टेक्नोलोजी ल्याएका छौं ।
बजारको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
चामल निस्किसकेपछि तुलना गर्छौं । भविष्यमा चामलका उपभोक्तालाई तुलना गर्ने ठाउँ चाहिन्छ । हाम्रो चामल भर्सेस बजारमा भएको त्यही गुणस्तर मूल्यको चामलाई तुलना गर्छौं । हाम्रो मार्केटिङको अहम् पाटो त्यही हुनेछ । हामीले धानको चामल प्रशोधन र मकैको दानासहित गरेर ५० करोडको लगानी रहेको छ ।
ब्रेकर
– पाँच वर्षमा हामी चामलमा आत्मनिर्भर हुन्छौं ।
– आखिरमा गएर माटोमा नै विलय हुने हो । माटोमा विलय हुनुभन्दा अगाडि समाज, देश र भावी सन्ततिका लागि केही योगदान गर्न सकिन्छ कि सकिँदैन भन्ने सोचले जिन्दगीको गन्तव्य सिर्जना गर्छ ।
– नेपालमा अहिले अधिकांश मोटो धान उत्पादन हुन्छ । किनभने मसिनो धानको बजार व्यवस्थित भएको छैन । मसिनो धानलाई मिलिङ गर्ने इक्युपमेन्टहरू नै हाम्रो देशमा छैन ।
– खेती–किसानीको बीचमा लगेर मिल स्थापना भएको छ । त्यस किसानलाई दिने दिगोपन र वरपरको धान, मकै खरिद गर्नु प्रमुख लक्ष्य हो ।