Logo

पहिलो चरणमा ५०० विदेशी माग

कोरियामा क्षेत्र विशेष भिसा

ग्रामीण क्षेत्रमा घट्दै गइरहेको श्रमयोग्य जनशक्ति अभाव कम गर्न दक्षिण कोरियाले यो वर्षको अक्टोबरबाट क्षेत्र–विशेष भिसाअन्तर्गत विदेशी श्रमिक माग गर्ने भएको छ ।
तीव्र गतिमा घट्दै गएको जनसंख्याका कारण श्रमिक अभावको सामना गरिरहेका ग्रामीण क्षेत्रहरूमा बसोबास गर्न विदेशी श्रमिकलाई आकर्षित गर्ने योजना कोरियाले बनाएको हो ।
यो नयाँ भिसा श्रेणीअन्तर्गत निश्चित मापदण्ड पूरा गर्ने दक्ष कामदारहरूलाई स्थानीय सरकारले तोकेका उद्योगहरूमा काम गरेको सर्तमा रेसिडेन्सी (एफ–२) भिसा दिइने दि कोरियन टाइम्सले जनाएको छ । यो नयाँ भिसा प्रणाली अन्तर्गत विदेशी श्रमिकले भिसा प्राप्त गरेपछि कम्तिमा ५ वर्ष ग्रामीण क्षेत्रमा काम गरेर बस्नुपर्ने जनाइएको छ, जुन अवधिमा उनीहरूले आफ्नो श्रीमान् तथा श्रीमती र नाबालिग बच्चाहरूलाई कोरियामा लैजान अनुमति दिइनेछ ।
हालै कोरियाको न्याय मन्त्रालयले क्षेत्र–विशेष भिसा सुरु गर्ने घोषणा गरेको हो, जुन यस वर्षको अक्टोबरदेखि सरकारले तोकेको ग्रामीण क्षेत्रमा बस्न र काम गर्न चाहने विदेशी नागरिकहरूलाई दिइनेछ । क्षेत्र–विशेष भिसाका लागि योग्य आवेदकहरूले कोरियाली भाषामा प्रवीणता सहित निश्चित आवश्यकताहरू पूरा गर्नुपर्छ र स्नातक डिग्री वा उच्चको साथ शैक्षिक पृष्ठभूमि भएको हुनुपर्छ ।
मन्त्रालयले यस क्षेत्र विशेष भिसा योजनाको पाइलट कार्यक्रममा भाग लिन चाहने कोरियाका स्थानीय तह र नगरपालिका सरकारहरूबाट आवेदन प्राप्त गर्ने बताएको छ । हाल कोरियाले त्यहाँका ८९ स्थानीय तह तथा नगरपालिकालाई कोरियाको आन्तरिक र सुरक्षा मन्त्रालयद्वारा कम जनसंख्या भएको क्षेत्रको रूपमा वर्गीकृत गरेको छ ।
न्याय मन्त्रालयले त्यसपछि ५ वटा क्षेत्र छनोट गरी अक्टोबरमा सुरुमा ५०० विदेशी श्रमिकलाई एफ–२ भिसा प्रदान गर्ने जनाइएको छ । परीक्षण परियोजना एक वर्षको लागि अक्टोबर २०२३ सम्म रहने जनाइएको छ । त्यसपछि कोरिया सरकारले यो कार्यक्रमलार्ई समीक्षा गरी अन्य क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाएको छ ।
अष्ट्रेलियामा स्किल्ड वर्क रिजनल भिसा र क्यानडाको एट्लान्टिक इमिग्रेसन प्रोग्राम जस्ता अन्य देशहरूमा पनि यस्तै भिसा प्रणाली लागू गरिएको जनाउँदै कोरियाले पनि ‘क्षेत्र–विशेष भिसा’ लागू गरेको जनाएको छ । यसबाहेक कोरिया सरकारले विज्ञान र प्रविधिमा डिग्री हासिल गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि नागरिकता वा बसोबासको लागि द्रुत–ट्रयाक मार्ग सिर्जना गरेर विदेशी सूचना र सञ्चार प्रविधि विशेषज्ञहरूलाई लिने जनाएको छ ।
यसैगरी कोरियाले कागजात नभएका विदेशी नागरिकका बच्चाहरूको लागि जन्मदर्ता प्रणाली पनि ल्याउने भएको छ । बालबालिकालाई आधारभूत सामाजिक सेवाहरूमा पहुँचको ग्यारेन्टी गर्नका लागि यो दर्ता प्रणाली ल्याउने भएको हो । हालको कानुनअनुसार विदेशी अभिभावकले कानुनी रूपमा कोरिया नबसेका आफ्ना बालबालिकालाई दर्ता गराउन नसक्ने व्यवस्था रहेको छ । जसले गर्दा बालबालिकालाई बालबालिकासम्बन्धी अधिकार र सुविधाबाट वञ्चित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्