देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह «

देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

सरकारले नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरेको छ । देवचुली नगरपालिकाका मेयरको नेतृत्वको टोली र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले नेपाल उद्योगा वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेको छ ।
देवचुलीलाई लगानीको आकर्षण गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य रहेको प्रतिनिधिमण्डलले जनाएको छ । देवचुलीको भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत साधन र स्थानीय तहमा स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य रहेका कारण देवचुलीमा लगानी गर्न प्रतिनिधिमण्डलले आग्रह गरेको छ । उद्योग स्थापना, पर्यटन विकास, सार्वजनिक स्थलतथा पूर्वाधार निर्माणलगायतमा लगानीको प्रचुर सम्भाव्यता रहेको प्रतिनिधिमण्डलले जनाएको छ ।
मेयर हरिप्रसाद न्यौपानेले देवचुलीमा लगानी गर्न आउने लगानीकर्तालाई स्थानीय सरकारकातर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासघको राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा बलियो प्रभाव रहेकाले महासंघमार्फत स्वदेशी एवं विदेशी लगानी भित्र्याउने कार्यमा सहयोग गरिदिन मेयर न्यौपानेले आग्रह गरे ।
महासंघका अध्यक्ष दिवाकर गोल्छाले देवचुलीमा स्थानीय सरकार र निजी क्षेत्रको सम्भाव्यताका सम्बन्धमा विज्ञको सहयोगमा ठोस अध्ययन गराई त्यसैको आधारमा त्यस क्षेत्रको विकासमा अगाडि बढ्न सुुझाव दिए ।
महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्यको यो प्रयासले नै त्यस क्षेत्रमा अर्थिक विकासको बलियो सम्भावना रहेको बताए ।
स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई स्थानीय ऐनले पनि महत्वपूर्ण प्राथमिकता दिएकाले राजस्व संकलन, बसपार्क, मनोरज्जन पार्क, केवलकार निर्माण, सरसफाईलगायतका क्षेत्रमा काम गर्न सकिने महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्