न्यायपालिकाको निष्पक्षतामा ओलीको प्रश्न «

न्यायपालिकाको निष्पक्षतामा ओलीको प्रश्न

प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्मार्फत कतिपय न्यायाधीशमाथि छानीछानी बदला लिने ढंगले कारबाही अघि बढाउने र सत्ता गठबन्धनलाई सहज हुने फैसला तथा आदेश दिने क्रम बढिरहेको भन्दै न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । संवैधानिक परिषद्का सदस्यसमेत रहेका कामु प्रधानन्यायाधीशको भूमिकामाथि आशंका गर्दै उनले न्यायपालिका निष्पक्ष नभएमा स्वतन्त्र न्यायपालिका जोगाउन एमालेले गम्भीर कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।
आइतबार राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले हालैमात्र कामु प्रधानन्यायाधीश कार्की र सत्ता गठबन्धनका नेता माओवादी अध्यक्ष प्रचण्डबीच भेट भएको विषय समेत उठाए । ओलीले अदालत सेटिङ र लेनदेनमा चल्ने गरेका कुराहरु आइरहेको भन्दै यस्ता संकेतहरू देखिएको बताएका हुन् । उनले कामु प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई गठबन्धनको उलामालामा नलाग्न र स्वतन्त्र न्यायसम्पादन गर्न सुझावसमेत दिए ।
उनले भने, “एकजना नेता कुदेर कामु प्रधानन्यायाधीशकहाँ गएर दुई घण्टा बसे । त्यहाँबाट बाहिर निस्किएपछि ती नेता घरतिर लागे, श्रीमान्जी अदालततिर जानुभयो । त्यहाँ के भयो ? लेनदेन हुने गरेको छ नेपालमा । हामी विनम्रताका साथ आग्रह गर्छौं, सम्मानति सर्वोच्च अदालतबाट न्यायसम्पादन हुनुपर्छ, कुनै खुसामद होइन । कुन खासखुस, कुनै लेनदेन, कुनै घासघुस जसको चर्चा चलेको छ, त्यही कुरा निरन्तर हुनु हुँदैन ।”
फरक प्रसंगमा अध्यक्ष ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदहरूले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिरसमेत गरे । शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायब गरिएको दाबीसमेत ओलीले गरे ।
अध्यक्ष ओलीले भने, “अहिले सीसीटीभी राख्दा त फुटेज गायब छ । आजकालको जमानामा कल डिटेल हुन्छ, तर हेर्न नपाइने । ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनुपर्‍यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो ।”
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई जनै पूर्णिमाको दिन राखी बाँधिदिएको तर्फ संकेत गर्दै ओलीले त्यसमा पनि राजनीति भइरहेको बताए । उनले भने, “थाहा पाउनुभयो होला–इन्टरनेसनल राखी पनि सुरु भइसक्यो । राखीमा राजनीति पनि भइसक्यो। जे होस् राखीले दाजुभाइ–दिदीबहिनीको सम्बन्ध, दशैँले सम्पूर्ण नातागोताको सम्बन्ध, छठजस्ता चाड, तीजजस्ता चाड, गौराजस्ता पर्वले अनेक ढंगले हामीलाई एक ठाउँमा ल्याउँछ फेरि ।”

प्रतिक्रिया दिनुहोस्