टरिगाउँ विमानस्थलमा तालाबन्दी «

टरिगाउँ विमानस्थलमा तालाबन्दी

तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि त्यसका विरोधमा स्थानीयले विमानस्थलमा ताला बन्दी गरेका छन् ।
उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यवसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्यांकर र इन्धन ट्यांकी राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन् । आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरी, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसीलगायतको टोली एयरपोर्टमा पुगेको थियो । वि.सं २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक दुई महिनाअघि टरिगाउँ एयरपोर्टमा ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेका बेला दुईवटा गेटमा ताला लगाइएको हो । जहाजमा तेल भर्नका लागि गत १२ जेठमा ११ हजार लिटर क्षमताको बाउजर ल्याइएको थियो । त्यही बाउजर पनि फिर्ता लैजान थालेपछि सर्वसाधारणदेखि स्थानीय जनप्रतिनिधि, व्यवसायी विरोधमा उत्रिएका हुन् ।
त्यस क्रममा उपमेयर चौधरीले कुनै पनि हालतमा बाउजर मेसिन फिर्ता जान नदिने र त्यस्तो स्थिति उत्पन्न भए सर्वसाधारण नागरिकलाई साथ लिएर सडक मै सुत्ने बताइन् । “कुनै पनि हालतमा हामीले यो बाउजर मेसिन फिर्ता लान दिँदैनौ,” उनले भनिन् । वडाध्यक्ष खुसीराम चौधरीले पनि दाङको एक मात्र टरिगाउँ एयरपोर्टको विकासले विस्तारै गति लिइरहेको समयमा इन्धन भर्नका लागि आएको उपकरण फिर्ता लैजानु विकासमा भाँजो हाल्ने षडयन्त्र भएको बताए । “हामी यो उपकरण कुनै पनि हालतमा फिर्ता लैजान दिने छैनौं,” उनले भने, “बरू जस्तो सुकै संघर्ष गर्नु परे पनि हामी तयार हुने छौं ।” तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जनताको चाहना र भावनाविपरीतका कार्य भए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा राज्यले लिनुपर्ने उनको भनाइ थियो । संघका महासचिव विनिल केसीले एयरपोर्ट सुरू भएको दशकौं पछाडि बल्ल तल्ल आएको इन्धन भर्ने बाउजर फेरि फिर्ता लैजाने कुराले जिल्लावासी निरास भएको बताए । यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले हवाई इन्धन डिपो कार्यालय दाङ तुलसीपुरका प्रमुख विपिन श्रेष्ठलाई ज्ञानपत्र बुझाएको छ । बाउजर मेसिन फिर्ता लैजाने निर्णयको विरोधमा वाणिज्य संघका पदाधिकारीले प्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष रामप्रसाद चालिसे र महासचिव विनिल केसीलगायतले टरिगाउँ एयरपोर्ट परिसरमै प्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले दाङका लागि ल्याइएको बाउजर फिर्ता लैजाने प्रक्रिया यथाशीघ्र रोकिनु पर्ने बताएका छन् । उनले यदि बाउजर फिर्ता लैजाने प्रक्रिया नरोकिएमा दंगाली जनता सडकमा उत्रन बाध्य हुने चेतावनी दिए । “टरिगाउँ एयरपोर्टमा इन्धन भरेर राखेको ब्राउजर दाङबाट बाहिर लैजाने लागेको भन्ने सूचना आएको छ, यदि यो नै हो भने तुरुन्त रोकिनु पर्‍यो गठबन्धन सरकार, चुनावको मुखमा यो ज्यादति नगर आयल निगम केन्द्र क्षेत्रीय नेपालगन्ज, दाङले निर्णय तुरुन्त फिर्ता गर्नु पर्‍यो, अन्यथा दंगाली जनता सडकमा उत्रनु बाध्य नबनाइयोस्,” मेयर खड्काले आफ्नो सामाजिक सञ्जलमा लेखेका छन् ।
इन्धन डिपो कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठले बाउजर फिर्ता नभई रिप्लेस गर्न लागिएको जानकारी दिए । दाङमा तीनदेखि चार सय लिटरमात्रै इन्धन बिक्री हुने भएकाले केन्द्रले मासिक रूपमा दाङमा इन्धन पठाउने गरेर अहिलेको बाउजर लैजाने र अर्को गाडी दाङका लागि पठाउने तयारी गरेको उनले जानकारी दिए । अहिलेको टरिगाउँमा भएको ब्राउजरमा ११ हजार लिटर इन्धन अट्ने र यो काठमाडौं पठाएर यसको सट्टामा १६ हजार लिटर इन्धन अट्ने ट्यांकर आउने प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्