Logo

नेपालले पनि विकास तथा समृद्धिको पथमा लाग्ने तथा काँचुली फेर्ने हो भने सुरुवात राजनीतिक दल तथा तिनका शीर्ष नेतृत्वबाट हुनुपर्छ ।

श्रीलंकाको कुशासनबाट पाठ सिकौं

पछिल्लो समय नेपालमा धेरै चलेको बहस नेपाल श्रीलंका पथमा जाँदै छ भन्ने हो । केही राजनीतिक दलका अनुसार नेपाल श्रीलंका पथमा नै छ । तर, सरकार भने अर्थतन्त्रका सूचक देखाएर नेपाल श्रीलंका नबन्ने बताउँदै छ । सत्य हो, नेपाल श्रीलंका बन्दैन । किनकि नेपालका आर्थिक–सामाजिक सूचकांकहरू दक्षिण एसियामा सबैभन्दा तल पर्छन् भने श्रीलंकाको आर्थिक एवं सामाजिक सूचकांक दक्षिण एसियामा सबैभन्दा राम्रो रहेको थियो र छ । कुनै समय सिंगापुरले समेत आरिस गर्ने श्रीलंका टाट पल्टनुमा वंशवाद राजनीतिको आडमा बढेको राजनीतिक स्वेच्छाचारिता तथा कुशासान हो भन्ने कुरामा अब सबै स्पष्ट भइसकेका छन् । त्यसैले कुनै पनि मुलुक विकास तथा समृद्धिको पथमा अगाडि बढ्ने वा कहिल्यै नबढ्ने कुराको चुरो अर्थतन्त्रका सूचक र सामाजिक विकासभन्दा पनि बढी सुशासनमा भर पर्ने रहेछ । नेपालमा पनि पछिल्ला समयमा राजनीतिक दलहरूको व्यवहार तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताको जीवनशैलीमा प्रशस्त प्रश्न उठेका छन् । नेपालका राजनीतिक दलका नेताको आय के हो र कसरी उनीहरूको जीवनशैली महँगो तथा विलासी बन्दै गइरहेको छ, त्यसबाट पनि नेपालमा सुशासनको अवस्थाको एउटा तस्बिर देखिन्छ । नागरिकले आफूले पाउनुपर्ने संवैधानिक हक तथा अधिकार पनि नपाउने तर राजनीतिक दलका नेताले भने बिना कुनै आयको स्रोत विलासी जीवन बिताउने गरेका कारण संघीयता तथा गणतन्त्रका विरोधीहरू उत्साहित भएका छन् । उनीहरू नेताका कुकृत्य तथा बिना आय स्रोतको विलासी जीवन देखाउँदै नागरिक ठगिएको तथा संघीयता तथा गणतन्त्रले एउटा वर्ग विशेषमात्रको जीवन शाही ठाँटबाठमा चलेको नेपालीको जीवनस्तर नसुध्रनुका कारण यिनै गिनेचुनेका नेता भएको प्रचार गरेर फाइदा लिँदै छन् । नेताहरूको स्वेच्छाचारिताले श्रीलंकालाई माथ गर्न लागेको कारण नै नेपाल श्रीलंका पथमा रहेको आफ्नो भाष्य सप्रमाण नागरिकमा बताउन संघीयता विरोधीलाई सहज बनाइदिने काम संघीयता तथा गणतन्त्रका पक्षधर राजनीतिक दलका क्रियाकलाप तथा जीवनशैली एवं स्वेच्छाचारिता अनुपम उदाहरण बनेको छ ।
त्यसैले जिम्मेवार राजनीतिक दल तथा नेता एवं कार्यकर्ताले जवाफदेहिता, पारदर्शिता एवं आर्थिक सामाजिक सुशासनको प्रत्याभूति गर्नु आजको आवश्यकता हो । अन्यथा नागरिकमात्र होइन, उद्योगी–व्यवसायीहरू पनि निराश हुन थालेका छन् । पछिल्लो समय मुलुकमा अर्थतन्त्रमा देखिएका विकृति तथा सरकारको कार्यशैलीका कारण नागरिकमात्र नभएर उद्योगी–व्यवसायी पनि निराश भएका हुन् । हुन त इतिहासमा सबै मुलुक हाल नेपालकै जस्तो चरणबाट गुज्रिएका हुन् । तर, कुनै पनि मुलुक त्यस मुलुकका शासकले त्याग नगरी बनेको छैन । नेपालले पनि विकास तथा समृद्धिको पथमा लाग्ने तथा काँचुली फेर्ने हो भने सुरुवात राजनीतिक दल तथा तिनका शीर्ष नेतृत्वबाट हुनुपर्छ । किनकि जुन मुलुकमा शासक आफैं उदाहरण भई मुलुक बनाए, ती मुलुक आज प्रगति पथमा छन् । जुन मुलुकमा श्रीलंकामा झैं शासकमा अभिमान चढ्यो, त्यो मुलुकले दु:ख पाएकै छ । नेपालमा पनि २०४६ पछि नेपालमा स्वास्थ्य, शिक्षा, सञ्चार, बैंकिङलगायतको विकासले छलाङ मारेको भए तापनि वर्तमान अवस्थामा भने सरकारले नै विचौलिया खडा गरेर बजारमा विकृति सिर्जना गरेको छ, जसका कारण कुनै समय नेपाल पनि श्रीलंकाजस्तो हुने कोसिसमा थियो भने हाल श्रीलंकाजस्तो हुन्छौं कि भनेर डराउनुपर्ने भएको छ । श्रीलंकाको दुरवस्थामा कुशासनको ठूलो हात रहेको यथार्थ मनन गर्दै नेपालमा पनि समाजवादको नाममा अनावश्यक महŒवाकांक्षी योजना नल्याउने, अर्बौंको ऋण लगानीमा खुलेका धेरै उद्योगलाई डुबाएर एक–दुई उद्योगलाई नउकास्ने नीति लिएमात्र नेपालको हविगत श्रीलंका झैं हुँदैन, जसले इतिहासमा अरूबाट पाठ सिके ती विकसित भए, जसले अरूका गल्तीबाट पाठ सिकेनन्, ती पछाडि परेका छन् । नेपालका राजनीतिक दल तथा यिनका नेतृत्व तथा कार्यकर्तालाई नेपाल विकास नगर्ने छुट छैन । त्यसैले सरकार मुलुकको समृद्धि र विकासप्रति जति छिटो गम्भीर भयो, त्यति राम्रो ।

प्रतिक्रिया दिनुहोस्