अर्थ मन्त्रालयमा जनार्दन शर्माको दोस्रो इनिङ «

अर्थ मन्त्रालयमा जनार्दन शर्माको दोस्रो इनिङ

उच्च आयातका कारण उनी आफैंले ल्याएको गत आर्थिक वर्षको बजेटभन्दा बढी व्यापार घाटा, शोधनान्तर स्थिति अझै असहज, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कायमै, बजारमा लगानीयोग्य तरलता अभाव तथा निजी क्षेत्रको शंकाका बीच विवादमा परेर राजीनामा दिएको २५ दिनपछि जनार्दन शर्माले पुन: अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका शर्माले पुन: अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा उनले अर्थतन्त्रमा कुनै चमत्कार गर्लान् भन्ने आशा नरहेको अर्थविद्हरु बताउँछन् । गत आर्थिक वर्षमा प्रतिस्थापन विधयेकमार्फत आफंैले ल्याएको बजेटको राजस्व संकलनदेखि खर्चसम्म कुनै पनि लक्ष्य भेट्न असफल अर्थमन्त्रीले आइतबार पदभार ग्रहणपछि बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सबलिकरण गर्ने आवश्यकता रहेको बताए ।
उनले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सबलिकरणका लागि आफू लागिपर्ने प्रतिवद्धता पनि जनाए । गत आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएका कमी कमजोरीलार्ई समीक्षा गर्दै चालू आवको बजेट कार्यान्वयन गरिने बताउँदै उनले मन्त्रालयका कर्मचारीहरुको सहकार्यमा मन्त्रालयको काम गर्ने पनि बताए ।
तर, मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउँदै गर्दा अर्थ सचिव मधुकुमार मरासिनी भने बिदा लिएर बसेका छन् । दोस्रो इनिङका लागि अर्थमन्त्री भएर मन्त्रालय प्रवेश गरेका मन्त्री शर्माको स्वागतका दिन बिहान अर्थसचिव मरासिनी भने बिदा लिएर हिँडेका कारण शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्करले मात्र स्वागत गरे ।
आइतबार बिहानै मन्त्रीको रुपमा शर्मा आउने जानकारी पाएपछि मरासिनी बिदा लिएर हिँडेका हुन् । शर्माले राजीनामा दिने दिन असार २२ गते पनि मरासिनी बिदामा बसेका थिए । उनी अर्थमन्त्रीका कारण आफूसमेत विवादमा परेको भन्दै नफर्कने मुडसहित बिदामा बसेका थिए । तर, सोही दिन शर्माले प्रतिनिधिसभामा राजीनामा दिएपछि असार २३ गते पुन: मरासिनी अर्थ मन्त्रालयमा उपस्थित भएका थिए ।
मन्त्री शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसबारे छानबिन गर्न समिति बनेको दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट शुक्रबार सफाइ दिएको थियो ।

निक्षेप बिमाको सीमा बढ्यो
अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बिमाको सीमा बढाएर ५ लाख पुर्‍याउने निर्णय गरेका छन् । अर्थमन्त्रीमा पुनर्बहाली भएपछि मन्त्री शर्माले बजेटमा उल्लेख भएअनुसार निक्षेप बिमाको विद्यमान सीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने निर्णयमा हस्ताक्षर गरेका हुन् । बजेटको ३३३ नम्बर बुँदामा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित संरक्षण कार्यक्रम र लघु बिमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने र निक्षेप बिमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्