पथलैया–वीरगन्ज व्यापारिक मार्ग «

पथलैया–वीरगन्ज व्यापारिक मार्ग

उद्योगमैत्री सडक नबन्दा करिडोरका उद्योग समस्यामा

पथलैया–वीरगन्ज व्यापारिक मार्गको निर्माणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई समस्या थपिदिएको छ । औद्योगिक कच्चा पदार्थ लिएर आएका सवारीसाधन र करिडोरका उद्योगबाट उत्पादित सामानको ओसारपसार गर्न मुख्य सडकबाट सोझै प्रवेश बन्द गरिएपछि उद्योगलाई समस्या परेको हो ।
मुलुकको मुख्य नाका वीरगन्जबाट हुने आयात–निर्यात र औद्योगिक उत्पादनको सहज ढुवानीका लागि बाराको पथलैयादेखि वीरगन्जसम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग विस्तार गरिएको हो । अहिले भइरहेको सडक निर्माणले ढुवानीका साधनलाई मुख्य लेनबाट केही किलोमिटर टाढा प्वाइन्टबाट घुमेर सर्भिस लेन हुँदै उद्योगमा पुग्नुपर्ने अवस्था बनिसकेको छ । मुख्य सडकसँगै जोडिएको करिडोरका कतिपय स्थानमा दर्जनौं उद्योग सञ्चालनमा रहेका कारण ६ लेनको मुख्य सडकमा बार र सर्भिस लेनपछि नाला भएका कारण सडक उद्योगमैत्री बन्न नसकेको हो ।
जितपुर–सिमरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्माले उद्योगअगाडि नै प्रवेश मार्ग नबनेकाले २÷३ किलोमिटर घुमेर उद्योगभित्र जाने अवस्था बनेको बताए । उनले तत्काल परियोजनाले सडक विस्तारका अन्य स्थानमा उद्योगलाई केन्द्रित गरेर बाटोको निकासा दिनुपर्ने माग गरे । सहज निकास नभए करिडोरका उद्योगलाई मार पर्नुका साथै सडकमा जाम र दुर्घटना हुने उनको भनाइ थियो ।
वीरगन्जको एकीकृत जाँच चौकी (आईसीपी)को सम्पर्क सडकदेखि परवानीपुरसम्म समस्या नरहे पनि पथलैयादेखि वीरगन्जको गण्डकसम्म सडकमै जोडिएका सयौं उद्योग समस्यामा पर्ने निश्चित बनेको छ ।
अहिलै निर्माणको ८० प्रतिशत काम सकिएको पथलैयादेखि जितपुरसम्म र नितनपुरदेखि ड्राइपोर्ट चोकसम्म उद्योगभित्र पस्ने र निस्कने सवारीका कारण दिनहुँ सडक जाम हुने गरेको छ ।
औद्योगिक कच्चा पदार्थ र उत्पादनको ओसारपसारलाई सहज बनाउने मुख्य उद्देश्यले निर्माण भइरहेको व्यापारिकमार्गले उद्योगलाई झन् समस्यामा पार्दै गएपछि उद्योगीमा चिन्ता बढेको हो । व्यापारिक मार्ग ५० मिटर फराकिलो र सडकको बीचबाट ११ र ११ मिटर दायाँबायाँ ६ लेनको मुख्य सडक निर्माण हुने छ भने दुवैतर्फ साढे ३ मिटरको ग्रीन वेल्ट र साढे ५ मिटरमा दुईतर्फि सर्भिस लेन बनाइने व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख अशोक यादवले बताए । सर्भिस लेनभन्दा पछाडि दुवै किनारमा साढे ३ मिटरमा नाली र फूटपाथ रहेको परियोजनाको नक्सामा उल्लेख छ ।
करिडोरको मुख्य सडकमा जोडिएका उद्योगबाट उत्पादित सामान लोड गर्न करिब १ हजार सवारी साधन दैनिक प्रवेश गर्ने र उद्योगको कच्चा पदार्थ बोकेर भारत तथा नेपालका विभिन्न स्थानबाट आएका सयौं सवारीले हाल निर्माणाधीन व्यापारिक मार्गनै प्रयोग गर्ने गर्छन् ।
करिडोरको दुईतर्फी नै उद्योगहरू रहेको र ग्रीन वेल्टको अवरोधले उद्योगमा कच्चा पदार्थ भिœयाउन र उत्पादित वस्तु बाहिर निकाल्न अप्ठ्यारो पर्न थालेपछि उद्योगीले परियोजनालाई उद्योगमैत्री सडक बनाउन पहल थालेका छन् । मुख्य लेन र सर्भिस लेनको बीचमा राखिएको ग्रिन वेल्टका कारण उद्योगसम्म ढुवानीका साधन लैजान अप्ठ्यारो पर्ने गरेको उनीहरूले परियोजनालाई सुझाएका छन् ।
आयोजना प्रमुख यादवले प्रत्येक ३ सयदेखि ५ सय मिटरमा मुख्य लेनबाट सर्भिस लेनमा प्रवेशमार्ग बनाइने र निश्चित स्थान र आवश्यकता हेरी केही ठूला उद्योगको अगाडि लेन जोडिने भएकाले उद्योगीले सोचेको जस्तो ढुवानी समस्या नहुने बताए ।
तर, सडकको मुख्य लेनबाटबाट सर्भिस लेनमा निश्चित ठाउँबाट मात्रै प्रवेश गर्न पाइने भएपछि साँघुरो ठाउँका कारण ५०÷६० फिटका सवारीलाई उद्योगमा प्रवेश गराउन अहिले नै समस्या हुन थालेकोप्रति उद्योगीहरू चिन्चित बनेका छन् ।
आयोजनाले ठाउँठाउँमा प्रवेश स्थान बनाइने भए पनि उद्योगको गेटैपिच्छे व्यवस्था मिलाउन सम्भव नहुने जनाएको छ । पथलैयादेखि वीरगन्जसम्म पुरै करिडोरमा मुख्य सडकसँगै जोडिएका १ हजार बढी उद्योग सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्