Logo

फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएनन् : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् ।
शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए । उनले स्थानीय तहले नै अब फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए । मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए । उनले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको बताए । उनले सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताए । मन्त्री श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।
मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताऐ । उनले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताए । उनले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकाले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गरे । उनले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताए । मन्त्री जम्कट्टेलले योजना लिएर आउने युवालाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्