भूकम्पका बेला गुडुल्की मारी ओत लाग्ने बढी सुरक्षित «

भूकम्पका बेला गुडुल्की मारी ओत लाग्ने बढी सुरक्षित

गोरखाको बारपाक केन्द्र भई २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा हडबडाएर हिँड्ने, केही नगर्नेभन्दा घुँडा टेकी गुडुल्की मारी ओत लागेर बस्ने मानिसलाई कम चोटपटक लागेको एक अध्ययनले देखाएको छ ।
गोरखा भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये ५ जिल्लाका १० गाविसका ५ सय घरपरिवारलाई उद्देश्यमूलक विधिमार्फत छनोट गरी सम्पन्न गरिएको अध्ययनमा भूकम्पका बेला आफ्नो शरीरलाई सानो पारी गुडुल्किएर बस्नेभन्दा भाग्ने वा अत्तालिएर हिँड्नेमा बढी क्षति पुगेको अध्ययनको दाबी छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा विपद् जोखिम व्यवस्थापन विज्ञ तथा पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधर, सेभ द चिल्ड्रेनकी निर्देशक जुलिए लेन तथा नेपाली सेनाका सहायक रथि जीतबहादुर गुरुङले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गरेका थिए । सर्वेक्षणमा ५ सय घर परिवारका १ हजार ८५५ व्यक्तिको भोगाइ र निक्र्योल समेटिएको छ ।
अध्ययन अन्तर्राष्ट्रिय ख्याती प्राप्त अनुसन्धानकर्ता मार्ला पेटलको नेतृत्वमा गोरखा भूकम्पपछि स्थानीय संस्था र विश्वका विभिन्न लब्धप्रतिष्ठित वैज्ञानिकको सहयोगमा सेभ द चिल्ड्रेनले तयार पारेको हो । अनुसन्धानमा रेडक्रस ग्लोबल डिजास्टर प्रिपेयर्डनेस सेन्टर, भूकम्पप्रविधि राष्ट्रिय समाज नेपाल, रिस्क रेड र नेपाल रिस्क रिडक्सन कन्सोर्टियमले सहयोग गरेका थिए । अनुसन्धानकर्ता मार्ला पेटलले यसअघि पनि टर्कीको भूकम्पपश्चात यस्तै प्रकारका अनुसन्धान गरेकी थिइन् ।
सर्वेक्षणमा सहभागी मानिसमध्ये ८८ प्रतिशत (१६२७) लाई भूकम्पका कारण कुनै चोटपटक लागेको पाइएन । सर्वेक्षण गरिएकामध्ये १० प्रतिशत (१९०) घाइते हुन पुगेका थिए भने सर्वेक्षण गरिएका मानिसका नातेदारमध्ये २ प्रतिशत (३८) को मृत्यु भएको थियो । अनुसन्धानका लागि छनोट गरिएका घरगाउँ र जनसंख्यामा सबै मृतकको ज्यान घर भत्किएर नै भएको पाइएको छ ।
अत्यधिक क्षतिग्रस्त भएको भवन वा त्यसको वरिपरि रहेका मानिसलाई गम्भीर चोटपटक तथा मृत्यु भएको अध्ययनले देखाएकोे छ । ५८ प्रतिशत घाइतेहरू पूर्णरूपमा भत्केका र पताल भएका भवनमा बस्नेहरू रहेका र १७ प्रतिशत घाइते अत्यधिक क्षतिग्रस्त हुन पुगेका भवनमा रहेको पाइएको छ । घाइतेमध्ये शरीरको अंग किचिएका, टाउको तथा छातीमा चोट लागेकाको बढी मृत्यु भएको पाइएको छ । मृतकमध्ये ७५ प्रतिशतको टाउकोमा, ५८ प्रतिशतको छातीमा, ४२ प्रतिशतको ढाडमा र ४१ प्रतिशतको खुट्टामा चोटलागेको अध्ययनमा उल्लेख छ ।

सर्वेक्षण भूकम्पपछिको खोज तथा उद्धार, उपचारको पर्खाइका क्रममा रहेको अवधिभित्र नै भएको थियो । चोटपटकको ९६ प्रतिशत तथा मृत्युको शतप्रतिशत घटना भूकम्पले हल्लाएको समय अवधिभित्र नै भएको अध्ययनमा देखाइएको अध्ययनमा देखाइएको छ ।
घाइते हुनेमा खुट्टा, घुँडा, पैताला, बुढीऔंला आदि शरीरका अंगहरूमा चोटपटक लागेको रिपोर्टमा जनाइएको छ । सो अध्ययनले भूकम्पीय विपद्का घटनामा घातक चोटपटकबाट जोगिन, टाउको, छाती र गर्धन जोगाउनु महत्वपूर्ण हुने उल्लेख छ ।
अध्ययनले भूकम्पमा सामान्य, हल्का क्षति भएका र कुनै प्रकारको क्षति नै नभएका भवनमा समेत ९ प्रतिशतमा मानिस घाइते हुन पुगेको देखाएको छ । यसबाट अब आउनसक्ने भूकम्पबाट बच्न भवनका सरसामान, फर्निचर तथा अन्य वस्तुहरूका कारण चोटपटकबाट जोगिन गैरसंरचनात्मक न्यूनीकरणका उपाय अवलम्बन गर्नु महत्वपूर्ण हुने रिपोर्टमा उल्लेख छ ।
कार्यक्रम संयोजक तथा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका उपकार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले भूकम्पपछि अन्य देशमा यस्ता अध्ययन भए पनि नेपालमा भने यस अघि यस्तो अध्ययन नभएकाले यसले नेपालमा भूकम्पीय जोखिम न्यूनीकरणमा मार्ग निर्देशन गर्ने बताए ।
प्रतिवेदनमा प्रमुख नतिजाहरूमा आधारित भएर भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी शिक्षा तथा जनचेतना अभिवृद्धि गरी भविष्यमा भूकम्पका कारण हुनसक्ने मृत्यु तथा चोटपटक घटाउन घरघरसम्म पारिवारिक तथा व्यक्तिगत तहमा र नीतिगत तथा सामुदायिक स्तरमा पालना गरिनु पर्नेबारे विभिन्न सुझाव दिइएको छ ।

विपद् जोखिम व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले अध्ययनको निष्कर्षबाट आएका परिणामले नेपालमा भूकम्पीय जोखिम व्यवस्थापन तथा जोखिम न्यूनीकरणको प्रयासमा मार्गदर्शन गर्ने बताए । सेभ द चिल्ड्रेनकी निर्देशक जुली एलेनले विपद जोखिम व्यवस्थापनअन्तर्गत खोज तथा उद्धारको काम समुदायका सदस्यमार्फत प्रभावकारी हुने भन्दै समुदायस्तरबाटै उद्धारकर्ता निर्माण गर्नु पूर्व तयारी गर्नुपर्ने बताइन् । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक नारायण सिंह खड्काले मानवीय क्षति र चोटपटकका कारणबारे प्राप्त निष्कर्ष सबै तहमा पुराउनु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्