एनआरएनएका १०० दिन «

एनआरएनएका १०० दिन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान अन्तरराष्ट्रिय समन्वय परिषद (आइसिसि) ले कार्यभार सम्हालेको १०० दिन पूरा भएको छ । संसारभर छरिएर रहेको र दिनानुदिन विस्तार हुँदै गइरहेको गैरआवासीय नेपाली अभियान र संघले गर्नु पर्ने काम एवं विधानतः समन्वय परिषद्ले गर्नु पर्ने पदपूर्ति, विभिन्न समिति तथा टास्क फोर्सहरूको निर्माण र नेपालस्थित सचिवालयलाई बढीभन्दा बढी सक्षम र चुस्त बनाउनेलगायतका आन्तरिक कामहरू गरेको जनाएको छ ।
यस अवधिमा पूर्व कार्यकालमा अधुरो रहेका लाप्राक नमुना बस्ती, संघको सचिवालय भवन तथा शंखमूल पार्क निर्माणमा विशेष जोड दिएको संघले जनाएको छ । संघको पहिलो प्रत्यक्ष बैठकमा सबै आयोजनाहरूका ठेकेदार, परामर्शदातासहित सम्बन्धित पक्षलाई आयोजनाहरूका गतिविधिबारे जानकारी लिएर काम छिट्टै सम्पादन गर्न अनुरोध गरिएको थियो । हाल यी तीनवटै आयोजनाहरू संघका अध्यक्षलगायत उपाध्यक्षहरूको नेतृत्वमा अघि बढिरहेको र प्रोजेक्टहरूको स्टेरिङ कमिटी गठन भई तदारुकताका साथ कार्य संचालन भइरहेको एनआरएनएले जनाएको छ ।
लाप्राक निर्माणमा तीव्रता
लाप्राक नमुना बस्ती निर्माणका लागि एनआरएनए अध्यक्ष भवन भट्टको पहलमा नेपाली सेनाका ५० जवान थप गरी निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ । लाप्राक परियोजनालाई शीघ्र निर्माण सम्पन्न गर्न महिला उपाध्यक्ष सपिला राजभण्डारीले आयोजनाको संयोजन गरेकी छन् । हालसम्म ३२७ वटा घरको डिपिसी सम्पन्न भइसकेको र ३ वटा घर पूर्ण निर्माण भइसकेको छ । यसबाहेक अन्य निर्माण सम्बन्धी कार्यहरू भइरहेका छन् ।

सचिवालय भवन निर्माण
एनआरएनएले १०० दिनमा केन्द्रीय सचिवालय भवन निर्माण तीव्र गतिमा भइरहेको जनाएको छ । “सकेसम्म छिटो निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सचिवालयको कार्य सम्पादन गर्ने दिनको प्रतीक्षामा वर्तमान अन्तर्र्रािष्ट्रय समन्वय परिषद् रहेको छ ।” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पहिलो चरणको कार्य आगामी वैशाखसम्म सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट संचालन गर्ने तयारी भइरहेको छ ।” सचिवालय भवनको निर्माणको संयोजन उपाध्यक्ष कुमार पन्तले गरिरहेका छन् । पहिलो चरणमा सम्पन्न हुने उक्त भवनका लागि जग्गासहित करिब २५ करोड रुपैंया लागत लाग्ने अनुमान छ । उक्त भवनको दोस्रो चरणको निर्माण कार्यलाई पनि निरन्तरता दिइनेछ । यसका लागि स्रोत जुटाउनु पर्ने अवस्था रहेको संघले जनाएको छ ।

शंखमूल पार्क
वागमती किनराको शंखमूल क्षेत्रमा संघले ३२ रोपनी जग्गामा पार्क निर्माण कार्यलाई पनि वर्तमान कार्य समितिले महत्त्वका साथ अघि बढाइरहेकोे छ । परोपकारी परियोजना अन्तर्गत निर्माण हुन लागेको यस परियोजनाको निर्माण लागत करिब २ करोड २५ लाख अनुमान गरिएको छ । संघले निर्माण गरिरहेको शंखमूल पार्कमा प्रयोग भइरहेका सामग्रीहरूको गुणस्तर कमसल देखिएकाले स्तरीय र मजबुत सामग्रीहरूको प्रयोग गरेर बनाउन संघले निर्देशन दिएको छ । शंखमूल पार्कको निर्माण संयोजन उपाध्यक्ष कुल आचार्यले गरिहेका छन् । यो काम पनि आगामी केही महिनाभित्रै सम्पन्न हुने जनाइएको छ ।
परोपकारी कार्य
यस अवधिमा विभिन्न मुलुकका एनसिसिहरूले नेपालका विभिन्न जिल्लाहरूमा परोपकारी कार्यहरू संचालन गरिरहेका छन् । यसै सन्दर्भमा हालै काबुलमा तालिवानको आक्रमणमा परी दिवंगत भएका ११ जना नेपालीहरूका परिवारलाई जनही १ लाख सहयोग प्रदान गरिएको छ । यसैगरी सिन्धुलीगढीको संवद्र्धन र प्रवद्र्धनका लागि त्यहाँको स्थानीय सरकार कमलामाई नगरपालिका र संघबीच सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना तर्जुमा गर्ने सम्बन्धमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । संघले गढीको पुनर्निर्माणको गुरुयोजना तयार पार्न मद्दत गर्नेछ । वैदेशिक रोजगारका लागि साउदी गएर जेल परेका थानेश्वर भुषाललाई जेलमुक्त गर्न नेपाली प्रवासी समन्वय समितिसंगको सहकार्यमा रु १५ लाख ५० हजारको ब्लड मनी सहयोग गरिएको छ । यसमा एनसिसि साउदी अरेबियाले २ लाख ५० हजार र मलेसियाले ५० हजार सहयोग गरेको थियो ।
गैरआवासीय नेपाली संघले नेपाल इन्जिनियरिङ एसेसिएसनसंग सहमति पत्रमा हस्ताक्षर गरेको छ । रोड सेप्mटीका सम्बन्धमा ज्ञान र सीपको आदान प्रदानमा सहयोग गर्ने उद्देश्यले गरिएको यो सहमति पत्रबाट नेपालका इन्जिनियर पेसाकर्मीसंग गैरआवासीय नेपाली इन्जिनियरहरूलाई जोड्ने काम हुनेछ । धेरै नेपाली इन्जिनियरहरू विदेशमा कार्यरत भएकामा यस्तो सहमतिले नेपालमा ज्ञान र प्रविधिको प्रवाहलाई सहयोग मिल्ने अपेक्षा एनआरएनएले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्