Logo

नागरिकलाई फोहोर दिएवापत पैसा दिने गरी योजना बनाउँदैछु : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएवापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् ।
बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् । उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको दाबी गरे । उनले ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौं भित्रै मल, बिजुली, ग्यासलगायतका वस्तु उत्पादन गर्ने बताए । उनले देशभर बञ्चरेडाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहोरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए । मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भए पनि अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताए । उनले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए । उनले सिसडोलवासीले आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताए ।
मन्त्री चौधरीले आफू मन्त्री बनेपछि सहरी विकास मन्त्रालयले असार महिनामा मात्र २६.८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको बताए । उनले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये चालूतर्फ विनियोजित एक अर्ब ७५ करोड रुपैयाँमा एक अर्ब २८ करोड रुपैयाँ ७३.२८ प्रतिशत र पुँजीगततर्फ विनियोजित २९ अर्ब पाँच करोड रुपैयाँमा २१ अर्ब ६१ करोड ६९.९५ प्रतिशत खर्च भएको भएको बताए । मन्त्री चौधरीले मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असार महिनामा मात्रै २६.८ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख गरे । उनले असार महिनाको प्रगतिले सहरी विकास मन्त्रालय अन्य मन्त्रालयको तुलनामा उच्च प्रगति हासिल गर्ने मन्त्रालयको सूचीमा रहन सफल भएको दाबी गरे ।
मन्त्री चौधरीले जाने बेला रुने हास्ने भन्ने प्रश्नको धेरै ठाउँमा सोधिएको भन्दै रुने नभई मुलुकलाई नै हसाएर जाने बताए । अगामी सय दिनभित्र काठमाडौं उपत्यकामा १०० किमिसम्मको माइक्रो रेल अर्थात् स्ट्रिङ (तार) प्रविधिमा निर्धारित कम्प्युटर नियन्त्रित यातायातको सम्भाव्यताको अध्ययन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्