Logo

१० वर्षपछि कर्णाली जान हानाथाप हुनेछ: मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरूमा नि:शुल्क वाईफाई जडान गर्ने बताए ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले आगामी दिनमा नयाँ नीति र कार्यक्रमअनुसार मन्त्रालय अगाडि बढ्ने बताए । मन्त्री कार्कीले नेपाल सूचना र सञ्चारको क्षेत्रमा कमजोर नभएको पनि बताए ।
उनले नेपाल सूचना र सञ्चारको क्षेत्रमा एसियामा नै कमजोर नभएको तर सन्तोष हुने अवस्था पनि नरहेको बताए । मन्त्री कार्कीले सञ्चार क्षेत्रको विकास गर्न सबैको जिम्मवारी रहेको भन्दै जिम्मेवारीबाट कोही पनि पछि हट्न नहुने बताए ।
उनले सरकार सूचना र सञ्चार क्षेत्रको विकास गर्न सधैँ तत्पर रहेको जिकिर गर्नुभयो । मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा बिस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिए । उनले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गरे । मन्त्री कार्कीले सरकारले चाँडै महत्वपूर्ण पर्यटकीय क्षेत्रहरू,धार्मिक क्षेत्रहरू,विद्यालय र अस्पतालहरूमा नि:शुल्क इन्टरनेट जडान गर्ने नीति अगाडि बढाउने चरणमा रहेको उल्लेख गरे ।
सञ्चारमन्त्री कार्कीले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताए । उनले सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको भन्दै यो क्षेत्रको विकास गर्न जरुरी रहेको बताए । मन्त्री कार्कीले नेपालमा सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या नभए पनि कार्यान्वयनको समस्या रहेको बताए । मन्त्री कार्कीले आगामी १० वर्षपछि दुर्गम भनिएको कर्णाली प्रदेशमा जानको लागि हानाथाप हुने गरेर नीति तर्जुमा गरिरहेको दाबी गरे ।
सञ्चारमन्त्री कार्कीले सञ्चार मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पुर्‍याउन कर्णाली र तराईका ८ जिल्लालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्