व्यक्तिगत श्रमस्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने अझै बाध्यता

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सबै किसिमको श्रमस्वीकृति प्रदान गर्ने उद्देश्यले भैरहवाबाट सेवा सुरु भएको श्रम विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखाले व्यक्तिगत नयाँ श्रमस्वीकृति नदिँदा सेवाग्राही काठमाडौं नै पुग्नुपर्ने बाध्यता आइपरेको छ । गत असार १ गते श्रम विभागअन्तर्गत बुटवलमा रहेको कार्यालयबाट वैदेशिक रोजगार शाखा व्यवस्थापनको शाखा भैरहवा स्थानान्तरण गरी काम सुरु भएको थियो ।
काम सुरु भएको डेढ महिना पुग्न लाग्दा पनि संस्थागत श्रमस्वीकृति र पुन: श्रमस्वीकृतिको काम भए पनि व्यक्तिगत नयाँ श्रमस्वीकृतिको काम सुरु नहुँदा सेवाग्राही काठमाडांै जानुपर्ने बाध्यता रहेको छ । “अहिले दैनिक १० देखि १५ जनासम्म व्यक्तिगत नयाँ श्रमस्वीकृतिका लागि सोधपुछ गर्न आउने भए पनि हामीले सेवा दिन सकेका छैनौं । सिस्टम अझै खुलेको छैन,” भैरहवास्थित वैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख एवं शाखा अधिकृत केशवराज भट्टराईले भने, “हामीले यो विषयमा विभागमा मौखिक तथा लिखित रुपमा जानकारी गराइसकेका छौं । अहिलेसम्म खुलेको छैन, सेवाग्राही आएर सेवा माग्दा दिन नसक्दा दु:खी छौं । आशा छ छिटै सुरु हुनेछ ।”
व्यक्तिगत नयाँ श्रमस्वीकृतिका लागि श्रम विभाग वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले फेमिस नामक सिस्टमबाट काम गर्ने तर यो सिस्टम अहिलेसम्म भैरहवाका लागि विभागले उपलब्ध गराएको छैन । व्यक्तिगत नयाँ श्रमस्वीकृतिको अनलाइन फारम भर्ने फेमिस सिस्टम भैरहवाका लागि विभागले नखोल्दासम्म यो स्वीकृतिका लागि सेवाग्राही काठमाडौं नै जानुपर्ने अधिकृत भट्टराईले बताए ।
व्यक्तिगत नयाँ श्रमस्वीकृतिका सम्बन्धमा २०७५ पुस ९ गतेको नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचना अनुसार वैदेशिक रोजगार ऐन २०६४ को दफा २१ बमोजिम वैदेशिक रोजगारको लागि व्यक्तिगत रुपमा विदेश जान चाहनेहरूबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने व्यवस्था रहेको छ ।
सूचनाअनुसार व्यक्तिगत रुपमा विदेश जान चाहनेहरूको व्यक्तिगत नयाँ श्रमस्वीकृतिका लागि विभागका महानिर्देशकले निर्णय गर्ने वा अधिकार प्रत्यायोजन गर्न सक्छन् । तर महानिर्देशकले अहिलेसम्म यो विषयमा निर्णय नगर्दा र अधिकार प्रत्यायोजन नगर्दा व्यक्तिगत श्रमस्वीकृतिका लागि वैदेशिक रोजगार व्यवस्थापन कार्यालय भैरहवामा भए पनि सेवाग्राहीले काठमाडांै जानुपर्ने बाध्यता रहेको छ ।
श्रम विभाग वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका सूचना अधिकारी कृष्ण भुषालले भैरहवाको कार्यालय नयाँ भएको र प्रविधिको समेत कुरा भएकाले छिटै हुने तर यति गतेभित्र नै हुने भनेर आफूले बताउन नसक्ने बताए ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भएलगत्तै श्रमस्वीकृतिका लागि काठमाडांै जानुपर्ने समस्या अन्त्य गर्न भन्दै जेठमा कार्यालय उद्घाटन भएको थियो ।
कार्यालय खुले पनि दरबन्दी कायम भएको छैन । अहिले बुटवल कार्यालयका कर्मचारी आएर काम गरिरहेका छन् ।
कार्यालयबाट संस्थागत श्रमस्वीकृति अन्तर्गत पूर्वस्वीकृति एक जनाले पनि लिएका छैनन् भने अन्तिम स्वीकृति १२ वटा कम्पनीले लिएका छन् । ६५१ जनाले पुन: श्रमस्वीकृति यो कार्यालयबाट लिएका छन् ।
काठमाडौं