‘मिडिया काउन्सिल विधेयक पारित हुन दिँदैनौं’ «

‘मिडिया काउन्सिल विधेयक पारित हुन दिँदैनौं’

विराटनगर-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुनेगरी संसद्मा दर्ता गरेको कुनै पनि विधेयक पास हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले पछिल्लो समय संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक पारित हुन नदिने चेतावनी दिए ।
मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान रहेको उनको भनाइ थियो । “जबरजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुन दिँदैनौं,” उनले भने, “सरकार झन्झन् निरंकुश र अराजक बन्दै गएको छ । सम्पूर्ण प्रेसजगत र नागरिक समाज आन्दोलनमा उत्रिनुको विकल्प छैन ।” सभापति देउवाले संसदमा दर्ता गरिएको सुरक्षा परिषद् तथा मानवअधिकारसम्बन्धी विधेयक पनि फिर्ता लिन सरकारलाई आग्रह गरे । लोकतन्त्रको मूल्य र मान्यताविपरीत आएको तीनवटै विधेयक कुनै पनि अवस्थामा पास हुन नदिने देउवाको भनाइ छ । “संसदमा पेश भएको विधेयक हुबहु पारित भयो भने नागरिकका प्रेस तथा अभिव्यक्तिलगायतका धेरै अधिकारमाथि बन्देज हुन्छ,” देउवाले थपे, “लोकतन्त्र र संघीयतालाई कमजोर बनाउने षडयन्त्र भइरहेको छ ।”

सभापति देउवाले सञ्चारमाध्यमले के लेख्ने हुुने वा के नलेख्न हुुने भन्ने विषयमा पत्रकार र सञ्चारमाध्यम आफैं गम्भीर भएकाले प्रेसमाथि अंकुश लगाउने गतिविधि कांग्रेसलाई मान्य नहुने प्रस्ट पारे । मुलुकमा प्रजातन्त्र र लोकतन्त्र स्थापनामा प्रेसजगतले पु¥याएको स्मरण गर्दै देउवाले भने, “लोकतन्त्र ल्याउन राजनीतिक दलहरूकै हाराहारीमा प्रेसको पनि योगदान छ ।” देउवाले कांग्रेसले सुरु गरेको जागरण अभियानले कांग्रेसलाई एकताबद्ध बनाउन बल पुगेको बताए । देउवाले सरकारको गठन भएको डेढ वर्ष भए पनि जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको दाबी गरे ।

पार्टीभित्र प्रजातन्त्र छ, अनुशासन छैन
कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दैै देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको टिप्पणी गरे । पार्टीभित्र अनुशासन नभए पनि आन्तरिक प्रजातन्त्र भने अहिलेसम्मै सबैभन्दा बढी भएको उनले दाबी गरे । “नेताहरूले के बोल्ने, के नबोल्ने भन्ने सीमा नै छैन । कतिपय नेताहरू सीमा नाघेर बोल्छन् । तर, यति बोल्दा पनि कसैलाई कारबाही भएको छैन,” उनले भने, “आफू सभापति भएपछि पार्टीभित्र सबैभन्दा बढी प्रजातान्त्रिक पद्धतिको विकास भएको छ । विगतमा अरु सभापति हुँदा बोल्न डराउनेहरू अहिले जति पनि बोल्न पाएका छन् ।” देउवाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जसरी पार्टी छाडेर हिँड्नुपर्ने अवस्था आफ्नो कार्यकालमा आउन नदिने प्रस्ट पारे । विगतको निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्दा पार्टीभित्र कोही नरहने उनको कथन थियो ।

सरकारले जनताको पक्षमा ठोस काम गर्न सकेन
सभापति देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाए । सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको उनले बताए । सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उनले एक पक्षीय ढंगले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरुलाई मान्य नहुने बताए । पूर्व प्रधानमन्त्री देउवाले नेपाली कांग्रे्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि उल्लेख गरे ।
सभापति देउवाले पार्टीको महाधिवेशन समयमै हुने र कांग्र्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको विचार व्यक्त गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य महेश आचार्यले सरकारले प्रेस, न्यायालय, विश्वविद्यालय, विकास, संसद्लगायत महत्वपूर्ण अंगलाई नियन्त्रणमा लिने काम गरिरहेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य अमृत अर्यालले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको बताए । “राज्यका सबै अंगलाई नियन्त्रणमा लिएर सरकार निरंशुताको प्रवेशद्वारमा प्रवेश गर्न लागेको छ,” अर्यालले भने, “जनस्तरबाटै सरकारको विरोध गर्नुपर्ने बेला आएको छ ।” कार्यक्रममा कांग्रेस नेता नरहरि आचार्यलाई परिषद्का तर्फबाट सम्मान गरिएको थियो । आचार्यलाई सभापति देउवा, परिषद्का अध्यक्ष अशोक कोइरालालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । परिषद्ले यसअघि रामहरि शर्मा, केवी गुरुङ, चक्रप्रसाद बाँस्तोलालाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्