परिचय पत्रका लागि वडा तहबाटै विवरण संकलन गरिने

गोरखामा राष्ट्रिय परिचयपत्रका लागि वडा तहबाटै विवरण संकलन गरिने भएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब वडा तहसम्म पुगेर परिचयपत्रका लागि विवरण संकलन गर्न लागिएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनप्रतिनिधि, कर्मचारी लगायतसँग अन्तक्र्रिया गर्दै विवरण संकलनको प्रक्रियाबारे जानकारी गराएको हो । विभागका महानिर्देशक तीर्थराज भट्टराईका अनुसार घुम्ती टोली पालैपालो सबै पालिकाको वडामा पुग्नेछ ।
“एउटा वडामा कम्तीमा दुईवटा टोली खटाइनेछ,” उनले भने, “टोलीमा विभागबाट खटिएका कम्प्युटर अपरेटरसहित सम्बन्धित वडाको सचिव र एक जना स्वयंसेवक खटिनेछन् । राष्ट्रिय परिचय पत्र लिन चाहने नागरिकले तोकिएको प्रक्रिया पूरा गरी वडामा स्थापना हुने स्टेसनमा आफ्नो विवरण अभिलेखीकरण गर्न सक्नेछन् ।” गोरखाका ११ वटै पालिकामा आगामी असोज मसान्तसम्ममा विवरण संकलन गरिसक्ने लक्ष्य रहेको भट्टराईले बताए ।
अहिले राहदानी बनाउनेले भने अनिवार्य रूपमै राष्ट्रिय परिचय पत्रका लागि विवरण अभिलेखीकरण गर्नुपर्ने ब्यवस्था गरिएको छ । कार्यालयमा संकलन भएको अभिलेख अनलाइन प्रणालीमार्फत सिधै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा पठाउने गरिएको छ । नागरिकको व्यक्तिगत तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र नै राष्ट्रिय परिचयपत्र हो । यस्तो परिचय पत्रमा ब्यक्तिगत विवरणहरू नाम, थर, जन्ममिति, लिंग, आमा बुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नीको नाम, बाजेको नाम, १० वटा औंलाको छाप, परिचय नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षरलगायतको विवरण समावेश गरिएको हुन्छ ।
ब्यक्तिको राष्ट्रिय पहिचान पत्रको रूपमा, मतदाता परिचयपत्रको रूपमा, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रूपमा, सामाजिक सुरक्षा कार्डका रूपमा राष्ट्रिय परिचयपत्र उपयोगी हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक सागरमणि पाठकले जानकारी दिए ।
यस्तै अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवाप्रदायक निकायले झन्झट रहित, छोटो समय र कमलागतमा सेवा प्रदान गर्न पनि सम्भव हुने उनले बताए । त्यसैले गोरखाको वडा तहमा खटिने टोली कहाँगएर राष्ट्रिय परिचय पत्रका लागि विवरण अभिलेखीकरण गराउन विभागका महानिर्देशक भट्टराईले आग्रह गरेका छन् ।