प्रसारण लाइन समस्याबारे घिसिङ र जनप्रतिनिधिबीच छलफल

राष्ट्रिय गौरवको कालिगण्डकी प्रसारण करिडोरको पर्वत–बुटवल प्रसारण लाइनमा देखिएको समस्याका बारेमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पर्वतका जनप्रतिनिधिबीच प्राधिकरणमा छलफल भएको छ ।
पर्वतको फलेवास नगरपालिका–६ देवीस्थानमा निर्माणाधीन फलेवास रंगशालामा प्रसारण लाइनका तीनवटा टावर निर्माण गरिने भएपछि फलेवास नगरपालिकाले त्यसको विरोध गर्दै आइरहेका बेला दुवै पक्षबीच छलफल भएको हो । ‘हाइटेन्सन’ लाइनले २१ करोड लागत अनुमान गरिएको र गण्डकी प्रदेशमा पोखरा रंगशालापछिको दोस्रो स्तरीय रंगशाला हुने अवस्थामा लाइनले त्यसको भविष्य बिगार्ने भन्दै स्थानीयले टावर निर्माणको विरोध गरिरहेका हुन् ।
फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार अहिले भनिएको ठाउँमा ‘टावर’ निर्माण गर्नै नदिने फलेवासवासीको अडान र निर्माण गर्नै पर्ने बाध्यता रहने आयोजनाको भनाइका बीच समस्या समाधानका लागि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङसँग भेटेर छलफल भएको हो । छलफलमा नगरप्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत पौडेल, विद्युत बोर्डका सदस्य, नगरपालिकाका इन्जिनियर संजय लामिछाने, देवीस्थानका वडाध्यक्ष नवीन प्रधान, ऊर्जा विज्ञ तथा वाराही हाइड्रोपावरका निर्देशक दीपक तिवारीलगायत सहभागी भएका थिए ।
“प्रसारणलाइन निर्माण आयोजनाका प्रमुख चन्दन घोषसमेतको उपस्थितिमा समस्या हल गर्ने उपायको खोजीबारे छलफल भएको छ,” प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले भने, “नगरप्रमुख तिवारीले जनताको चिन्तालाई सम्बोधन गर्ने गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएर कुलमानजी, आयोजना प्रमुखलगायतसँग कुरा राखेका थिए । कुलमानजीले समस्या समाधानका लागि सकारात्मक भूमिका निर्वाह गरे ।”
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विभिन्न तीनवटा विकल्पमा आधारित रहेर कालिगण्डकी प्रसारण करिडोरले समस्या समाधान गर्न निर्देशन दिएको नगरप्रमुख तिवारीले बताए । जसमा अहिले प्रस्तावित ‘अलाइनमेन्ट’ को दक्षिण तर्फबाट विद्यालयहरू र खेल मैदान जोगिने गरी प्रसारणलाइन लैजाने, प्रस्तावित ‘अलाइनमन्ट’ को उत्तरतर्फबाट उपयुक्त मुआब्जा दिई प्रसारणलाइन लैजाने वा दुवै विकल्प समेतबाट प्रसारणलाइन लैजान प्राविधिक रूपमा असम्भव भएमा अहिलेकै प्रस्तावित ‘अलाइनमेन्ट’ बाट खेलकुद मैदान र विद्यालय क्षेत्रमा न्यूनतम क्षति हुने गरी प्रसारणलाइन लैजाने रहेका छन् ।
छलफलका क्रममा निर्देशक घिसिङले प्रसारण लाइनको निर्माणमा भइरहेको ढिलाइले विद्युत आपूर्तिमा कमी आएको तथा करोडौंको घाटा भइरहेको विषयमा गम्भीर भइदिन स्थानीयसँग अनुरोध गरेका छन् । विकासका कामहरू नागरिकको लागि नै हुने भएकाले निर्माण कार्यमा सघाउन उनले अनुरोध गरे ।
तर नगरप्रमुख तिवारीले भने फलेवासका बासिन्दाले विकासको विरोध नगरेको बताए । ‘हाइटेन्सन’ लाइनले विद्यालय र रंगशाला असर गर्ने भएपछि नागरिकले त्यसको विरोध गर्नु स्वाभाविकै भएको जवाफ दिए । यद्यपि प्राधिकरणमा सरोकारवालाबीच भएको छलफल र निस्किएका विकल्पको बारेमा नगरवासीलाई जस्ताको तस्तै जानकारी गराएर समस्या समाधान गर्न पहल गर्ने उनको भनाइ छ ।
निर्देशक घिसिङले प्रस्ताव गरेको ‘अलाइनमन्ट’ को दक्षिणतर्फबाट विद्यालयहरू र खेल मैदान जोगिने गरी प्रसारणलाइन लैजाने भनी दिएको विकल्प र स्थानीयले राख्दै आएको माग एकै देखिएका छन् । स्थानीयवासीले विवादित ठाउँमा अध्ययन गरी प्राविधिक रूपमा साविकको रंगशालालाई हानि नपुग्ने गरी केही पश्चिम डिलतिरबाट विकल्पको सम्भावनालाई प्रयोग गर्नु प्रसारणलाइन विस्तार गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।
यसअघि समस्या समाधानको लागि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटासहित आयोजना र फलेवास नगरपालिकाका प्रतिनिधिहरूबीच पनि छलफल भएको थियो । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि बुटवलसम्मका २ सय ३३ वटामध्ये २ सय ३० वटा टावरको निर्माण पूरा भइसकेको छ ।