वाहियात कुरामा अनावश्यक समय र रकम खर्च गर्नुभन्दा कृषि, पूर्वाधार तथा जनतालाई प्रत्यक्ष आम्दानी हुने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु वर्तमानको आवश्यकता हो ।
कृषि भुलेर खोजिएको विकास

अर्थशास्त्रीहरू क्रमश: सुल्ज, जोर्गेन्सन, एम पी टोडारो र बोजरअपले कृषिक्षेत्रको विकास गर्दै आधुनिक र जनसंख्याको सन्तुष्टिसँग कलममात्र चलाएनन्, करोडौँलाई खुसी राख्न सके । उनीहरूको सिद्धान्त टेकेर अहिले विकसित भनिएका देशहरूले उचो प्रगति गर्न सफल भए । देश विकासमा कृषिक्षेत्रलाई उनीहरूले प्राथमिकतामा राखे र पो अहिले विश्वकै पहिलो उत्पादन गर्ने अमेरिका, चीन र भारत भए । उनीहरूकै उत्पादनले विश्व चलेको छ अहिले र उनीहरूको बोलवाला छ । सबैका नजरमा परेका छन् अहिले । तर हामी अर्का अर्थशास्त्री जे के गालब्रेथले कृषिप्रधान मुलुक पनि कृषिमै अप्रगतिशील हुन सक्छ भनेर भनेको तथ्यसँग मेल खान पुगेका छौँ ।
इतिहास खोतल्ने हो भने हिमयुगको अन्त्यसँगै तातिँदै गएको वातावरणीय अवस्थाले कृषि उत्पादनमा ठूलो भूमिका निर्वाह गरेको थियो । कृषि कार्य व्यवस्थित हुन थालेको थियो । मेसोपोटामिया, जोर्डन आदि देशमा गहुँ, जौको खेती, चीनमा धान र कोदो, अमेरिकामा मकै, भटमास, आलु आदिको खेती हुन्थ्यो । ढुङ्गाकै औजार प्रयोग गरेर कृषि कार्यको थालनी यो युगमा भएकाले यस युगलाई कृषियुगको सुरुवात मानिन्छ । मेसोपोटामियाको टिग्रिस र युफ्रेटिस नदीबीचको भूभाग उर्वर माटोले बनेको छ । यो क्षेत्र उर्वर अद्र्धचन्द्राकार (फर्टाइल क्रिसेन्ट) नामले चिनिन्छ । यो क्षेत्रको माथिल्लो भागमा जङ्गली भेडा, बाख्रा र गाईवस्तुको बथान पाल्ने गरिन्थ्यो । यहाँ गहुँ र जौको खेती पनि गरिन्थ्यो । प्राचीन कालदेखि नेपालको मुख्य पेसा कृषि हो । गोपालवंशको प्रारम्भदेखि नै कृषिको थालनी भयो । गोपालवंशको समयमा प्रारम्भ भएको कृषि प्रणाली किराँत तथा लिच्छविकालमा विकसित हुँदै गएको थियो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि कृषिक्षेत्रमा पनि केही परिवर्तन गरेका थिए । यसरी हामी देख्छौँ कि हाम्रो कृषि प्रणालीको विकास प्राचीन कालदेखि नै हुँदै आएको छ, कृषकहरूको मिहिनेतको फलले । यसरी नेपालमा कृषिको विकास भएको हो । नेपालका कृषकहरू लगनशील, स्वाभिमानी, जागरूक भएको कृषिको ऐतिहासिक वर्णनले प्रमाणित गर्छ । अर्कातिर हेर्ने हो भने राज्यको नीति, कार्यक्रम र सुधारका प्रयासहरू निरर्थक रहनुले कृषिक्षेत्रको अप्रगतिशीलता प्रस्ट हुन्छ ।
हामी दैनिक अनि पलपल कृषि भुलिरहेका छौँ अनि अनुत्पादक र अल्छे बनाउने सेयर बजारको क्यालकुलेटर थिचिरहेका छौँ । चित्त नबुझ्ला, तर सत्य यही हो । किनकि हातखुट्टा आजकाल कृषिमा कम चल्न थालेका छन् भने कम काम गरेर बढी कमाउने क्षेत्रमा अहिले होडबाजी नै चलेको छ । यसैकारण उत्पादनमूलक कार्यले स्थान घटाउँदै गएका छन्, विपरीत कम काम गरेर खाने गलत धन्दाले स्थान जमाएको छ । यस्तो कार्यले पछिल्लो समय महŒव पाउँदा गरिबी, बेरोजगारी, असमानता, अल्छेपना र थप परनिर्भर बनाएको हामी बिर्संदै जान थालेका छौँ । यहाँ अनुत्पादक गतिविधि बढेका छन्, जसका कारण आर्थिक, सामाजिक र मानसिक रोगबाट ग्रस्त बन्दै जान थालेका छौँ ।
कोरोना कहरले विश्वमा करोडौँ गरिब थप्यो, नेपालमा १७ लाख गरिब थपिए, जसलाई तथ्यांकमा समावेश अझै गरिएको छैन । सबैतिरको अर्थतन्त्र ध्वस्त बन्यो र त्यसको बाछिटाले अझै छाडेको छैन, कोभिडले छाडेको छैन । तर विश्वका राष्ट्रहरू सोमाथि उठेर अगाडि बढेका छन्, अर्कातिर हाम्रो देशमा अर्थतन्त्रको अवस्था बेहाल छ । सुध्रने छाँट छैन । सरकारका प्रयास सुधार्नेभन्दा पनि ताली बजाउने मात्र देखिएका छन् । सेयर बजारको ४/१२ मा अल्झिएका छन्, तर अर्कातिर किसानले मल र सिँचाइको अभाव, खोलामा पुल, अस्पतालमा सिटामोल अभावलाई एक कानले सुनेर अर्को कानले उडाइएका छन् । न असारे विकास रोकिएको छ न व्यवहार । एकछत्र गलत परिपाटीले अनुत्पादक यात्रामा हामी प्रथम बन्ने प्रयास गरिरहेका छौँ र गरिबीको बेप्रयोग बढाइरहेका छौँ ।
विगत केही समययता रूस र युक्रेनबीच जारी युद्धको कारण विश्वव्यापी रूपमा आर्थिक गतिविधिहरू प्रभावित भएका छन् । पेट्रोलियम पदार्थ र खाद्य वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । विश्व व्यापार गतिविधि तथा पुँजी प्रवाह प्रभावित भएको छ । यसले गर्दा कोभिडबाट प्रभावित भई पुनरुत्थान हुन लागेको विश्व अर्थतन्त्रमा थप चुनौती थपिएको छ । विश्व अर्थतन्त्रमा आएको परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ । नेपालको सन्दर्भमा पनि मूल्य एवम् बाह्य क्षेत्र स्थायित्वमा देखिएको दबाब र लगानीयोग्य साधनमा आएको संकुचनका कारण अर्थतन्त्रको पुनरुत्थानसँगै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा चुनौती सिर्जना भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मुलुकको कमजोर उत्पादन क्षमता र बढ्दो उपभोग प्रवृत्तिका कारण आर्थिक वर्ष २०७८/०७९ मा कुल गार्हस्थ्य उत्पादनमा आयातको हिस्सा करिब ४० प्रतिशत पुग्ने अनुमान छ । वस्तु खाताका अतिरिक्त सेवा खाता घाटासमेत बढ्दो क्रममा रहेको छ । चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको करिब १३ प्रतिशत पुग्ने देखिएको छ । वस्तु तथा सेवा निर्यात, विप्रेषण आप्रवाह, वैदेशिक लगानी र वैदेशिक सहायता परिचालनमार्फत मुलुक भित्रिने र वस्तु तथा सेवाको आयातमार्फत मुलुकबाट बाहिरिने विदेशी मुद्राका बीच ठूलो अन्तर देखा पर्न गएको छ । आयातको बढ्दो प्रवृत्ति र विदेशी विनिमय सञ्चितिमा आएको कमीले बाह्य क्षेत्र व्यवस्थापनमा दबाब सिर्जना भएको छ । चालू खाता एवम् शोधनान्तर घाटाले गर्दा विदेशी विनिमय सञ्चिति घट्दै जाँदा बैंकिङ प्रणालीको तरलतामा चाप पर्नुका साथै ब्याजदरमा वृद्धि देखिएको छ ।
यो अवस्थामा आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने केन्द्रीय तथ्याङ्क विभागको अनुमान पुग्ने कुरामा शंकैशंका उत्पन्न भएको छ । अहिले कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: २३.९ प्रतिशत, १४.३ र ६१.८ रहेको छ । कृषिक्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान निरन्तर घट्दो छ । सेवाको नाममा अर्काका उत्पादनहरूले स्थानीय बजार जमाउन पुगेका छन् भने कृषकका उत्पादन कुहिएको, भाउ नपाएको र समयमा बीउ, ऋण नपाएको अवस्था छ । कृषिक्षेत्रको उपेक्षा, भ्रष्टाचार बढाएको, नातावाद लादिएको, खेतीयोग्य जग्गाहरू मासेको, जनप्रतिनिधि आफैँ डोजर किनेर ठेकेदार बन्दै जथाभावी बाटो खनेको, विकासको नाममा विनाशलाई साथ दिएको जस्ता गुनासोहरू अहिले पनि जस्ताको तस्तै छन् । ओरालो लागेको अर्थतन्त्र माथि उकास्न अहम् भूमिका सरकारको नदेखिँदा रोजगारीको सिलसिलामा विदेश जाने युवाको लर्को झनै थामिनसक्नु देखिएको छ । देश पूर्णतया आयातमा निर्भर हुन पुगेको छ । देशका सीप, उत्पादन हराएका छन् अनि परनिर्भरतामा वृद्धि छाएको छ ।
स्पष्ट के छ भने मुलुक कृषिप्रधान नामले अझै पनि जपिनु तर कृषि, कृषक अनि कृषि उपजतर्फ ध्यान नपुग्नु आफैँमा विडम्बना साबित भएको छ । हाम्रा विकासमा अहिले कृषि कम तर सेयर बजार, टावर, अवैध खेती र जुवातास परेका छन् । वैदेशिक आकर्षणलाई विकर्षणमा बदल्न ‘एक घर एक उद्योग’ अवधारणा विकास गरी युवालाई गाउँमै बस्ने र गरिखाने वातावरण निर्माण गर्न हामी चुकिरहेका छौँ । गाउँका जनतालाई सीप र ठाउँ चाहिएको छ, जुन कुरा हामी लत्याइरहेका छौँ । युवालाई गाउँमै बसूँबसूँ लाग्ने बनाउन सक्नु वर्तमानको अपरिहार्यता हो । तर, नेपालमा गर्नेभन्दा बसेर खानेको संख्या दिन–प्रतिदिन बढेको छ । माग्ने र हात थाप्ने बानीले गर्दा नै आज युवा पलायन भएका छन् । सरकार जतिसक्दो युवालाई विदेशमा पठाएर भए पनि रेमिट्यान्स भिœयाउन चाहन्छ । देशमा उद्योग छैन, आयका लागि स्रोत नभएपछि कर बढाउने, सहयोग माग्ने, दिन नसके देश र नेपाली जनताको टाउकोमा ऋणको भार थुपार्दै जाने परिपाटी बढिरहेको छ । कृषिक्षेत्रलाई कोमामा पुर्याइएको छ, जसले हामी झनै गरिब बन्दै गइरहेका छौँ ।
उत्पादनमा सरकारले आँट र सहयोग नगर्नाले उत्पादनमुखी गतिविधिहरू ठप्प प्राय: बन्दै गएका छन् बदलामा देखासिकीको व्यापारले जग हाल्न पुगेको छ । विकास, समृद्धि, सुशासन, सामाजिक मर्यादा त निभेको जस्तै देखिन्छ । जनप्रतिनिधिहरूमा विकास गर्नेभन्दा पनि जनतालाई करको बोझ थोपरेर कर्मचारीसँगको मिलेमतोमा बजेट सिध्याउने र जसरी भए पनि पैसा कमाउने काम बाहेक अरू देखिएको छैन । जनताको माग र स्थानीय सरकारको ग्रामीण विकासको कार्ययोजनामा पटक्कै तालमेल मिलेको देखिन्न । लाग्छ, ठिङ्ग ठडिएका भ्यूटावरले गरिबीलाई गिज्याइरहेका छन् । सामाजिक, आर्थिक र सांस्कृतिक समस्या प्रमुख बन्दै छन् । असमानता बढाएको छ । तर हाम्रो कार्ययोजनाचाँहि अनुत्पादक विलासी भौतिक वस्तुमै केन्द्रित छ । यो पाराले सहरको विकास र ग्रामीण विकासको साझा सवाल र अन्तरवस्तुलाई पहिल्याएर अगाडि कहिले बढ्ने ?
वाहियात कुरामा अनावश्यक समय र रकम खर्च गर्नुभन्दा कृषि, पूर्वाधार तथा जनतालाई प्रत्यक्ष आम्दानी हुने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु वर्तमानको आवश्यकता हो । समृद्धि ल्याउन ठाउँ खाली नराख्ने चेतनाको बीजारोपण स्थानीय तहमा व्यापक बढ्नु त्योभन्दा घातक केही छैन । खेतबारीमा घडेरी प्लटिङ, डाँडामा भ्यूटावर, खोलाखोल्सामा चरम दोहन, वन विनाश, भएका सीमित बजेट रकम भ्यूटावर, स्वागत गेट, भीमकाय मूर्ति मन्दिर र डोजरे विकासमा खर्च हुँदा उपलब्धि शून्य बनेको छ । उता देश बनाउने कृषि उपेक्षामा परेको छ । नभुलौँ, उत्पादनमा जोड दिने विकास मात्र विकास हो र मात्र विकास दिगो हुन्छ । अरू सबै व्यापार हो । विकासको पहिलो स्वरूप उत्पादन हो । उत्पादनका लागि उद्योगको आवश्यकता पर्छ, मुख्य पेसालाई अगाडि बढाउनुपर्छ । विकासका लागि कति योजना बने, ती दिगो छन् कि छैनन् । गाउँ/सहरको हितमा छन् कि छैनन् ? बुझेरमात्र सुरु गर्नुपर्छ । देशलाई आत्मनिर्भर बनाउने जिम्मेवारी सबैको भएकाले स्थानीय उत्पादन त्यसमा पनि कृषिक्षेत्रलाई प्रमुख प्राथमिकता दिनुपर्छ । कृषि भुलेर गरिने विकास न दिगो हुन्छ, न समग्र देशको हितमा हुन सक्छ ।