रैथाने खाना प्रवद्र्धन गर्न पहिले नेपालीले नै जान्न जरुरी «

रैथाने खाना प्रवद्र्धन गर्न पहिले नेपालीले नै जान्न जरुरी

काठमाडौंका जेशन शाह विज्ञान संकायमा प्लस २ को अध्ययन पूरा गरेपछि अमेरिकामा रहेको युनिभर्सिटी अफ न्युरोआर्लेन्समा पूर्ण छात्रवृत्ति पाएर कूटनीति विषयमा अध्ययन गर्न त्यसतर्फ लागे । अध्ययनकै क्रममा करिब चार सय विद्यार्थी डुंगामा चढेर पाँच महिनामा विश्वलाई नै एक फन्को मारेपछि उनमा दिगो विकाससम्बन्धी केही गर्नुपर्छ भनेर नयाँ चेतनाको विस्तार भयो । ‘यसपछि मैले के थाहा पाएँ भने समाजमा म के खान्छु र कस्तो कपडा लगाउँछु, यो नै मेरो पहिचान हो,’ यो कुरालाई बुझ्न सकिएन भने अरू कुराको कुनै अर्थ नरहेको शाहको भनाइ छ । यसको पेरीफेरीमा विश्वको अर्थ–राजनीति घुमेको बताउने शाहले अमेरिकापछि जर्मनी गएर थप अध्ययन पूरा गरे । सन् २०१२ मा नेपाल फर्केका शाह नेपालप्रतिको माया र नेपाललाई सूक्ष्म तरिकाले बुझ्न चाहन्थे । यही सिलसिलामा उनी नेपालका पर्यटकीय गन्तव्यको यात्रामा निस्किए र अन्तत: नेपालमै बस्ने निधोमा पुगे । नेपाल अझ पनि ‘वान सिटी कन्ट्री’ हो, जहाँ पर्याप्त सम्भावना र अवसर रहेको उनको ठम्याइ छ । आफूले खाने खाना र प्रयोग गर्ने कपडाको आपूर्ति कहाँबाट हुन्छ, कसरी हुन्छ भन्ने नबुझीकन अन्य काम पूरा हुन सक्दैन भनेर धुलिखेलबाट कृषि कर्म सुरु गरेका शाहले प्रशान्त खनालसहितको टिमसँग मिलेर पछिल्लो चार वर्षदेखि रैथाने रेस्टुराँ चलाइरहेका छन् ।
रैथाने खानाको उपभोग गरेपछि मात्र रैथाने परम्परा, रैथाने सामान र यसको उत्पादनलाई दिगो विकास गर्न सकिने निष्कर्ष निकालेर रैथाने सुरु गरिएको हो । म कसरी, कस्तो स्थानमा उत्पादिन सामान खाएर बाँचेको छु भन्ने कुरा नबुझेसम्म अन्य अन्य कुरा बुझेर अर्थ नराख्ने बताउँछन् शाह । उनै शाहसहितको टिमले हिमाली, पहाडी र तराईमा उत्पादन भएका र परम्परागतदेखि उपभोग गर्दै आएको परिकारलाई सहरमा एकै थलोमा स्वाद पस्किरहेका छन् । रैथाने स्वादको संरक्षण गरियो भने मात्र उक्त स्वादका लागि उत्पादन गर्ने समुदायको संरक्षण र उनीहरूको दिगो आर्थिक विकासमा सहयोग पुग्ने शाहको ठहर छ । रैथाने परिकारका विषयमा जेशन शाहसँग कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

विगत चार वर्षदेखि रैथाने खानाको प्रवद्र्धन गर्दै हिमालदेखि तराईसम्मको स्वाद एकै थलोबाट पस्किँदै आउनुभएको छ ? कस्तो रह्यो विगतको चार वर्ष ?
नेपालमा खेतीका धेरै भागहरू छन् । तर, उत्पादनको मुख्य भाग भनेको ज्ञान हो । अर्को भनेको प्रविधि हो । किन गर्ने भनेर ज्ञान चाहियो, प्रविधि चाहियो र अर्को मुख्य भनेको बजार चाहियो । बजार छान्ने भनेको उपभोक्ताले हो । तर, मेरो विचारमा समस्या के देखिएको छ भने उपभोक्ताले धेरैजसो सस्तो सामान मात्र खोज्छन् । खेतीमा प्रयोग हुने विभिन्न कीटनाशक औषधिदेखि लिएर मलसमेत आयात हुन्छ । जसले गर्दा उत्पादित सामानको मूल्य आफंैमा महँगो हुन जान्छ । यदि सरकारले यी औषधि तथा मल आयात बन्द गरेर नेपालमै यसको विकल्प खोज्ने हो भने सबै अर्गानिक वस्तु उत्पादन हुन्छ । जस्तै, जुम्लाको सिमी नै हेरौं, अन्य आयातित सिमीको तुलनामा महँगो छ । यदि हामीले अर्गानिक र राम्रो खेती गर्न सक्यौं भने मूल्य कतिसम्म पुग्न सक्छ भन्ने यो एउटा उदाहरण हो नि ! अझै हाम्रो नीति त यही जुम्लाको सिमीमा नै अड्किएको छ नि । अन्य जिल्ला तथा ठाउँहरूको त कुरै आएन । त्यस्तै, पर्यटन पनि त्यही नै हो । सबै जना सगरमाथा, अन्नपूर्ण जान खोज्छन् । बाँकी अन्य ठाउँमा मान्छे नै हुँदैन । हामीले धेरै ठाउँ खोल्दियौं भने मान्छे आफंै डाइभर्ट हुन्छ ।

ब्रान्डिङ गर्नु आफैंमा गलत होइन नि ? बेच्न ब्रान्डिङ गर्नैपर्छ ?
मैले भन्न खोजेको कस्तो हो भने सहरी उपभोक्ताहरूले किन्छन् भन्ने लक्ष्यले ब्रान्डिङ भएको छैन । पैसा नभएको पनि होइन, तर एक खालको ब्रान्डिङ जुन हुनुपर्ने हो, त्यो छैन । अर्को भनेको नेपालको खानाका बारेमा कुराकानी गर्नुपर्दा एक आयामी सांस्कृतिक दृष्टिकोण छ । जस्तै नेपालीलाई सँुगुरको मासु खानुहुन्छ भन्दा सबैले खाँदैनौं भन्छन् । तर, मासु आयातमा हेर्नुपर्दा नेपालमा कुखुरापछि अत्यधिक खपत हुने मासु भनेकै सँुगुरको हो । ६० प्रतिशत नेपालीको पहिलो रोजाइ भनेकै सुँगुरको मासु हो । नेपाल भनेको बहुभाषीय, बहुजातीय भन्छौं तर यस्तो कुनै मान्छे छैन होला जसलाई पाँचवटा भाषामा मात्र नमस्ते भन्नुभन्दा भन्न सक्छ । यस्तो अवस्थामा छौं, खानाको त कुरै छोडौं । मान्छेमा दालभातबाहेक के खाने भन्ने नै अन्योल छ ।

उपभोक्ताको बानी कसरी परिवर्तन गर्न सकिन्छ ?
हामीसँग विभिन्न जातिका छुट्टाछुट्टै परिकारका खानाहरू छन् । जस्तै, कुनै मानिस सगरमाथा गयो, त्यहाँ उसले शेर्पा जातिको परिकारका खानेकुराहरू खान्छ । तर, यहाँ त्यो कसैलाई थाहा छैन । किनभने विभिन्न जातजातिका मान्छेहरूको, विभिन्न परिकारका खानेकुराहरूको कुरा कसैले गरेकै छैन । विदेशीहरू आउँदा दालभात मात्र किन खान्छन् ? उसलाई मीठो मात्रै लागेर होला त ? होइन नि । उसले त नेपालीले जे खान्छन् त्यही खान खोज्छ नि । त्यस्तै म:म, समोसाजस्ता खानेकुरा बढी खाएको देखिन्छ । यो सबै यहाँका मानिसले जे खान्छन्, म पनि त्यही खान्छु भनेर हो नि । अब यो अवस्थामा हामीले चाम्रे, लुङ्घाक्चाजस्ता परिकारहरू खान थाल्यौं भने विदेशीहरूले पनि यही परिकार खान थाल्छन् । हामील सहरमा बसेकाले नै रैथाने खानाहरू खाँदैनौं, अनि कसरी विदेशीले थाहा पाउँछन् ? जस्तै, फुड कन्फरेन्समा पनि परिकारहरू भनेको त्यही स्यान्डविच, बर्गरहरू नै हुन्छ । हामीले यी विदेशी परिकार कसरी खान सिक्यौं भन्नुपर्दा देखेर नै हो नि । हामीले नदेखेको भए पिज्जा, बर्गर, बियरहरू थाहा पाउँथ्यौं होला त ? त्यसैले हाम्रो मुख्य लक्ष्य भनेकै मानिसहरू आउँदा देशभरका विभिन्न ठाउँको भिन्दाभिन्दै परिकारहरूको स्वाद लिन पाऊन् । उनीहरूमा एक प्रकारको विश्वास होस्, विश्वास जित्न सकियोस् ।

कोभिडपछि मानिसहरूको खाने बानी परिवर्तन भएको जस्तो देखिन्छ । यसमा नेपालीहरू विभिन्न स्वादका पारखी बन्दै गएका हुन् कि पश्चिमी खानामा आकर्षित हुँदै गएका हुन् ?
मेरो विचारमा चाहिँ यो पूर्वेली र पश्चिमी भन्ने कुरा नै लागू हुँदैन । हामीले काँटाचम्चा प्रयोग गर्‍यौं भन्दैमा त्यो पश्चिमा संस्कृति पछ्याएको भन्न मिल्दैन । त्यसैले पहिलो कुरा त यो पूर्वेली र पश्चिमी भन्ने सोचाइ नै परिवर्तन गर्न जरुरी छ । अनि अर्को कुरा आर्थिक हिसाबमा भन्नुपर्दा ठूलो परिवारभन्दा सानो परिवार नै राम्रो मानिन्छ । विभिन्न कुराहरू हेर्दा हामी पश्चिमा संस्कृतिमा होमिएको जस्तो लाग्दैन । हाम्रो प्रणाली नै यस्तो छ कि हामी एउटै कुरामा ध्यानमग्न हुन्छौं । पश्चिमी मुलुकहरूमा मान्छेसँग जग्गा पहुँच नै छैन । त्यहाँ जग्गाको मूल्य यति बढी छ कि त्यसको अगाडि खानाको कुनै मूल्य नै छैन । त्यसो हुँदा उनीहरू आफंै उत्पादनमा लाग्ने भन्दा पनि उत्पादन हुने ठाउँहरूमा खान जान्छन् । नेपालमा खाना केन्द्रित रेस्टुराँहरू धेरै कम छ । नेपालमा रेस्टुराँ तयार गर्दा बजेटको ८५ प्रतिशत रकम सजावटमा जान्छ, बाँकी रहेको २५ प्रतिशतजति मात्र खानामा केन्द्रित हुन्छ । नेपालका उत्कृष्ट १० रेस्टुराँमा हेर्दा पनि हामी अरूभन्दा यस कारण, यो परिकारले गर्दा छुट्टै छौं है भन्ने छैन । बढी मात्रामा प्रयोग हुने नै मैदा, हट सस, ब्राउन सस आदि हुन् । हाम्रा परिकारहरू नै यिनै कुरामा सीमित छन् । तर, रैथाने परिवेश परिकारअनुसार चाहिँ यी सबै कुरा छोडेर अर्गानिक खानेकुराको मात्र प्रयोग गर्नुपर्छ भन्ने हो । जुन सुरु नै नभएको त होइन, हुँदै भइरहेको छ तर सोचेजति संख्यामा भने सुरु भएको छैन । यसअघि पनि काठमाडौँकै विभिन्न ठाउँमा रैथाने खानाका रेस्टुराँहरू पनि खुलेका थिए तर ती रेस्टुराँ अहिलेसम्म आउँदा बन्द भइसकेका छन् । यही नै हामीले अहिले सुरु गर्न खोजेका छौं, हाम्रो अगाडि पनि के साँच्चै टिक्न सक्छौं त भन्ने प्रश्न भने खडा छ । अर्को, हामीलाई मूल्यको पनि समस्या छ । हामीले मूल्य बढायौं भने एक समूहलाई मात्र महŒव दिइएको जस्तो देखिन्छ । सुरुमा हामीले १ सय ६० बाट विभिन्न परिकारको सुरुवात गरेका थियौं । जुन अहिले २ सय ४०, २ सय ८० पुगिसक्यो । बजारअनुसार टिक्नलाई हामीले फेरि परिकारका मूल्य बढाउनुपर्ने हुन्छ । सबैभन्दा चुनौती भनेको नै त्यही छ । त्यस्तै, मानिसको खाना खाने बानी परिवर्तन गर्न सकिँदैन । हामीले फरक स्वादका विभिन्न परिकारहरू खान चाहनेहरूका लागि ठाउँ बनाइदिने मात्र हो । आज अलि फरक स्वादको खाना खाऊँ न भन्दा यहाँ पाइन्छ है भन्ने ठाउँ बनाइदिने हो । कोरोना महामारीअघि केही गर्छौं भनेर लागिपर्‍यौं पनि, तर अहिलेको अवस्थासम्म आउँदा टिक्नु नै ठूलो कुरा बनेको छ । खासमा यो काम म आफैंले बुझ्न सुरुवात गरेको पनि हो । नेपाली खानाका बारेमा बुझ्न पनि मैले यो सुरुवात गरेको हुँ । मान्छेमा नयाँ–नयाँ स्वाद खाने आकांक्षा बढी हुन्छ । अर्को कुरा, खानामा प्रामाणिकता खोज्न निकै गाह्रो छ । नेपालमा मकै, टमाटर आदि पनि बाहिरबाटै आएको हो । त्यसैले खानामा प्रामाणिकता भन्ने चिजै हुँदैन । जस्तै पाउरोटी नेपाली शब्द हो भनिन्छ तर पोर्चुगिस् भाषामा पाउ भनेको रोटी हो । सबैभन्दा पहिले उनीहरूले भारतमा पाउ भन्ने रोटी बनाए, त्यही यहाँ आएर पाउरोटी भयो । त्यसैले सबैभन्दा पहिला खानाको इतिहास बुझ्न जरुरी छ । रैथाने खानाको पनि आफ्नै इतिहास छ । अनि खाना भन्दैमा खानेकुरा मात्र होइन, त्यो तयार पार्ने कुरामा पनि छुट्टै तरिका र विधिहरू मिसिएको हुन्छ । कुनै पनि खानेकुरा बनाउनुभन्दा पहिले फलाउने, तयार पार्ने कुराहरू आउँछन् । हामीचाहिँ व्यापारमा भन्दा पनि एउटा छुट्टै टे«न्ड बसाल्नेमा पनि लागिपरेका छौं । नेपालमा रैथाने परिकारका नयाँ–नयाँ रेस्टुराँ खुल्नु भनेको नै एउटा खुसीको कुरा हुन जान्छ ।

सरकार, गैरआवासीय नेपाली संघ, होटल संघ नेपाल (हान) ले पनि नेपालको खानालाई ब्रान्डिङ गरिरहेको छ । तर पनि सोचेजति बजारीकरण गर्न सकेको छैन । नेपालमा आउने विदेशीहरूलाई म:म, चाउमिनमा नै स्वाद पस्किरहेका छौं ?
पहिलो कुरा, हामीले नेपाली रैथाने खानाका परिकारहरू नेपालीलाई नै चखाउन/खुवाउन सकिरहेका छैनौं । यस्तोमा विदेशीलाई खुवाउन खोज्ने कुरा त सोच्न पनि सक्दैनौं । यहीं भएका मान्छेहरूले त रैथाने खानाको स्वाद पाएका छैनन् भने हामीले विदेशीलाई त्यो स्वाद दिलाउन सक्दैनौं । हामीले आन्तरिक पर्यटकलाई खुसी पर्न सक्यौं भने न विदेशी पर्यटकको चित्त बुझाउन सक्छौं । खानाको विषयमा हामीले विश्वभर रैथाने नेपाली परिकारको कुरा त गर्नुपर्छ, तर पहिले आफैंलाई नै थाहा हुनुपर्‍यो नि । अहिले विश्वभर भारतीय परिकार लगभग सबै ठाउँमा पुगेको छ, त्यस्तै कोरियन, चाइनिज खानाहरू भयो, यो सबै त्यहाँका नागरिकले थाहा पाए र विश्वभर फिँजिएर आफैंले त्यो परिकार बनाउन सक्ने भए, त्यसैले नै चर्चित भएको हो । अमेरिकामा अमेरिकीहरूले भारतीय, कोरियन खानाहरू ल्याएको होइन । त्यो त जुन देशको खाना, परिकार हो त्यही देशका मानिसले अमेरिकालगायतका देशहरूमा पुर्‍याएका हुन् । त्यस्तै, नेपाली रैथाने खाना विदेशसम्म पुर्‍याउन पहिले नेपालीले नै यसबारे बुझ्न र जान्न जरुरी छ ।

रैथाने परिकार बनाउन सक्ने जनशक्तिको अवस्था भने कस्तो छ त नेपालमा ?
हाम्रै नेपाली सेफहरूलाई नेपाली रैथाने खानाहरू बनाउन नै आउँदैन । नेपाली खानाको परिकारमा त्यही दालभातबाहेक नेपाली सेफहरू रैथाने खानाको परिकार बनाउन जान्नुहुन्छ जस्तो लाग्दैन । हाम्रो रैथाने खानाको मेनु लगेर सेफहरूलाई दिनुस्, ९० प्रतिशतलाई बनाउन नै आउँदैन । हामी व्यवसायीलाई एउटा सबैभन्दा गाह्रो कुरा भनेको रैथाने परिकार बनाउन जान्ने सेफ खोज्नु नै हो । नीतिगत रूपमा नै जाने हो भने सेफहरूलाई नेपाली खानाका परिकारहरूको तालिम नै दिनुपर्छ । त्यसैले स्वदेशमै उपलब्ध नभएको कुरा विदेशी भूमिमा स्थापना गर्नु भन्ने कुरा व्यावहारिक हुन्छ जस्तो लाग्दैन । नेपालमै घुम्न आउने पर्यटकलाई पनि विशेष नेपाली परिकारहरूबारे थाहा छैन । उनीहरूलाई विभिन्न समुदायका परिकारहरूबारे विस्तार गर्नुपर्ने हाम्रो काम हो तर हामी नै त्यसबारे अनभिज्ञ छौं । म आफैंले पर्यटकलाई गाइड गर्ने तालिम लिएको थिएँ । तर, त्यो तालिममा खानाबारे केही कुरा पनि राखिएको थिएन । अर्को कुरा, मान्छे आफैंले रैथाने खानेुकुरामा एक प्रकारको बार लगाएको छ । कुनै सहरिया मानिस वा पर्यटक गाउँघर जान्छ भने त्यहाँका मानिसले उसलाई त्यहाँकै अर्गानिक खाना खुवाउन खोज्दैन । सहरबाट आउनुभएको, भात नै खाऊन् भनेर त्यही दालभात नै पस्केर दिन्छ । यसले गर्दा रैथाने खानाको ब्रान्डिङमा हामी आफैं पछाडि हटिरहेका छौं । अझै पनि रैथाने खानाका परिकारहरू लोप भइसकेको अवस्था छैन । हामीले यी परिकारहरू अझै पनि बचाउन सक्छौं ।

कसरी बचाउन सकिन्छ त ?
सबैभन्दा बढी कामचाहिँ उपभोक्ताको हुन्छ । उपभोक्ताले खानालाई मात्र नहेरेर त्यो उत्पादन हुने प्रक्रियालगायत एउटा किसानले गर्ने दु:खको मूल्यांकन गर्नुपर्छ । अर्को कुरा, किसानहरू आफैं संगठित हुनुपर्छ । रैथाने खानाको जगेर्ना गर्नु भनेको हामी सबैको दायित्व हो । किसानले किसानको ठाउँबाट, हामी उपभोक्ताले हाम्रो ठाउँबाट यसको बचाउमा लाग्नुपर्छ । लुगाकै कुरा गर्नुपर्दा हामीले सबै आयातित कपडा प्रयोग गर्छांै । सहरतिर त कुरै छोडौं, गाउँतिर पनि आजकाल दौरासुरुवाल प्रयोग भएको कमै देख्न सक्छौं । हो, यसरी नै जसरी हाम्रो दौरासुरुवाल, धोती, लुङ्गी लगाउने बानी हराउँदै गएको छ, त्यसरी नै रैथाने खानाका परिकारहरू पनि विस्तारै लोप हुँदै गइरहेका छन् । पहिचानकै कुरा गर्दा हामीले हेर्दा नै देखिने लुगा त परिवर्तन गरिसक्यौं भने झन् खाना त आफूले बाहेक अर्कोले के खायो भनेर पनि देखिँदैन, त्यो परिवर्तन गर्दैनौं होला त ? हो, यी हाम्रा वेशभूषा, भाषालगायत रैथाने परिकारहरू नहराउन् भन्नलाई नै हामीले रैथाने खानाको सुरुवात गर्नुपर्छ । रैथाने परिकार मात्र पाउने रेस्टुराँ खोल्न र चलाउन आँट गर्नुपर्छ । नेपालमा रेस्टुराँको प्रवृत्ति नै गलत भइरहेको छ । एक जनाले रेस्टुराँ खोल्छ, दुई–तीन वर्षपछि फेरि अर्कोलाई बेच्छ । अहिले नेपालमा यही सिलसिला चलिरहेको छ । खाना र सेवाभन्दा पनि बढी पैसा र व्यापारमा मात्रै सीमित छन् नेपाली रेस्टुराँहरू । जस्तै सेफ सन्तोष साह हुनुहुन्छ, जो विश्वभर प्रख्यात हुनु पनि भयो । तर, नेपालमा भने उहाँ नेपाली परिकारले चर्चित हुनुभयो भन्दा पनि विश्वमा नेपाली भनेर चिनिनुभयो भन्ने कुराको बढी महŒव छ । उहाँले पनि रैथाने खानालाई विश्वमाझ चिनाउने राम्रो अवसर पाउनुभएको छ, तर प्रतियोगिताभन्दा बाहिर उहाँले पनि यस कुरामा ध्यान दिएको जस्तो देखिँदैन । यस्तै, उपभोक्ताहरू पनि त्यही पिज्जा र बर्गरमा हजारौं खर्च गर्न सक्छन् तर नेपाली रैथाने खाना सस्तोमा पाउँदा पनि उनीहरू खर्च गर्न मान्दैनन् । अर्को कुरा, धेरैजसोले रैथाने खाना बनाउने सेफहरूको महŒव बुझेकै छैनन् । पत्रपत्रिकादेखि लिएर टेलिभिजनले पनि अन्य सेफहरूलाई महŒव दिन्छन्, तर रैथाने परिकार बनाउने सेफ त्यसमा परेका नै छैनन् ।

रैथाने परिकारलाई अन्य परिकारसँँग प्रतिस्पर्धा गरेर निरन्तरता दिनु पनि चुनौती छ हैन ?
हामीले विभिन्न सरकारी कृषिसम्बन्धी कार्यक्रममा खानपानको व्यवस्था गरेका छौं । कृषिमा आबद्ध रहनुभएका उहाँहरू नै फापरको बिस्कुटलगायतका खानेकुरा देख्दा अचम्म पर्नुहुन्छ । हाम्रो रैथाने खानेकुराहरू पछाडि पर्नुको एउटा मुख्य कारणचाहिँ बजार मूल्य पनि हो । हिजोमात्रै भएको हाम्रो बैठकले पनि खानेकुराको मूल्य बढाउनुपर्ने निष्कर्ष निकाल्यो । व्यापारको त कुरै छोडौं, पहिले टिक्नलाई भए पनि हामीले केही मात्रामा मूल्य बढाउनुपर्ने देखियो । फेरि हामी नै पछि हट्यौं भने भोलि अर्को कसैले रैथाने खाना पाउने रेस्टुरेन्ट खोल्न खोज्ला, त्यसबेला हामी उसका लागि नकारात्मक सन्देश दिने माध्यम बन्छौं । त्यसैले यो एक ठाउँको एक परिकारको भन्दा पनि हरेक ठाउँको हरेक परिकारको उत्तिकै महŒव भयो भने उपभोक्ताहरू पनि आकर्षित हुन्छन् । उदाहरणमा जुम्लाको सिमी जुम्लामै ४०–५० रुपैयाँमा पाइन्छ, तर काठमाडौं आइपुग्दासम्म त्यो ३–४ सय पुग्छ । अनि अर्को कुरा, मान्छेलाई ‘यो नेपाली खानेकुरा हो, आउनुस्’ भनेर हुँदैन । हामीले नै त्यसको स्वाद र मूल्य निर्धारण गर्न जान्नुपछर्, सक्नुपर्छ ।

नेपाली रैथाने खाना भनेपछि स्वस्थकर नै भन्ने आमबुझाइ छ नि हैन मानिसमा ?
खासमा भन्नुपर्दा कुनै पनि खानेकुरा स्वस्थ र अस्वस्थ भन्न नै मिल्दैन । मान्छेहरूले आफैंबाट एउटा भ्रम पैदा गरेका छन् । यो सबै मान्छेको आफ्नै बानीले फरक पार्ने कुरा हो । स्वस्थ खाने अभ्यास मान्छे आफैंले सुरु गर्ने हो, खानालाई दोष दिने होइन ।
तपाईंले म:म पनि दिनको दुई पटक खान थाल्नुभयो भने त्यसले हानि गर्छ । चामलकै कुरा गर्दा सेतो चामल दिनको दुई छाक खानुभयो तर व्यायाम गर्नुभएन भने त्यसले पनि असर पार्छ । यसमा चामल, म:म नराम्रो, खानै नहुने भनेको होइन तर कति मात्रामा कति बेला र कसरी खाने भन्ने कुरा भने मान्छेमा भर पर्ने कुरा हो । यो खान हुन्छ, त्यो हुँदैन भन्ने हुँदैन ।

ब्रेकर :

नेपालीलाई सँुगुरको मासु खानुहुन्छ भन्दा सबैले खाँदैनौं भन्छन् । तर, मासु आयातमा हेर्नुपर्दा नेपालमा कुखुरापछि अत्यधिक खपत हुने मासु भनेकै सँुगुरको हो । ६० प्रतिशत नेपालीको पहिलो रोजाइ भनेकै सुँगुरको मासु हो ।

हाम्रो प्रणाली नै यस्तो छ कि हामी एउटै कुरामा ध्यानमग्न हुन्छौं । पश्चिमी मुलुकहरूमा मान्छेसँग जग्गा पहुँच नै छैन । त्यहाँ जग्गाको मूल्य यति बढी छ कि त्यसको अगाडि खानाको कुनै मूल्य नै छैन । त्यसो हुँदा उनीहरू आफंै उत्पादनमा लाग्ने भन्दा पनि उत्पादन हुने ठाउँहरूमा खान जान्छन् ।

हामीले नेपाली रैथाने खानाका परिकारहरू नेपालीलाई नै चखाउन/खुवाउन सकिरहेका छैनौं । यस्तोमा विदेशीलाई खुवाउन खोज्ने कुरा त सोच्न पनि सक्दैनौं । यहीं भएका मान्छेहरूले त रैथाने खानाको स्वाद पाएका छैनन् भने हामीले विदेशीलाई त्यो स्वाद दिलाउन सक्दैनौं ।

सहरतिर त कुरै छोडौं, गाउँतिर पनि आजकाल दौरासुरुवाल प्रयोग भएको कमै देख्न सक्छौं । हो, यसरी नै जसरी हाम्रो दौरासुरुवाल, धोती, लुङ्गी लगाउने बानी हराउँदै गएको छ, त्यसरी नै रैथाने खानाका परिकार पनि विस्तारै लोप हुँदै गइरहेका छन् ।

कृषिमा आबद्ध रहनुभएका उहाँहरू नै फापरको बिस्कुटलगायतका खानेकुरा देख्दा अचम्म पर्नुहुन्छ । हाम्रो रैथाने खानेकुराहरू पछाडि पर्नुको एउटा मुख्य कारणचाहिँ बजार मूल्य पनि हो ।

प्रतिक्रिया दिनुहोस्